बाघको त्रास
सुर्खेतका दक्षिणी भेगका थुप्रै बस्ती बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज क्षेत्रका बस्तीमा पछिल्ला वर्षहरुमा बाघको आक्रमण बढेको छ । बाघको आक्रमणबाट नागरिकहरू घाइते हुनुका साथसाथै ज्यानै गुमाउने घटनासमेत भइरहेका छन् । जसका कारण बस्तीहरूमा बाघको त्रास बढेको छ । यो क्रम पछिल्लो समय अझ बढेको छ । पुस २२ गते मंगलवार सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानी क्षेत्रमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भयो । वडा नं. ५ गेरुवानीकी ५७ वर्षीय गंगादेवि सारुलाई बाघले आक्रमण गरेको थियो । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्णरूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको थियो ।
यस्तै पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि बाघकै आक्रमणबाट मृत्यु भयो । सल्यानको कालिमाटी, सुर्खेतको भेरीगंगाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । त्यसको तीन दिनपछि पुस २९ गते मंगलवार कालिमाटीकै ८ नम्बर वडामा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई बाघले आक्रमण ग¥यो । उनी घाइते भए । यसरी एकपछि अर्को गर्दै बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा त्रसित बनेका छन् । पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको र मानिसहरूलाई आक्रमण गरिरहेको छ । जसका कारण निकुञ्ज क्षेत्रका नागरिकमा बाघको त्रास बढेको स्थानीयहरू बताउँछन् । भेरीगंगामा एक महिलाको आक्रमण भइ मृत्यु भयो भने बाघले दुई वटा घर पालुवा गाई–गोरुलाई समेत आक्रमण गरेर मारेको छ । निकुञ्ज आसपासका बस्तीहरूमा हरेक वर्षजस्तो मानिसहरू बाघका आक्रमण पर्ने गर्दछन् । कहिले गाइबस्तु त कहिले मानिस नै बाघबाट आक्रमणमा पर्ने गरेका हुन् । बाघको आक्रमणबाट केहीवर्षअघि भेरीगंगा नगरपालिका–५ गेरवानीमा दुई जनाको ज्यान गएको थियो । यसरी बर्सेनि रूपमा मानिसहरूलाई बाघले आक्रमण गरिरहेको छ ।
बाघले आक्रमण गरी आतंक फैलाएको भन्दै भेरीगंगा नगरपालिकाले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्ने जनाएको छ । मध्यवत्र्ती क्षेत्र स्थानीय सरकारको मातहतमा हुनुपर्ने माग स्थानीयले राखेका छन् । दिनप्रतिदिन बाघले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । घरबाहिर निस्कन समेत त्रसित बनिरहेका छन् । अहिले मानवीय संरक्षणका लागि के गर्न सकिन्छ भनेर विभिन्न सरोकारवालाहरूसँग छलफल भइरहेको छ । जोखिम बस्तीलाइ स्थान्तरण गर्नेगरी छलफल समेत भइरहेको छ । निकुञ्ज नजिकका बस्तीहरूमा बन्यजन्नुको आक्रमणबाट बच्न जोखिम न्यूनिकरणको योजना आवश्यक देखिएको छ ।
प्रकाशित मितिः ५ माघ २०८२, सोमबार ०५:०३
सम्पादकीय ।