चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार

सुर्खेत: ४० वर्षीय रमेश परियार चरम मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण चरम राजनीतिकरणलाई मान्छन् । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उनी सुशासनको एजेन्डा बोकेर आफै चुनावी मैदानमा होमिएका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

दलीय व्यवस्थाले भ्रष्टाचार झाँगिएको भन्दै उनले स्वतन्त्र रूपमा देश र जनताको अपेक्षा अनुरूप काम गर्ने संकल्पसहित उम्मेदवार बनेको बताए । खाना, नाना र छानाको सवाललाई समेट्ने योजना आफूले निर्माण गरेको उनले सुनाए । जनताका समस्यालाई मसिनो ढङ्गले केलाउने तथा समाधान हुने खालका चुनावी ऐजेन्डा बोकेर जनतामाझ जान खोजिरहेको परियारको भनाइ छ । ‘दलीय व्यवस्थाले भ्रष्टाचार मौलाएको छ, सुशासन सहितको नयाँ व्यवस्था कायम गर्न मेरो उम्मेदवारी रहेको छ, कुसाशनको अन्त्य गर्न आफै उम्मेदवार बन्नु परेको छ ।’

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसायजस्ता सवाल आफ्नो प्राथमिकतामा पर्ने परियार बताउँछन् । विपन्न लक्षित बजेट, सीपअनुसारको रोजगारी र स्थानीय उत्पादनलाई बजारीकरणमा समेत आफूले विशेष पहल गर्ने उनको योजना रहेको छ । युवा लक्षित रोजगारी तथा उद्यमविकासमा समेत जोड दिएका छन् ।

रमेशजस्तै सुर्खेतको क्षेत्र नं. २ बाटै उदीराम चुनारा पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । अहिले मतदाता भेटघाट र आफ्नो एजेन्डा निर्माणलगायतका काममा लागिरहेको उनले सुनाए । एक व्यक्ति एक समस्या पहिचान गर्नेगरी घर–घर तथा गाउँ–गाउँमा भेटघाटका कार्यक्रम राखिएको भन्दै उनले दलिय स्वार्थभन्दा माथि उठेर जनताको हितमा हुनेखालका योजना आफूले निर्माण गरेको दाबी गरेका छन् ।

जनताका गुनासा सुन्ने र सोही अनुरूपका योजना निर्माण गरेर देशको विकास गर्ने संकल्प चुनाराको छ । प्रविधिमैत्री विकास आफ्नो चुनावी ऐजेन्डा रहेको उनले सुनाए । नागरिकले समेत दलीय व्यवस्थालाई बहिस्कार गरिरहेको भन्दै उनले स्वतन्त्र रूपमा काम गर्नेलाई यो पटक अवसर दिने विश्वाससमेत व्यक्त गरेका छन् । पश्चिम सुर्खेतको विकासका लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर जनाए ।

सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट जेन–जी पुस्ताका कृष्ण खत्री पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । राजनीतिसहित राज्यका सबै निकायहरूमा युवा पुस्ताको प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले प्रतिनिधिसभाको चुनाव लड्ने निर्णय लिएका हुन् । खत्रीको चुनावी एजेन्डामा प्रविधिलाई विशेष जोड दिएको देखिन्छ । प्रविधिको उपयोगले नै समृद्ध मुलुक बनाउन सकिने उनको विश्वास छ ।

सुर्खेतमा कृष्ण, रमेश र उदिरामजस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर नै स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको छ । यस पटक नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै एक हजार एक सय ३१ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक व्यक्तित्वदेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार, युवा अभियन्ता तथा ‘जेन–जी’ युवासम्म स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।

फागुन २१ को निर्वाचनमा ६८ दलले निर्वाचनमा भाग लिँदा एक हजार एक सय ३१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, जुन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी धनुषा–१, धनुषा–३ र सिरहा–३ परेका छन्, जहाँ प्रत्येक क्षेत्रमा २९ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशगत रूपमा पनि मधेशमै सबैभन्दा धेरै पाँच सय ५४ जना चुनावी मैदानमा छन् भने कर्णालीमा सबैभन्दा कम १२ जना मात्र स्वतन्त्र उम्मेदवार दर्ता भएका छन् । एक सय ६५ क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छैन । यसपटक तीन सय ८८ महिला उम्मेदवार बन्दा स्वतन्त्र एक सय ५७ जना छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पार्टीबाट टिकट नपाएकादेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार तथा जेन–जी युवासम्म छन् ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी, जनकपुरधामजस्ता महŒवपूर्ण स्थानीय तहको प्रमुखसहित तीन सय ८४ पदमा विजयी भएसँगै स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढ्दो छ । अघिल्लो पटक स्वतन्त्रबाट उम्मेदवार बनेका फेरि दलमा आवद्ध भएर चुनावी मैदानमा होमिएका छन् ।

प्रकाशित मितिः   १४ माघ २०८२, बुधबार १४:१०