आज उम्मेदवारी मनोनयन

सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज (मंगलवार) उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगले मंगलवार मनोनयन दर्ताको कार्यतालिका राखेको छ ।

मनोनयनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सम्बन्धित क्षेत्रका उम्मेदवारहरूले सोही कार्यालयबाट उम्मेदवारी दर्ता गर्नेछन् । कार्यतालिका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ । मनोनयन दर्ता भएपछि ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम छ । त्यसपछि दिउँसो ३ बजेदेखि भोलिपल्ट बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी बेलुकी ७ बजेसम्ममा नामावली प्रकाशन गर्ने भनिएको छ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान गर्ने कार्यक्रम छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ ।

मनोनयन दर्ताका लागि चुनावमा भाग लिने दलहरूले अधिकांश उम्मेदवारको टुँगो लगाइसकेका छन् । नेपाली कांग्रेसबाहेक अन्य सबैजसो दलले सोमवार साँझसम्म उम्मेदवार टुँग्याएका छन् भने आन्तरिक विवादका कारण कांग्रेसले केही ढिलाइ गरेको छ ।

प्रकाशित मितिः   ६ माघ २०८२, मंगलवार ०९:४६