उम्मेदवारका ५ एजेन्डा
नेकपा(एमाले) सुर्खेतका अध्यक्ष कुलमणी देवकोटा पहिलो पटक संसदीय चुनाव लड्दैछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एमालेले उनलाई सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनाएको छ ।
अघिल्लो चुनावमा एमाले पराजित भएको यो क्षेत्रमा पार्टीको गुमेको विरासत फर्काउँदै संसद् प्रवेश गर्ने योजनामा देवकोटा छन् । मतदानको दिन नजिकिँदै गर्दा मतदाता भेट्न व्यस्त उनलाई ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित रहेर उनका योजना, एजेन्डा र प्राथमिकता के छन् भनेर सोधेका छौँं । प्रस्तुत छ, देवकोटाको जवाफ जस्ताको त्यस्तैः

पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?
जनताका माग के छन्, सोही अनुरूपको प्रतिनिधित्व हुने गरी विकास निर्माणको योजना निर्माण गरेको छु । पूर्वाधार विकासको काम जनचाहनाअनुसारको होस् भनेर जनताका मागअनुसारको योजना निर्माण गरेको हुँ । म निर्वाचित भएपछि ती योजनालाई अक्षरश पालना गर्नेछु । जनचाहनाअनुसार सडक पूर्वाधार पहिलो प्राथमिकतामा रहेको छ ।
क्षेत्र नं. २ का चारवटै पालिका जोड्ने मदन भण्डारी राजमार्ग निर्माणको काम समयमै सम्पन्न गर्नका लागि मेरो ठोस पहल रहनेछ । राजमार्गसँग जोडिएका सहायक सडक निर्माणको कामलाई पनि मैले प्राथमिकतामा राखेको छु । ती सडक सञ्चालनमा आए नागरिकलाई निकै सहज हुनेछ ।
जंगलाघाटसम्मको सडक निर्माणको योजना सम्पन्न गर्ने लक्ष्य छ । वीरेन्द्रनगरको चक्रपथ निर्माणको कामलाई अघि बढाउने छु । पश्चिम क्षेत्रका मुख्य समस्या खासगरी सडक, खानेपानी, ग्रामीण विद्युतीकरण, बेरोजगारी, भूगोलका कारण सेवा प्रवाह समस्या छन् । ती समस्यालाई समाधान गर्नेगरी आवश्यक पूर्वाधार निर्माणको योजना बनाएको छु ।
शैक्षिक पूर्वाधार विकासमा पनि मेरो जोड रहेको छ । आवश्यकताका आधारमा शैक्षिक पूर्वाधार निर्माण गर्नेछु । नागरिकको पहुँचका आधारमा स्वास्थ्य पूर्वाधार निर्माणको योजना बनाएको छु । व्यवस्थित वीरेन्द्रनगरको योजनालाई पनि अघि बढाउने छु ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?
स्वास्थ्य र शिक्षा नागरिक जीवनका लागि अत्यावश्यक क्षेत्र हुन् । यी क्षेत्रलाई बनाउन मेरो प्राथमिकता हुनेछ । आवश्यक पूर्वाधार विकास गरेर सेवालाई नागरिकमैत्री बनाउनुपर्नेछ । औषधीको अभावमा समस्या झेलिरहेका पश्चिमका नागरिकको हितमा हुनेगरी तीनतहका सरकारको जिम्मेवारीमा रहेको औषधी व्यवस्थापनलाई सहज बनाउन पहल गर्छु । भौगोलिक रूपमा टाढाटाढा रहेका बस्तीहरूमा घुम्ती सेवामार्फत विशेषज्ञ सेवा उपलब्ध गराउन पहल गर्नेछु । स्वास्थ्य जनशक्तिको कुरालाई ध्यानमा राखेर आवश्यक स्थानमा कर्मचारी व्यवस्थापन गर्ने र नागरिकलाई सेवा दिनेगरी लागि पर्नेछु ।
शैक्षिक गुणस्तरको विकासका लागि मैले नीतिगत सुधारको पहल थाल्नेछु । कानुन निर्माण गरेर सामुदायिक विद्यालयलाई विश्वसनीय तथा भरपर्दो बनाउन मेरो पहल रहनेछ । कक्षाकोठा व्यवस्थापनदेखि दरबन्दी व्यवस्थापनमा मैले पहल कदमीको काम गर्नेछु । बालबालिकाको पोषण सुधारदेखि खेलमैदान निर्माणसम्मको योजना मैले राखेको छु ।
रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?
पश्चिम सुर्खेतमा कृषिको उर्भर भूमि छ । उत्पादन बढाउन बाँझो जग्गा उपयोग गरेर व्यावसायिक रूपमा खेतीलाई अघि बढाउने योजना छ । रोजगारी बढाउन अनुदानका कार्यक्रम, युवा लक्षित कार्यक्रममा जोड दिनेछु । उद्योग स्थापना गरेर स्थानीय कच्चा पदार्थको बिक्री वितरणमा जोड दिनुपर्नेछ । तरकारी संकलन गर्ने सञ्चालन गर्ने जसले गर्दा बजारीकरणमा सहज हुनेछ । पश्चिममा सञ्चालन थालिएका ठूलो उद्योग निर्माणको काम सम्पन्न गरी स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजना बनाएको छु । रोजगारी सिर्जना र आर्थिक अवसर खुल्ने खालका साना तथा मझौला उद्योग स्थापनामा मेरो जोड रहनेछ ।
सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईको भूमिका के रहन्छ ?
सुशासनसहितको सेवा राज्यको दायित्व हुनुपर्दछ । नागरिककै हितमा काम गरेको लामो अनुभवले पनि सकेसम्म जनसरोकारका विषयमा ध्यान दिएर अघि बढ्नेछु । जतिसक्दो सुशासन कायम गर्न सके नागरिकहरूले सेवाबाट बढी लाभ लिन सक्छन् । त्यसैले भष्ट्राचार न्यूनीकरण र सुशासन कायम गर्नका लागि मेरो पहल रहेनछ ।
नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?
नागरिकको जीवनस्तर सुधारका लागि संविधानको मौलिक हकको कार्यान्वयनमा जोड दिनुपर्छ । नागरिकका आवश्यकता अनुसारका योजना निर्माण गरेर कार्यान्वयनको चरणमा पुग्न सके नागरिकको जीवनस्तर माथि उठ्न सक्छ । नागरिक सचेतनाका कार्यक्रममा समेत जोड दिनुपर्छ, जसले गर्दा सहज रूपमा नागरिकले सेवा सुविधाबारे जानकारी लिन पाउँछन् ।
प्रकाशित मितिः ६ फाल्गुन २०८२, बुधबार १८:०५
साझा बिसौनी ।