मतदानका लागि उत्साहित मतदाता

सुर्खेत: वीरेन्द्रनगर–३ की शर्मीला थापा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न उत्साहित छिन् । हुन त उनले विगतका चुनावमा पनि मतदान गरिसकेकी छिन् । तर अहिलेको चुनावलाई लिएर जुन माहोल बनिरहेको छ, त्यसले शर्मीलालाई पनि छोएको देखिन्छ । राजनीतिमा नयाँ–नयाँ शक्तिहरूको उदय हुने कुराले पनि उनलाई हर्षित बनाएको छ । ‘पहिला पनि धेरै पटक मत हालियो तर जसलाई जिताए पनि देशका लागि खासै कसैले केही गरेनन्’, उनले भनिन्, ‘त्यही कारण मतदान गर्न उत्साह हुँदैन्थ्यो तर अहिले नयाँ शक्तिहरू उदाएका कारण उनीहरूलाई जिताउनकै लागि भए पनि म मतदानका लागि तयार छु ।’

चुनाव आउन अझै एक महिनाभन्दा बढी समय बाँकी छ । तर सुर्खेतका मतदाताहरूमाझ अलग उत्साह देखिएको छ । गाउँ–सहर, चोक–चौतारादेखि सामाजिक सञ्जालसम्म हिजोआज चुनावकै चर्चा चलिरहेको छ । पहिलोपटक मताधिकार प्रयोग गर्न पाउने युवाहरू विशेष उत्साहित छन् । वीरेन्द्रनगर–४ का सविन पुरी पहिलोपटक मतदान गर्दैछन् । व्यक्तिगत छवि स्वच्छ भएका, विकासको स्पष्ट योजना बोकेका र युवाको भावना बुझ्ने इमानदार नेतृत्व चयन गर्नका लागि मतदान गर्न उत्साहित भएको उनले सुनाए । ‘देश र जनताको भावनालाई बुझेर काम गर्न सक्ने योग्य उम्मेदवारलाई मत दिनेछु,’ उनले भने ।

यस्तै वीरेन्द्रनगर–७ की २२ वर्षीया रमिता विक पनि पहिलोपटक मतदान गर्दैछिन् । सबै उम्मेदवारका एजेन्डा सुनेर र बुझेर मात्रै मत दिने निर्णयमा पुगेको उनको भनाइ छ । ‘असक्षम नेतृत्वको असर जनतामाथि पर्छ भन्ने कुरा विगतले देखाइसकेको छ । त्यसैले सक्षम नेतृत्व चयन गर्न सचेत भएर मतदान गर्नुपर्छ,’ उनले भनिन् ।

वीरेन्द्रनगरकै योगेश बुढा पनि यस निर्वाचनमा पहिलोपटक मत प्रयोग गर्दैछन् । नयाँ दल र नयाँ अनुहारहरू मैदानमा देखिएकाले पार्टीभन्दा व्यक्तिको क्षमता हेरेर मतदान गर्ने सोच बनाएको उनको भनाइ छ । ‘युवाको आन्दोलनपछि अब देशमा केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आशाले मतदानमा सहभागी हुँदैछु,’ उनले भने । उनकैजस्तो मत छ सुमन गिरीको । पहिलोपटक मतदान गर्न लागेका उनले अहिले उम्मेदवारबारे जानकारी लिँदै आफ्नो मतको सही प्रयोग गर्ने तयारी गरेको बताए ।

आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । उम्मेदवारहरू निर्वाचनलक्षित गतिविधिमा सक्रिय भइसकेका छन् । गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् । सुर्खेतमा पनि राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँकेन्द्रित अभियान सुरु गरेका हुन् ।

 

थपिए मतदाता

कर्णाली प्रदेशमा यसपटक २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर १० लाख ६ हजार आठ सय ३४ पुराना मतदाता थिए । प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् ।

फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक) मार्फत २६ हजार ६ सय ३५ मतदाता थपिएका छन् । सुर्खेतमा सात हजार तीन सय ६२, रुकुमपश्चिममा दुई हजार आठ सय ४०, डोल्पामा एक हजार सात, जुम्लामा तीन हजार ३६, मुगुमा सात सय ७४, हुम्लामा आठ सय २४, कालीकोटमा एक हजार सात सय ७६, दैलेखमा तीन हजार ६ सय २६ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाव्रmम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । मतदाता नामावली दर्ता गराउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   १७ माघ २०८२, शनिबार १०:५७