समानुपातिकमा पनि कांग्रेस पहिलो

सुर्खेत: प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ ।

१० वटै जिल्लाको मतगणना सकिएर नतिजा आउँदा कांग्रेसले प्रदेशभरबाट कुल एक लाख ३५ हजार मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो भएको छ । रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ एक लाख ३० हजार नौ सय ३७ मत पाएको छ ।

नेकपा (एमाले) तेस्रोमा झरेको छ । उसले एक लाख १३ हजार सात सय ५३ मत पाएको छ । २०७९ मा कर्णालीबाट समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । यो चुनावमा उसलाई कांग्रेस र रास्वपाले उछिनेका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक लाख एक हजार ८१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार चार सय ९३ मत पाउँदा अन्य दलहरूको मत १० हजार भन्दा न्यून रहेको छ ।

समानुपातिकतर्फको मतको आधारमा जिल्लागत नतिजा हेर्दा नेपाली कांग्रेस तीन वटा जिल्लामा पहिलो भएको छ । नेपाली कम्युनिष्ट पार्टी पनि तीन वटा जिल्लामा पहिलो भएको छ । उसले प्रत्यक्षतर्फ चार वटा क्षेत्रमा जित हात पारेको छ ।

रास्वपा दुई वटा जिल्लामा पहिलो भएको छ । प्रत्यक्षतर्फ भने उसले एउटा क्षेत्र मात्रै जितेको छ । एमाले दुई वटा जिल्लामा समानुपातिकतर्फ पहिलो भएको छ । उसले प्रत्यक्षमा पनि प्रदेशभरबाट एउटा क्षेत्र जितेको छ ।

समानुपातिकतर्फको मतपरिणामअनुसार सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाले समानुपातिकतर्फ ५४ हजार दुई सय २६ मत प्राप्त गरेको छ । उसले क्षेत्र नं. १ बाट २० हजार पाँच सय २७ मत पाउँदा क्षेत्र नं. २ बाट ३३ हजार ६ सय ९९ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट २३ हजार चार सय २३ र क्षेत्र नं. २ बाट १४ हजार तीन सय २० सहित जिल्लाबाट कुल ३७ हजार सात सय ४३ मत पाएको छ ।

नेकपा (एमाले) समानुपातिकतर्फ जिल्लामा तेस्रो भएको छ । उसले २८ हजार नौ सय १४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट १६ हजार आठ सय ५२ र क्षेत्र नं. २ बाट १२ हजार ६२ मत पाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ बाट दुई हजार आठ सय सात र क्षेत्र नं. २ बाट चार हजार दुई सय ८९ मतसहित कुल सात हजार ९६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार दुई सय ७४ र श्रम संस्कृति पार्टीले तीन हजार दुई सय २३ मत प्राप्त गरेका छन् ।

प्रत्यक्षतर्फ सुर्खेतको क्षेत्र नं. १ बाट कांग्रेसका विष्णुबहादुर खड्काले २६ हजार आठ सय ९७ मत पाएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले १८ हजार आठ सय ९० मत पाए । क्षेत्र नं. २ मा रास्वपाका रमेशकुमार सापकोटाले ३० हजार आठ सय २६ मत पाएर विजयी हुँदा कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार तीन सय ९२ र एमालेका कुलमणि देवकोटाले १३ हजार एक सय ५५ मत पाएका छन् ।

यसैगरी समानुपातिकतर्फ दैलेखमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले २३ हजार सात सय ३७ मत पाएको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २० हजार पाँच सय ९१ मत पाएको छ ।

नेपाली कांग्रेसले २० हजार २७ मत पाउँदै तेस्रो भएको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ हजार तीन सय २९ मत मात्रै पाएको छ । नेपाल मजदुर किसान पार्टीले दुई हजार चार सय २० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार चार सय २२ मत पाएका छन् ।

प्रत्यक्षतर्फ दैलेखको क्षेत्र नं. १ बाट कांग्रेसकी बासना थापा निर्वाचित भएकी छिन् । उनले १२ हजार तीन सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरे । क्षेत्र नं. २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल १३ हजार आठ सय ८९ मत पाएर विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत पाए ।

सल्यानमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । समानुपातिकतर्फ २५ हजार ६ सय ६५ मत प्राप्त गर्दै रास्वपा पहिलो दल बनेको हो । नेपाली कम्युनिष्ट पार्टीले २० हजार तीन सय ३९, नेपाली कांग्रेसले १६ हजार ६९, एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार चार सय ३० मत पाएका छन् ।

प्रत्यक्षतर्फ सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् । उनले २३ हजार एक सय ८९ मत पाउँदा रास्वपाका उम्मेदवार ललित कुमार चन्दले २० हजार नौ सय चार मत पाए ।

डोल्पामा प्रत्यक्षतर्फ पराजित भएपनि समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो भएको छ । उसले चार हजार नौ सय ४४ मत पाएको छ । प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ चार हजार सात सय सात मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार एक सय दुई मत पाउँदा नेपाली कांग्रेसले दुई हजार पाँच सय ९५ मत पाएको छ ।

प्रत्यक्षतर्फ नेकपाका धनबहादुर बुढा ६ हजार आठ सय दुई मत पाएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले पाँच हजार तीन सय ९६ मत पाउँदा कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार नौ सय ४७ मत मात्रै पाएका छन् ।

जुम्लामा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेपनि समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बनेको छ । उसले समानुपातिकमा दश हजार दुई सय दुई मत पाएको छ । कांग्रेस नौ हजार तीन सय ६० मतसहित दोस्रो हुँदा राप्रपाले ६ हजार पाँच सय ५२, एमालेले ६ हजार २९ र रास्वपाले पाँच हजार एक सय १८ मत पाएका छन् ।

प्रत्यक्षतर्फ राप्रपाका ज्ञानबहादुर शाही १४ हजार आठ सय १६ मत पाएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६ सय ३५ मत पाए । कांग्रेसका दिपबहादुर शाहीले सात हजार एक सय ४३ मत पाउँदा एमालेका शान्तिलाल महतले चार हजार पाँच सय १८ मत पाए ।

कालीकोटमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कम्युनिष्ट पार्टी पहिलो दल भएको छ । समानुपातिकमा नेकपाले ११ हजार एक सय ८९ मत पाएको छ । एमालेले नौ हजार पाँच सय २०, कांग्रेसले सात हजार सात सय ५४, रास्वपाले पाँच हजार एक सय, राप्रपाले एक हजार एक सय ९५ मत पाएका छन् ।

प्रत्यक्षतर्फ नेकपाकै महेन्द्रबहादुर शाहीले चुनाव जितेका छन् । उनले ११ हजार सात सय ३४ मत पाउँदा एमालेका नगिन्द्र शाहीले १० हजार ६ सय ४७ र कांग्रेसका हर्षबहादुर बमले सात हजार चार सय ५० मत पाए ।

हुम्लामा नेपाली कांग्रेस पहिलो दल भएको छ । कांग्रेसले समानुपातिकमा सात हजार नौ सय १५ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ हजार दुई सय ३१, एमालेले पाँच हजार दुई सय ८० र रास्वपाले दुई हजार ३५ मत पाएका छन् ।

प्रत्यक्षतर्फ पनि हुम्लामा कांग्रेसले जितेको छ । कांग्रेसका जयपति रोकाया आठ हजार सात सय ९७ मत पाएर विजयी भए । नेकपाका दिपेन्द्र रोकायाले सात हजार दुई सय ४३ मत पाए भने एमालेका दल फडेराले चार हजार तीन सय ३१ मत पाए ।

जाजरकोटको समानुपातिक मतमा नेपाली कांग्रेस पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि जितेको कांग्रेसले समानुपातिकतर्फ ११ हजार ८५ मत पाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले १० हजार तीन सय दुई मत पाउँदा एमालेले नौ हजार तीन सय ४९ मत पाएको छ । रास्वपाले पनि दुई हजार नौ सय ४० मत पाएको छ ।

प्रत्यक्षतर्फ जाजरकोटबाट कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन् । उनले २० हजार एक सय ४२ मत पाएर नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुर बस्नेतलाई पराजित गरेका हुन् । बस्नेतले १७ हजार चार सय सात मत पाए । एमालेका डम्बरबहादुर सिंहले १६ हजार आठ सय ८३ मत पाए ।

रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी समानुपातिक मतमा पहिलो भएको छ । नेकपाले २० हजार ३६ मत पाएको छ । कांग्रेसले १५ हजार एक सय ८१ मत पाउँदा रास्वपाले दश हजार एक सय ४९ मत पाएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीले सात हजार दुई सय सात मत पायो । एमालेले पाँच हजार आठ सय ४७ मत पाएको छ ।

प्रत्यक्षतर्फ पनि रूकुमपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा निर्वाचित भएका छन् । उनले २१ हजार ६ सय नौ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६ सय ६१ मत पाए । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार तीन सय ४६ मत प्राप्त गरे ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जितेको मुगुको समानुपातिक मतमा कांग्रेस नै पहिलो भएको छ । उसले सात हजार दुई सय ७१ मत पाएको छ । एमालेले ६ हजार ४१ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार एक सय १० मत पाएको छ ।

मुगुबाट प्रत्यक्षतर्फ कांग्रेसका खड्ग शाही सात हजार नौ सय १४ मत पाएर निर्वाचित भएका छन् । एमालेका पूर्णबहादुर रोकायाले ६ हजार सात सय १८ मत पाए । नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार पाँच सय ५८ मत पाएका छन् ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८२, मंगलवार १०:१०