चुनावको उत्साह
फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । उम्मेदवारहरू निर्वाचनलक्षित गतिविधिमा सक्रिय भइसकेका छन् । गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् । सुर्खेतमा पनि राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँकेन्द्रित अभियान सुरु गरेका हुन् । चुनाव आउन अझै एक महिनाभन्दा बढी समय बाँकी छ । तर सुर्खेतका मतदाताहरूमाझ अलग उत्साह देखिएको छ । गाउँ–शहर, चोक–चौतारादेखि सामाजिक सञ्जालसम्म हिजोआज चुनावकै चर्चा चलिरहेको छ । पहिलोपटक मताधिकार प्रयोग गर्न पाउने युवाहरू विशेष उत्साहित छन् ।
यो निर्वाचनका लागि नयाँ पुस्ता कतिसम्म उत्साहित देखिएको छ भनेर थपिएका मतदाताको संख्याले पनि बताउँछ । कर्णाली प्रदेशमा यसपटक २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर १० लाख ६ हजार आठ सय ३४ पुराना मतदाता थिए । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक) मार्फत २६ हजार ६ सय ३५ मतदाता थपिएका छन् । सुर्खेतमा सात हजार तीन सय ६२, रुकुमपश्चिममा दुई हजार आठ सय ४०, डोल्पामा एक हजार सात, जुम्लामा तीन हजार ३६, मुगुमा सात सय ७४, हुम्लामा आठ सय २४, कालीकोटमा एक हजार सात सय ७६, दैलेखमा तीन हजार ६ सय २६ नयाँ मतदाता थपिएका छन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाव्रmम र जेन–जी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । मतदाता नामावली दर्ता गराउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
युवा पुस्तामा देखिएको यो उत्साह अब मतपेटिकामा जानेछ । जसले मुलुकको भविष्य निर्धारणका लागि महङ्खवपूर्ण नीति निर्माण गर्ने प्रतिनिधि चयन गर्नेछ । अहिलेसम्म मुलुक सञ्चालनका तौरतरिकाप्रति असन्तुष्ट नागरिकहरूले गत भदौमा जेन–जी आन्दोलनमार्फत आफ्नो विद्रोह देखाए । त्यसबै बलमा चुनाव हुँदैछ । त्यसैले अब विवेकको प्रयोग गरेर सक्षम र योग्य जनप्रतिनिधि छनोटमा ध्यान दिनुपर्ने बेला भएको छ ।
प्रकाशित मितिः १८ माघ २०८२, आईतवार ०९:४३
सम्पादकीय ।