उम्मेदवारका ५ एजेन्डा

सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट जेन–जी पुस्ताका कृष्ण खत्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी कुनै राजनीतिक दलबाट नभइ स्वतन्त्र उम्मेदवार हुन् । प्रविधिलाई केन्द्रमा राखेर समृद्ध सुर्खेत बनाउने भन्दै मतदाता फकाइरहेका खत्रीसँग ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित रहेर उनका योजना र प्राथमिकता के छन् भनी सोधका छौँ । प्रस्तुत छ, उनको जवाफ जस्ताको त्यस्तैः


  • पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

संघीयता कार्यान्वयनमा आएको दशक पुग्नै लाग्दा पनि पश्चिम सुर्खेत पूर्वाधारको अभावमा छ । न जनताले राम्रो बाटो हिँड्न पाएका छन् न त स्वास्थ्य सेवा नै उपभोग गरिरहेका छन् । मेरो पहिलो प्राथमिकता सडक पूर्वाधार नै हो । सडक पूर्वाधार नहुँदा नागरिकले दैनिक रूपमा सास्ती पाइरहेका छन् । गिरीघाट–रानीघाट हुँदै पाग्मसम्म जोड्ने सडक स्तरोन्नतिको काम म निर्वाचित भएमा पहिलो नम्बरमा गर्नेछु । त्यहाँका नागरिकले निकै सास्ती पाइरहेका छन् । भेरी नदीमा तीनवटा मोटरेवल पुल निर्माण गर्नेछु । पश्चिममा निर्माणाधीन मदन भण्डारी राजमार्गमा देखिएका समस्या समाधानका लागि नीतिगत पहल गर्नेछु । उपेक्षामा परेका ग्रामीण सडक स्तरोन्नतिको काम अघि बढाउने योजना रहेको छ । कृषि सडक निर्माणको काम अघि बढाउने, अति नै आवश्यक रहेका सडकहरूको निर्माण थालनी गर्नेछु । स्वास्थ्य, शिक्षा तथा सरकारी संरचनाको पूर्वाधार निर्माणमा जोड दिने योजना बनाएको छु । पश्चिममा निर्माण थालिएका ठूला उद्योग निर्माणको काम अघि बढाउने, खानेपानी तथा सिँचाइको उपलब्धताका लागि बृहत् खानेपानी योजना निर्माणको काम अघि बढाउनेछु ।

 

  • शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको छ । गाउँ–गाउँमा विशेषज्ञ सेवा प्रवाह गर्ने, दिर्घ रोगीलाई उपचारमा सहूलियतका कार्यक्रम ल्याउने योजना बनाएको छु । स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी व्यवस्थापनको काममा ध्यान दिने, आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई थप प्रभावकारी बनाइनेछ । सरकारले निःशुल्क रूपमा वितरण गर्ने सबै प्रकारका औषधीलाई सबै नागरिकको पहुँचमा उपलब्ध हुने गरी वितरण गर्ने योजना रहेको छ । सालकोट अस्पताललाई सुविधा सम्पन्न गराउने, जनशक्तिको व्यवस्थापन गर्ने योजना रहेको छ । शैक्षिक गुणस्तर वृद्धिमा मेरो ध्यान जानेछ । प्राविधिक शिक्षामा जोड दिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको छ ।

 

  • रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

वीरेन्द्रनगरलाई ‘आइटी हब’ बनाउने योजना छ । वडा नंं. १ देखि १२ सम्म उक्त योजना कार्यान्वयन हुनेछ । कृषि, यातायात, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्र यसमा पर्छन् । यसबाट हजारौँ नागरिक रोजगारीमा आवद्ध हुनेछन् ।

पश्चिम सुर्खेतलाई जडिबुटीको हब बनाउने योजना छ । जडिबुटी प्रशोधन केन्द्रको रूपमा यसलाई विकास गर्ने योजना ल्याएको छु । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्रविधिको विकास गर्ने, ब्याज अनुदानका कार्यक्रम कार्यान्वयन गर्ने, तरकारी संकलन केन्द्र निर्माण गर्ने योजना रहेको छ ।

कृषि र जडिबुटीबाट रोजगारी र आर्थिक अवसर सिर्जना हुनेभएकाले उक्त क्षेत्रमा प्रविधिसहितको योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ । गाउँ–गाउँमा सीपअनुसारको रोजगारी सिर्जना गर्ने, साना तथा मझौला खालका उद्योग स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा नागरिकलाई थप लाभ हुनेछ । युवालाई रोजगारीमा आवद्ध गराउनका लागि ब्याज अनुदानका कार्यक्रम प्रभावकारी बनाउने योजना रहेको छ ।

 

  • सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

देशमा जरजर अवस्थामा रहेको भष्ट्राचार न्यूनीकरण गर्नु मेरो पहिलो दायित्व हुनेछ । भष्ट्राचारमा शून्य सहनशीलताको नीति मैले लिएको छु । नागरिकको सेवालाई प्रभावकारी बनाउन नागरिक सचेतनाका कार्यक्रममा मेरो जोडबल रहनेछ । नागरिकले उपयोग गर्ने योजनाबारे उनीहरूलाई जानकारी गराइनेछ । सरकारी सेवामा नागरिक जनसहभागिता बनाउने मेरो योजना रहेको छ । नागरिकलाई बढी जवाफदेहि र उत्तरदायी बनाउनेछु ।

 

  • नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

राज्यले निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा भूगोल हेरेर विनियोजन गर्नुपर्ने हुन्छ । अहिले त्यो हुन सकिरहेको छैन । कर्णालीलाई छुट्टै बजेटको व्यवस्था गरेर जनमूखि हुनेगरी कार्यान्वयन गर्नुपर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी पूर्वाधार निर्माणलगायतका योजना राज्यले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०८२, शुक्रबार ११:३०