कथा

कदर–पत्र

‘हेलो… हजुर नमस्कार । …. हजुर ? किन नचिन्नु मैले चिनिसकेँ । …ल धन्यवाद छ । … भोज त ख्वाउँलानी साथी । …यो पुरस्कार तपाईंहरूकै माया र प्रेरणाले मिलेको त होनी । … हस् त हस् ।’ बिहान सबेरैदेखि मोबाइल फोनमा निरन्तर बधार्ई ओइरिएकोले त्यसको जवाफ दिन मलाई भ्याइ नभ्याइ थियो । कानमा फोन टाँस्दै म तल झरें ।

‘त्यता मिल्दैन के आमा जिद्दी नगर्नुस न । सिधा अगाडि पो राम्रो देखिन्छ त ।’
‘अगाडि त्यत्रा फोटा छन् । उतापट्टी छुट्टै एक्लै ठुलो फ्रेम कति राम्रो देखिन्छ …।’

निबन्ध विधामा निरन्तर कलम चलाई साहित्यिक क्षेत्रमा ठूलो योगदान पुर्‍याउनु भएकोले तपाईं श्री आत्माराम शर्मालाई रू. ५० हजार नगदसहित यो कदर–पत्र प्रदान गरिएको छ ।
ठूलो सीसामा सुनौलो आकर्षक चौकोसले सजिएको कदर पत्रलाई ओल्लो वा पल्लो भित्तामा टंगाउन भनी आमा छोराको बहस चर्किरहेको थियो ।

‘हेर्नुस् त बुवा आमाको जिद्दी ! कसरी पो सम्झाउनु के यस्ता जिद्दी मान्छेलाई ?’
‘आमा छोराको मामिला हो, मलाई बीचमा नतान ।’ मैले जुत्ता लगाउँदै त्यसो भनेँ ।

‘तैं काले छस् ज्ञानी र बुझकी । अनि हजुर फेरि कहाँ जान लागेकोनी ?’
‘एउटा सानो भेटघाट छ । आउँछु म एकछिनमा ।’ म बाहिर निस्केँ ।
‘मैले आज दिदी भिनाजु र बहिनी ज्वाईं चारै जनालाई बोलाएकी छु केरे ।’
‘किन बोलाएकि ? खास काम के हो र ?’

‘पुरस्कार पाएछौँ, उल्का राम्रो भयो भोज नखुवाएर सुख पाउन्नौ भने केरे । त्यसोभए घरै आओ भनेर बोलाएँ मेरो पालो ।’
‘ल राम्रै गरिछौँ साँझ रमाइलै होला । जरुरी काम प¥यो भनी आनन्दजीले बोलाएका छन् । त्यो काम सकेर म फर्किहाल्छु ।’

आनन्द को हुन ? मेरी श्रीमतीलाई थाहा छ, साहित्यमा मलाई पुरस्कृत गर्ने संस्थाका प्रमुख हुन उनी । निबन्ध विधामा हजुरको कलम तीखो छ भनेका थिए पहिलो पटक । बौद्धिक वर्गमा चर्चा चलिरहेको छ हजुरको कृति मुल्यांकन समितिमा पेस गरौँ है ? भनी सोधेका थिए दोस्रो पटक । एउटा गोप्य कुरा भन्दैछु अहिले कसैलाई केही नभन्नुहोला, तपाईंको कृतिले पहिलो पुरस्कार पाउने निश्चित जस्तै छ भन्ने सुखद खबर सुनाएर मलाई सहस्र खुसी दिएका थिए अन्तिम पटकमा । त्यसकारण हाम्रो परिवारको दृष्टिकोणमा सम्मानित र प्रतिष्ठित व्यक्तित्व बन्न पुगेका थिए फरासिला र मिजासिला आनन्दजी । म होटलमा पुग्दा उनी मलाई नै पर्खिरहेका थिए । उनको न्यानो स्वागतले म पुलकित भएँ । हाम्रो टेबलमा कफी आयो ।

‘प्रतिक्रिया कस्तो छ मित्र यो पुरस्कारको ?’
‘कसरी कसरी चर्चा ह्वात्तै बढेको महशुस गरेको छु । आफ्ना साथीभाइको फोन उठाउनै पनि फुर्सद नहुने ।’

‘आज मुलधारका मिडियाले पनि चर्चा गरिरहेका छन् ।’
‘साँच्चै म तपाईंको ऋणी छु । यो साहित्यिक संस्थाले समाजमा मलाई जुरुक्क उचालिदिएको छ… ।’

‘साहित्य समृद्धि गर्ने हाम्रो अभियान हो आत्मारामजी । हामी लागि परेका छौँ, हेरौँ कति सफल हुन्छौँ । एउटा सानो कुराको लागि तपाईंलाई दुःख दिएको ।’
‘नाइँ नाइँ केही दुःख छैन सर, प्रष्ट भन्नुभए हुन्छ ।’

‘फोनमा त्यस्ता कुरा गर्न नमिल्ने भएर तपाईंलाई यता बोलाएको हुँ । खास कुरा के भने ठूलो रकम मेनेजमेन्ट र प्राइजको पार्टमा सकियो आत्मरामजी । हामीले बाजा बजाउनेहरूलाई खुसी पार्ने कुरा भुसुक्कै भुलेछौँ…. ।’
उनको कुराको छेउ टुप्पा नबुझेर म हैरान परेँ । रकमको कुराले मनमा कता कता शंका पनि उठ्यो ।

१मैले अलि कुरा बुझिन त आनन्द सर ! थोरै प्रष्ट पार्नुस न है ?’
‘किन नबुझ्नु भएको तनि आन्तरिक कुरा ! तपाईंले यता दिएको एकलाख प्रोग्राम र प्राइजमा सकियो…।’

‘मैले कहिले दिएको छु र हजुरलाई एकलाख रूपैयाँ ?’
‘च्व ! जनार्दनलाई दिनुभएन एकलाख ? त्यही त होनि ।’

‘जनार्दनलाई ? त्यो त मैले सापटी दिएको नि ।’
‘केको सापटी हुन्छ र यही कामको लागि हो के । कस्तो तपाईंले बुझ्न नसकेको त ? कि बुझ पचाएको ?’

कुरा सुनेर छाँगाबाट खसे झैं अत्तालिएँ, मलाई चिट् चिट् पसिना आयो हैरान हैरान परेँ । मनमा आश्चर्य आक्रोश दिकदारी भाव ह्वात्तै बढेर छद्मभेषि आनन्दको अनुहारमा एकाएक घृणा जाग्यो । जनार्दनसँग मेरो लेनदेन चल्थो पैसा मागेकै हो, मैले सापटी नै सम्झेर दिएँ । साहित्यिक संस्थाको एक सदस्य हो भन्ने पनि थाहा थियो, पैसा माग्दा संस्थामा अहिले क्राइसिस् छ पनि भनेकै थियो । बुझ्न नसक्नु मेरै कमजोरी हो । सोझो मेलोमा मैले त सापटी नै होला भन्ने ठानेको थिएँ । अति विश्वासले आफै फसियो । आनन्दसँग कुरा गर्दैगर्दा मेरो फोनमा अरु अपुङ्गेहरूको पटकपटक कल बजिरहेको थियोे, मैले काटिरहेको थिएँ ।

‘मैले सुरुमै यो ठगी धन्दा बुझेको भए म फस्ने नै थिइन । सत्य कुरा, म बिल्कुल अन्जान थिएँ यो मामिलामा ।’
‘ठगी धन्दा ? के भनेको तपाईंले ? त्यत्रो तामझामबाट पुरस्कृत हुनुभएको छ । कसको पाकेटबाट झिकी ल्याउने त त्यो रकम ? तपाईंलाई पटकपटक सोधेको होइन ? कि मन्जुर छैन भन्नू पर्ने ।’

‘पैसाको बारेमा मैले बुझिननी त ।’
‘त्यो तपाईंको समस्या हो । नबुझेको भए पुरस्कारको आयस्रोत के हो भनी सोधेको भए हुँदैनथ्यो ?’

‘पुरस्कारको पनि कसैले आयस्रोत सोध्छ त ?’
‘नसोध्नेले कुरा पनि बुझ्नुपर्छ के आत्मारामजी ।’

जो चोर उसैको ठूलो स्वर भने झैं आनन्दे ब्वाँसो मैमाथि हावी भैरहँदा मेरो कन्चट तात्तिरहेको थियो ।
‘संस्थाको यस्तो बेइमानी अरु मान्छेले थाहा पाए भने कहाँ पुग्छ तपाईंहरूको इज्जत ? भन्नुस त ?’

‘तपाईंले भन्दै हिँडे छुट्टै कुरा, नत्र हाम्रो संस्थाको चिन्ता तपाईंले गर्नुपर्दैन ।’
‘लौ मानौं मैले नै भन्दै हिंडेअरे, अनि के हुन्छ ?’

‘पहिलो कुरा तपाईं आफै बर्बाद हुनुहुन्छ । दोस्रो कुरा हामीलाई आत्मारामको त्यस्तो प्रस्ताव आयो हामीले नकार्न नसक्नु हाम्रो पनि गल्ती भयो भन्दै हामी सफाइ लिन्छौँ । त्यसैले तपाईं यस्तो गल्ती गर्न सक्नुहुन्न ।’
‘पुरस्कारको परिपाटी सबैतिर यस्तै हुन्छ त ?’

‘तपाईं खोज्दै जानुस् न । सरकारी निकायहरूले पनि पुरस्कारका लागि निवेदन आह्वान गर्ने गर्छन् । खासमा निवेदन माग्ने होकि कामको मूल्यांकन गर्ने हो भन्नुस त ? त्यसकारण पुरस्कारमा मूल्यांकन कसरी गरिन्छ भनेर कसैले हेर्दैन, कसले पायो त्यही नै हेर्छन् सबैले ।’
‘अनि बाजा बजाउने मान्छे कोही आएकै थिएनन् । तपाईंले बाजा बजाउनेका लागि पनि पैसा चाहिन्छ भन्नुभयो नि ।’

‘साँच्चै तपाईं नबुझ्ने ग्वाँजे नै हो क्यारे आत्मरामजी ! मिडिया आएनन् ? तपाईंको बारेमा आज मिडियाले चर्चा गरेको देख्नुभएको छैन ? नभए ती मिडियालाई तपाईंकै घरमा पठाइदिन्छु, हुन्न ?’

बाजा बजाएको रकम नचुकाई नहुने भएपछि म मुर्मुरिएँ । अरुसँग नभए पनि आफ्नी श्रीमतीसँग यो घटना चिरफार गरि वास्तबिकता अनिवार्य बताउनु थियो । यो आनन्दजी हामीले सोचे झैं असल व्यक्ति होइन, जाली फटाह ठग र बेइमान हो रहेछ भनी बुझाउनु थियो । ताकि उसलाई आइन्दा आदर होइन तिरस्कार गरियोस् । आइन्दा जहाँ कहिँ सम्मान होइन अपमान मिलोस् । व्यक्ति उही अनुहार उहि हेर्ने आँखा पनि उनै तर नियत खुलेपछि खुंखार अपराधीजस्तै पो देखिँदोरहेछ मान्छे ।

हेल्मेटको फिता चिउँडोमुनी अड्काएर बटन थिचें इन्जिन चलेन । फेरि बलपूर्वक थिचेँ तर पनि चलेन । लौ बिग्रेको त हैन मोटरसाइकल कतै ! मनमा शंका पस्यो । डो¥याउँदै कता सपार्न जानू, कसलाई गुहार्नु कति लठारो ! यसैबेला फेरि फोन आयो ।
‘ए हजुरलाई पनि धन्यवाद । हुन्छ तनि हुन्छ म भोज खुवाउँला । कहिले ! कहिलेका कुरा छोड्नुस अहिले ।’ फोन स्वीचअफ नगरी भएन । फोन पाइन्टको पाकेटमा राख्दा पो थाहा भयो पाकेटबाट झिकेर किअन गर्नका लागि चाबी घुसार्नै बिर्सेको रहेछु । हत्तेरीका कदर पत्रले खाइदिएछ मेरो सुद्धी ! चाबीले तह दिएपछि तब इन्जिन चल्यो मोटरसाइकलले बाटोमा सबै यातायात साधनलाई उछिन्दै अघि बढ्यो ।

मन्त्रालयतिर गइ टाउको कन्याउनु पर्छ, व्यापारीसँग हात पसार्नु पर्छ, आर्थिक रूपमा साहित्यिक संस्था चलाउन गाह्रो छ भनेको थियो जनार्दनले । जनार्दनको त्यो चेपारे खाप्चो मेरो मथिङ्गलमा नाचिरहेको थियो । अनेक तर्कना र आक्रोश भरिएर मन त्यसै औडाहा भयो ।
‘कमला ! म हुस्सु रहेछु । ठगहरूले मलाई फकाइ फकाइ लुटेर मुर्ख बनाए । यसो यसो भयो त्यसैले सम्मान झुठा हो प्रिया ।’ अरुलाई नभए पनि आफ्नी श्रीमतीलाई मैले यो रहस्य बताउनै पर्छ ताकि वास्तबिकता बुझेर दुनियाँ छल्ने नक्कली काममा मेरो जस्तै उसको पनि घृणाभाव पैदा होस् । त्यसकारण कतिखेर घर पुगुँ र कमलालाई भेटेर यो बयान गरुँ भन्ने भैरहेको थियो ।

‘किन हो के हजुरले फोन स्वीचअफ गरेको आज ?’ मेरी श्रीमती कमला आँगनमै आएकी थिइन् ।
बधार्ई दिनेहरूले तनाव गरे त्यसैले स्वीचअफ गरें भन्न मन लागेको थियो तर भनिन । बरु यसो भनें, ‘ए हो र ? कतैतिर अँचेटिएर पो स्वीचअफ भयो होला ।’

‘माछा मासु लिएर आउनुहोला भन्नलाई फोन गरेकी थिएँ पछि छोरालाई पठाएँ ।’
अब मासु होइन आँसु खाने बेला भएको छ, त्यो पातकी आनन्देले मलाई लुटेर कपटी काम गरेको छ, मैले त्यसो भन्न खोजेको थिएँ, तब सोधेँ, ‘साँझ कतिखेर आउने रे पाहुनाहरू ? बरु यो कार्यक्रम अर्को दिन सारौँन है ?’

‘दिदी भिनाजु र बहिनी ज्वाईं आइसक्नु भएको छ भित्र बैठक कोठामा हुनुहुन्छ ।’
म यसै हैरान थिएँ, झन ठूलो विलखबन्दमा परेँ । श्रीमतीसँग मात्रै भन्छु भनेको कुरा अब मनमै अड्किने भयो ।

आफ्नो आक्रोश, हैरानी र तनाव मैले जबरजस्ती मनमा दबाउनु पर्ने भयो । पाहुनाका सामु बनावटी आलोक भरेर शालीन झैं देखिनु पर्ने भयो । म भित्र पुगेपछि ढोगभेट चल्यो ।

‘भाइको कलम अविश्राम चलोस् धेरै धेरै बधाई छ ।’
‘ज्वाईंसाहेबलाई धेरै धेरै बधाई छ ।’

‘भिनाजु सधैँ यस्तै काम गरेर दिदीलाई खुसी राख्नुहोला है ? धेरै धेरै बधाई ।’
‘तपाईंहरूकै माया र प्रेरणाको कारणबाट पुरस्कार पाएको हुँ । त्यसैले यो पुरस्कार हामी सबैको हो है ।’

‘हो दाजु यो हामी आफन्त सबैको गौरवको कुरा हो । आज जताततै हजुरकै चर्चा चलिरहेको छ…।’

पाहुनाले गरेको मेरो प्रशंसा सुनेर श्रीमतीको ओठमा खुसी छरियो, आँखामा खुसी नै बल्यो र अनुहारमा पनि खुसी नै चम्कियो । कुनै दिन यो पुरस्कारको यथार्थ रूप सत्यापन गरेर उसको मनमा गहिरो छाप परेको त्यो मीठो खुसी कसरी सकुँला खोस्न ! सङ्लो पानीजस्तै निर्मल छ उसको हृदय । उसको खुसी जोगाइ राख्न मैले आफ्नै छातीमा गाढ्नुपर्ने हुन्छ यो गूढ रहस्य । त्यसो त पाहुना सामु म पनि मुस्काइरहेको थिएँ । मनमा हीनताबोध गाढेर अनुहारमा प्रशन्नताको लेपन लेप्नु साह्रै कठिन हुँदोरहेछ ।मेरो मुस्कान भित्र कस्तो हैरानी, छट्पटी र तनाव छ, त्यो म बाहेक अरुलाई के थाहा ! तल माथि र भित्र बाहिर गर्दा सदाकाल गिज्याइरहने छ भित्तामा टाँगिएको कदर–पत्रले । त्यहाँबाट कतै ठाउँसार गर्न पनि मान्ने छैनन् श्रीमती र छोराछोरी ।

म लुगा फेर्ने बहाना गरेर आफ्नो कोठामा पसें । पाहुनाले निधारमा घसिदिएको अबिर र गलामा पहि¥यादिएको फूलमालाले मलाई अरु गिल्ला गरिरहेको थियो । भित्तामा ऐना हेर्दा आफ्नो छायासँग असाध्यै सरम लाग्यो । मानौं मबाट ठूलो अपराध भएको छ । ऐनाको आफ्नै आँखामा आँखा जुधाउन सकिएन । अरुलाई छले पनि मान्छेले आफ्नो मनलाई कहिल्यै छल्न सक्दोरहेन छ । यस्तो चाहना बिल्कुल थिएन, नियतिले भनौं कि नियतले थाहै नदिइ परिवन्दमा पारेर फसाइदियो । प्रायश्चित्मा मेरो हृदय पग्लिएर ऐनाको आँखाबाट समेत आँसु पोखियो । म र ऐनाको म सँगसँगै उद्वेलित भयौँ ।

‘बुवा, तल हजुरबा पनि आउनु भएको छ ।’ छोरी फुर्किदै एक्कासि मेरो कोठामा आइ ।
‘म एकछिनमा आउँछु छोरी ।’

‘बुवा रुनु भएको ? के भयो र ?’ मेरो आँखामा हेरेर उ आद्र्र भइ ।
‘होइन नि, आँखाभित्र अबिर प¥यो छोरी ।’
‘हो र ? पानीले पखालौंला बुवा जाउँ तल ।’
रमाइलोमा मिसिन आँखा ओभानो पार्दै म फेरि तल झरेँ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ७ चैत्र २०८२, शनिबार ११:००