कर्णालीमा एमाले–प्रलोपा गठबन्धन

सुर्खेत: कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । प्रदेशका १० जिल्लाहरूमध्ये हुम्ला र जुम्लाबाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो ।

दुई पार्टीबीचको तालमेल सहमतिमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् । हुम्लामा एमालेका दल फडेरा र प्रलोपाका जटिल कार्की उम्मेदवार छन् । यीबाहेक कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिष्ट पार्टीका डा. दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र रास्वपाका टासी ल्हाजोम उम्मेदवार छन् ।

यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार छन् । यी बाहेक कांग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाका विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतलगायत उम्मेदवार छन् ।

सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई प्रलोपाले समर्थन गर्ने छ भने रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ । रुकुम पश्चिममा प्रलोपाबाट जनार्दन शर्मा उम्मेदवार छन् । रूकुमपूर्वीमा सन्दिप पुन छन् । उनीहरू दुवै जनालाई एमालेले सघाउने भएको छ । हुम्ला र जुम्लामा भने एमाले र प्रलोपा दुवै दलका उम्मेदवार चुनाव लड्ने छन् ।

त्यसबाहेक बाहेकका कर्णालीका अरु सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमति भएको छ ।

प्रकाशित मितिः   १२ माघ २०८२, सोमबार १६:३४