जीर्ण बन्दै भेरी पुल, पुननिर्माणमा बिलम्व

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशद्वारको रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा गाडी गुड्ने क्षमतालगायतका हिसाबले पुलको आयु घटिरहेको छ । तर पुलको पुनर्निर्माण हुन सकेको छैन ।

रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल प्रदेश राजधानीको प्रवेशद्वार हो । पुल जीर्ण भइरहँदा पुल बनाउने योजना भने बन्न सकेको छैन । सरकारले यस विषयमा ठोस योजना निर्माण गर्न सकेको छैन । प्रत्येक वर्ष पुलको मर्मतका लागि बजेट भने विनियोजन हुने गरेको छ । अबको दुई–चार वर्षमा पुल नयाँ निर्माण नभए जोखिम थप बढ्ने जनाइएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले प्रत्येक वर्ष पुल मर्मतका काम गर्ने गरेको जनाएको छ । तर आउने जोखिमलाई ध्यानमा राखेर पुल निर्माणको योजना बन्न सकेको छैन ।

भेरी पुल निर्माण गर्ने विषयमा चर्चा भने भइरहेको छ । सडक विभागमा समेत पुल निर्माणको विषय उठाइएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । घटना घटिसकेपछि भन्दा घटना घट्नै नदिन यस विषयमा सडक विभागमा यस विषयमा छलफल गरिएको कार्यालयका इन्जिनियर रूपेश केसीले बताए । उनका अनुसार अबको तीन–चार वर्षमा पुल निर्माण नभए जोखिम हुनसक्छ । अहिले सामान्य मर्मतबाहेक अन्य काम नभएको उनले बताएका छन् । इन्जिनियर केसीले भने, ‘बर्सेनि सामान्य मर्मतका काम हुन्छन्, त्यसबाहे पुल मर्मतका लागि अन्य काम भएको छैनन्, पुल बनेको ४५ वर्ष पुग्यो, यसको क्षमता ५० देखि ६५ वर्षसम्म हो, फेरि गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।’

संघीय सरकारले पुल निर्माणका लागि प्रत्येक वर्षमा थोरै बजेट मात्र विनियोजन गर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले करिब ३० वटा पुलको मर्मत सम्भारको काम गर्दै आइरहेको छ । एउटा पुललाई कम्तीमा दुई÷तीन लाखसम्म भाग पर्ने गरेर बजेट कार्यान्वयन गर्ने गरिएको इन्जिनियर केसीले बताए । पुल मर्मतका लागि समेत सरकारले पर्याप्त बजेट विनियोजन गरेको छैन ।

सरोकारवालाहरूले समेत जीर्ण बन्दै गइरहेको पुलको विषयमा चिन्ता व्यक्त गर्न थालेका छन् । पूर्वाधार केन्द्रित कार्यक्रममा बोल्ने अधिकांशले भेरी पुलको बारेमा चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । वीरेन्द्रनगरका स्थानीय कुलदेव भट्टराईले सरकारले भेरी नदीमा भरपर्दो नयाँ पुल निर्माण गर्नुपर्ने बताए । अहिले रहेको पुललाई वैकल्पिकरूपमा प्रयोग गर्दै नयाँ स्थान छनोट गरेर अर्को पुल निर्माणको काम थाल्नुपर्ने उनको सुझाव छ । संरचनामा क्षति भएपछि मात्र निर्माण थाल्ने सरकारको प्रवृति रहेको भन्दै उनले नागरिकले समेत सरकारलाई झक्झकाउनु पर्ने जनाए ।

भेरी नदीमा बाढीको खतरा पनि रहेको छ । जलसतहले सतर्कता तह पार गर्दा पुललाई नै धक्का पुग्ने गरेको छ । कतिपय अवस्थामा वर्षा याममा आउजाउ गर्न समेत जोखिम हुने गरेको छ । तत्काल नै सरकारले योजना निर्माण गरेर पुल निर्माणमा चासो दिनसके आगामी दिनमा पश्चाताप नहुने स्थानीय निर्मल सापकोटाले बताए । उनले दीर्घकालीन जोखिमबाट बच्नका लागि भेरी निर्माण गर्नुको विकल्प नरहेको जनाउँदै विशेष योजना निर्माण गरेर पुलको अध्ययनको काम थाल्नुपर्ने जनाए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ल्याएको खण्डमा कार्यान्वयन गर्ने गरी योजना बनाइराखिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अहिले माथिल्लो तहमा यस विषयमा कुरा पु¥याउने काम भइरहेको छ । राजनीतिक दलका प्रतिनिधिहरले पनि यस विषयमा चासो दिएको पाइँदैन । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार भइरहँदा यस्ता विषयले प्राथमिकता पाएका छैनन् । भेरी पुलमा अहिले दैनिक सयाँै गाडी गुड्छन् । संरचना दिनप्रतिदिन जीर्ण बनिरहेको छ ।

प्रकाशित मितिः   ६ माघ २०८२, मंगलवार ०५:०५