आचारसंहिता उल्लंघन गर्ने समूह पक्राउ

सुर्खेत: मोटरसाइकल आतंक मच्चाएको भन्दै प्रहरीले ‘द डेन्जरस स्कूल’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले प्रशासनको अनुमतिविना मोटरसाइकल ¥याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पु¥याएको प्रहरीको आरोप छ ।

उक्त समूहका युवाहरूले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा ¥याली निकाल्दै हो–हल्ला गरेपछि प्रहरीले पक्राउ गरेको हो । शनिवार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविट नजिकै तीनकुने चोक हुँदै सो समूह धुलियाविटतर्फ जाँदै थियो ।

उनीहरूले सार्वजनिक शान्ति खलल पु¥याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आठ वटा मोटरसाइकल र चार वटा स्कुटरमा आएका २५ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २५ माघ २०८२, आईतवार ०६:०४