सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै अबको एक÷दुई दिनभित्रैमा नियमित प्रसारण गरिने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जानकारी दिएको छ ।
आयोजना अन्तर्गत बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको हो । परीक्षण सफल भएकोले अब सबस्टेशन चार्ज गर्ने र त्यसपछि नियमित विद्युत वितरण गरिने इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए ।

केही दिनअघि निर्माण सम्पन्न भएपछि एक हप्तादेखि प्रसारण लाइन परीक्षण सुरु गरिएको थियो । शनिवार पूर्णरूपमा सफलता प्राप्त भएको जनाइएको छ । अब राष्ट्रिय प्रसारण प्रर्णालीमार्फत विद्युत वितरण गरिनेछ ।

यो आयोजनाले सुर्खेतसहित कर्णाली प्रदेशमा देखिएको विद्युत समस्या समाधानमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । अहिले सञ्चालनमा रहेको ३३ केभी प्रसारण लाइनले यहाँको मागअनुसार विद्युत आपूर्ति हुन सकिरहेको थिएन । जसले गर्दा नागरिकले अनियमित लोडसेडिङको मार खेप्नु परिरहेको थियो । १३२ केभी सञ्चालनमा आएपछि त्यो समस्या समाधान हुने अपेक्षा नागरिकको छ ।

यो आयोजना निर्माणको सुरुवात २०७७ देखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । पटक–पटक म्याद थप गरेर भएपनि आयोजना निर्माण कार्य सकिएको छ । २०८० चैतमा सकिएको आयोजनाको पहिलो म्याद २०८१ पुस १६ सम्म थपिएको थियो । तर त्यो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि दोस्रो थप गरेर २०८२ माघ मसान्तसम्म पु¥याइएको हो । माघको दोस्रो सातासम्ममा निर्माण कार्य सकिएको छ ।

प्रकाशित मितिः   १८ माघ २०८२, आईतवार ०९:४६