अन्तरिम आदेशपछि शर्माको पद यथावत
सुर्खेत: कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले बिहीवार अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको हो । इजलासको आदेशअनुसार अब शर्माको पद अन्तिम टुङ्गो नलागेसम्म पद कायम रहनेछ ।
नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दै प्रदेशसभा सदस्य पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले पनि उनको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले उनलाई कारबाही गरेको थियो । सोहीअनुसार प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेसँगै शर्मा सर्वोच्च गएका थिए । शर्माले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय समिति संयोजक पुष्पकमल दाहाल, नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सभा दलको कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
प्रकाशित मितिः १५ फाल्गुन २०८२, शुक्रबार १३:५५
साझा बिसौनी ।