रास्वपाको बाचापत्र सार्वजनिक
सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित चुनावी सभामार्फत रास्वपा सभपाति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बाचापत्र सार्वजनिक गरेका हुन् ।
रास्वपाको बाचापत्रमा रूपान्तरणका एक सय आधार प्रस्तुत गरिएको छ । तिनै आधारमा रहेर देश रूपान्तरण गर्ने रास्वपाले बाचा गरेको छ । यसलाई रास्वपाले थिति बसाल्ने संकल्प भनेको छ । फागुन २१ गतेपछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै रास्वपाले मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ । बाचापत्रको मुख्य बुँदा बाचन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले अबको पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार एक सय अर्ब डलर (एक सय खर्ब रूपैयाँभन्दा माथि) पु¥याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे ।
सम्बोधनका क्रममा डा. वाग्लेले भने, ‘हामीले फागुन ३ गते नागरिकसँगको करारपत्र मार्फत हाम्रा लक्ष्यहरू सार्वजनिक गरिसकेका थियौँ । आज फागुन ७ गते नीतिगत प्रस्थानका १०० आधारहरू पेस गरेका छौँ । अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउनेछ ।’
रास्वपाले अर्थतन्त्र उकास्नका लागि ‘मिशन मोड’ मा काम गर्ने जनाएको छ । बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार डलर (करिब चार लाख रूपैयाँ) पु¥याउने लक्ष्य राखिएको छ । ‘विश्व बैंकको मापदण्डअनुसार हामी अहिले निम्न आय भएको मुलुकमा छौँ, अबको पाँच वर्षमा हामी सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुग्नेछौँ,’ वाग्लेले दाबी गरे ।
बाचापत्रमा सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ । सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गर्ने, न्याय सुधारमा मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने पनि पार्टीले घोषणा गरेको छ ।
उपसभापति वाग्लेले काठमाडौं महानगरपालिकामा स्वतन्त्र रूपमा जितेर स्थापित सत्तालाई चुनौती दिएका बालेन शाह अहिले रास्वपाको वरिष्ठ नेताका रूपमा जोडिँदा पुस्तान्तरणको राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए । उनले भने, ‘काठमाडौंको मेयरका रूपमा बालेन शाहले देखाएको कार्यकुशलता र रवि लामिछानेले पार्टी निर्माणमा मोलेको जोखिमले आज वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याएको छ ।’
रास्वपाले कृषि, पर्यटन, जलविद्युत र सूचना प्रविधि (आईटी) लाई अर्थतन्त्रको मुख्य खम्बा मान्दै कर्णालीका डाँडाकाँडा र फाँटहरूमा आर्थिक क्रान्ति ल्याउने सपना देखाएको छ । निजी क्षेत्रलाई ‘सरकारको ढोका चहार्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैलोमै सरकार पुग्ने’ प्रत्याभूति दिलाइएको छ । रास्वपाले अस्थिर राजनीतिको अन्त्य र सुशासनका लागि यसपटक घण्टी चुनाव चिह्नमा मतदान गरी स्पष्ट बहुमत दिन आम मतदातालाई आह्वान गरेको छ । खुद्रा सुधारले मात्रै नपुग्ने भन्दै राजकाजको जहाजलाई नै सही दिशामा मोड्न पाँच वर्षको स्थिर सरकार आवश्यक रहेको नेताहरूले औंल्याएका छन् ।
प्रकाशित मितिः ८ फाल्गुन २०८२, शुक्रबार ११:३४

साझा बिसौनी ।