कर्णालीमा मह महोत्सव

सुर्खेत: कर्णाली प्रदेशका कृषकहरूले उत्पादन गरेको मह प्रवद्र्धन गर्नका लागि सुर्खेतमा दोस्रो प्रादेशिक मह महोत्सव आयोजना गरिएको छ । चौँथो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ कर्णालीले महोत्सव आयोजना गरेको हो । बिहीवारदेखि सुरु भएको महोत्सवमा कर्णालीका विभिन्न जिल्लाका किसानहरूले मह तथा रैथाने कृषि वस्तुहरूको ५० वटा स्टल राखेका छन् ।
महोत्सवको उद्घाटनका गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जैविक विविधता बचाउन जरुरी रहेको बताए । मानविय क्रियाकलापहरूले जैविक विविधतामा असर परिरहेको भन्दै उनले यसको संरक्षणमा सबैजना लाग्नुपर्नेमा जोड दिए । विषादी र रासायनिक मलको जथाभावी प्रयोगले मौरी संकटमा रहेको उल्लेख गर्दै मन्त्री शाहले मौरीको जीवन जोखिममा परे मानव अस्तित्व पनि खतरामा पर्ने जिकिर गरे । उनले कर्णाली प्रदेश सरकारले कृषि विकास रणनीति तयार पारेको र त्यसमा पर्यावरणीय कृषिलाई जोड दिइएको जानकारीसमेत उनले दिए ।
त्यसैगरी मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले रैथान उत्पादनले पोषण सुरक्षा गर्नुका साथै, खाद्य असुरक्षा घटाउने बताए । जलवायू परिवर्तन भइरहेको अवस्थामा रैथाने बालीमा सहन सक्ने क्षमता बढी हुने भएकाले रैथाने बाली बचाउनुपर्नेमा उनले जोड दिए । कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले मौरीको संरक्षण गर्नुपर्ने बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र ढकालले किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । लिवर्डका कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कर्णाली प्रदेशमा भौगोलिक विकटता, जलवायू परिवर्तन, सीमित बजार पहुँच र आधुनिक कृषि प्रणालीको दबाबको कारण स्थानीय बाली र परागसेचकहरू जोखिममा परिरहेको बताउँदै संरक्षणका लागि सरकार संघसंस्था निजी क्षेत्र र कृषकहरूबीच सहकार्य आवश्यक रहेको औंल्याए ।
मह महोत्सवको सहआयोजकमा कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायत विभिन्न संघ संस्था छन् भने इन इलम परियोजना हेल्भेटास नेपाल महोत्सवको प्रबद्र्धक रहेको छ ।
कर्णालीमा करिब १२ हजार घारमा मौरी पालन हुँदै आएको मौरीपालक महासंघको दावी छ । महोत्सवले मह र रैथाने बालीको बजारीकरणमा सहयोग पुग्नुका साथै मौरीपालक किसानहरूमा उत्साह थपिने अपेक्षा रहेको आयोजक मौरीपालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले बताए । माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कर्णालीका दशै जिल्लाको मह एकै ठाउँमा अवलोकन तथा किनबेच गर्न पाइनेछ । साथै मौरीपालनसम्बन्धीको जानकारी तथा प्रविधिहरूको अध्ययन अवलोकन, रैथाने बिउ, तरकारी एवम् अन्न बालीबारे अध्ययन–अवलोकन र कृषिसँग सम्बन्धित पुराना औजार तथा सामग्रीहरूको अवलोकन पनि गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रकाशित मितिः २ माघ २०८२, शुक्रबार ०९:१०
साझा बिसौनी ।