उम्मेदवारका ५ एजेन्डा

सुर्खेतको निर्वाचन क्षेत्र नंं. १ बाट नेकपा(एमाले)का ध्रुवकुमार शाही तेस्रो पटक उम्मेदवार बनेका छन् । यसअघि एकपटक जित र एकपटक हार बेहोरेका उनी फागुन २१ गते हुने निर्वाचनबाट दोस्रो जित निकाल्ने कसरत गरिरहेका छन् ।
अघिल्ला दुई निर्वाचनका उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्णबहादुर खड्का यसपटक चुनावी मैदानमा छैनन् । त्यसैले यसपटक शाहीले नयाँ प्रतिस्पर्धी पाएका छन् । ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले उनलाई विभिन्न पाँचवटा विषयमा केन्द्रित योजना र प्राथमिकता के छन् भनेर सोधका छौँं । प्रस्तुत छ, शाहीको जवाफ जस्ताको त्यस्तैः


 

 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

पूर्वाधार विकासमा सडक, खानेपानी, सिँचाइ, विद्युत तथा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेको छु । सबै नागरिकको पहुँचमा खानेपानी पुर्‍याउने योजना बनाएको छु । विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने, सडक निर्माण तथा स्तरोन्नति गर्ने र सञ्चारको सेवा विस्तार गराउने योजना छ । स्वास्थ्य र शिक्षाका पूर्वाधारका योजनालाई पनि प्राथमिकतामा राखेको छु ।

केही सुरु गरिएका तर निर्माण सम्पन्न नभएका योजना पनि अघि बढाउनेछु । राजमार्ग निर्माणका कामलाई अघि बढाउने, आवश्यकताका आधारमा मोटरेवल पुल निर्माणको कामलाई अघि बढाउने योजना निर्माण गरेको छु । खेलमैदान निर्माणको कामलाई पनि अघि बढाउनेछु । पालिका–पालिकामा खैलमैदान निर्माण हुनेछन् ।

नागरिकका मागका आधारमा ग्रामीण कच्ची सडक स्तरोन्नतिको कामसमेत अघि बढाउनेछु । संघीय सरकारले थालेको राष्ट्रिय गौरवका आयोजनालाई समेत कार्यान्वयन गराउन विशेष पहल थाल्नेछु । राजमार्ग निर्माणका कामलाई समेत निर्माण सम्पन्न गर्नेगरी योजना निर्माण गरेको छु ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

शैक्षिक गुणस्तर बढाउने योजना निर्माण गरेको छु । प्राथमिक तहको शिक्षा उच्च ज्ञानमूलक बनाउने योजना रहेको छ । जग बलियो भए मात्र घर बलियो हुने भएकाले आधारभूत तहको शिक्षामा नयाँ प्रविधिको प्रयोग गर्न जरुरी छ । शिक्षक–विद्यार्थी अनुपातमा दरबन्दी मिलानको काम अघि बढाउन पहल गर्नेछु । शिक्षकलाई समेत क्षमता अभिवृत्रिका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्नेछ ।

स्वास्थ्यका क्षेत्रमा समस्या धेरै छन् । औषधि उपलब्धतामा विशेष जोड दिनेछु । स्वास्थ्य क्षेत्रमा जनशक्ति परिचालनमा समेत मेरो पहल रहनेछ । गाउँ–गाउँमा विशेषज्ञ सेवा सञ्चालन गर्ने, दिर्घ रोगीलाई उपचारमा सहूलियतको योजना पनि राखेको छु । सरुवा रोग नियन्त्रणमा पनि नीतिगत निर्णय गर्नेछु । नागरिकको पहुँचमा सेवा विस्तार गर्नेगरी मेहेलकुना अस्पतालको सेवालाई प्रभावकारी बनाउन मेरो विशेष पहल रहनेछ ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरेर रोजगारी सिर्जना गर्ने योजना बनाएको छु । पर्यटन प्रवद्र्धनमा जोड दिनेछु । जडिबुटी उद्योग स्थापना गरेर स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने, प्रतिबन्ध गरिएको गाजा खेतीलाई खुल्ला गर्ने जसबाट नागरिकले आर्थिक लाभ लिनेछन् । साना तथा मझौला उद्योग स्थापना गरेर स्वारोजगारका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छु । नयाँ सञ्चालन गर्न सकिने ठूला उद्योगहरूको अध्ययन गरेर काम अघि बढाउने योजनासमेत मैले निर्माण गरेको छु ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

भष्ट्राचारको अन्त्य हुनुपर्छ । भष्ट्राचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति मैले अपनाउनेछु । यदि भष्ट्राचार मात्र नियन्त्रण गर्न सकेमा देशमा अरु ठूलै क्रान्ति गर्न आवश्यक छैन । नागरिकका मागका आधारमा सेवालाई प्रभावकारी रूपमा अघि बढाउनेछु । सुशासन अभिवृद्धिका लागि नागरिक जागरण कार्यक्रममार्फत सन्देश प्रवाह गरेर नागरिकमूखि योजना कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछु ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

राज्यले रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन तथा जलविद्युतको क्षेत्रमा काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग स्थापना गरेर सञ्चालन गर्नुपर्छ । सुशासन कायम गर्नुपर्नेछ ।

प्रकाशित मितिः   ११ फाल्गुन २०८२, सोमबार ०९:३६