कहिलेसम्म असुरक्षित ?
कर्णालीका बालिकाहरू लगातार बलात्कार र जबरजस्तीकरणीजस्ता जघन्य अपराधको सिकार बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्यांकअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । नाबालिकाहरूमाथिको यस्तो बर्बरताले आजको समाज र चेतनालाई नै गिज्याइरहेको छ । त्यसैले बालिकाहरूको सुरक्षा गर्न र हरेक नागरिकबाट यस्तो आपराधिक मानसिकता अन्त्य गर्न उचित शिक्षा अपरिहार्य देखिएको छ ।
२३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विकको बलात्कारपछि हत्या भएको पुष्टि पोष्टमार्टम रिपोर्टले गर्यो । १६ वर्षीया इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको हो । उक्त प्रकरणमा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । इनिसा घटनाको तीन दिनपछि २६ फागुनमा दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भएको अर्को घटना सार्वजनिक भयो । काकाबाट बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि मात्रै घटना बाहिर आएको हो । घटनामा संलग्न आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ । पीडित बालिकाका अनुसार उनीमाथि गत माघ १२ गते जबरजस्ती करणी भएको थियो । यसरी एकपछि अर्को गर्दै बालिका बलात्कृत भएका घटना सार्वजनिक भइरहेका छन् । २२ साउन २०८२ मा दैलेखमै १२ वर्षीया बालिकामाथि लखेटी–लखेटी बलात्कार भएको थियो । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी थिइन् । तिजको नाच हेरेर फर्किंदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेका थिए ।
प्रहरी तथ्यांकअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । आर्थिक वर्ष २०८२/०८३ मा दुई बालिकाको बलात्कारपछि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा एक र दैलेखमा एक गरी दुई बालिकाले बलात्कारको सिकार भइ मृत्युवरण गर्नुपरेको हो । पछिल्ला तीन आर्थिक वर्षमा चार सय ९२ वटा जबरजस्तीका मुद्दा दर्ता भएका छन् । प्रदेशभर आर्थिक वर्ष २०८०/०८१ मा दुई सय नौ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा एक सय ७४ जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८२/०८३ मा एक सय नौ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् । यो तथ्यांकले बालिकाहरू असुरक्षित समाजको चित्र देखाएको छ । जुन आजको विडम्बना हो । बालिकाहरूमाथि भइरहेका यस्ता बर्बरताको अन्त्य अपरिहार्य छ ।
प्रकाशित मितिः ३ चैत्र २०८२, मंगलवार ०५:०३
सम्पादकीय ।