विकास निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको बुधवारदेखि सुरु अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन् ।
उनले भने, ‘हाम्रोमा बाहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन ।’ मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भएपनि तालिका अनुसार काम नभएकोमा समेत उनले असन्तुष्टी व्यक्त गरे । कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन् । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नुपर्ने बताए । निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भइ स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे ।
मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए । उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा प्रमुख सचिव वीरेन्द्र कुमार यादवसहित सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । जसमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।
प्रकाशित मितिः ८ माघ २०८२, बिहीबार १५:३२
साझा बिसौनी ।