नगर गौरवको अर्को आयोजना: मंगलगढीमा आकाशे पुल
सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुल निर्माण थालिएको छ । यात्रुहरूको सहजता र सडक दुर्घटना न्युनीकरण गर्न आकाशे पुल निर्माण गर्न लागिएको हो ।
वीरेन्द्रनगर गौरवको आयोजनाअन्तर्गत आकाशे पुल निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । यो वर्ष पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । ठेक्का सम्झौता भइ काम अघि बढाइएको नगरपालिकाले जनाएको छ । आगामी जेठसम्म काम सक्नेगरी आकाश पुल निर्माणको काम सुरु भएको नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले जानकारी दिए ।
२०८२ पुस २६ देखि २०८३ जेठ ३१ गतेसम्म निर्माण गरिसक्नेगरी सम्झौता गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र अर्जुन कन्स्ट्रक्सन काठमाडौंबीच ठेक्का सम्झौता गरिएको हो । भ्याटबाहेक ९९ लाख ९३ हजारमा आयोजनाको ठेक्का सम्झौता गरिएको इन्जिनियर ढकालले बताए । यो वर्ष पाइलट प्रोजेक्टको रूपमा उक्त आयोजनाको काम अघि बढाइएको भन्दै उनले आगामी वर्षमा पुल सफल रूपमा प्रयोगमा आएको खण्डमा बर्सपार्क जाने बाटोमा समेत आकाशे पुल निर्माणको योजना राखिएको जनाए ।
वीरेन्द्रनगरमा पहिलो पटक आकाशे पुल निर्माण थालिएको हो । यसको सफल रूपमा प्रयोग भएको खण्डमा अन्य स्थानमा पनि निर्माण गरिने जनाइएको छ । दोस्रो चरणमा यरीचोक, एयरपोर्ट चोकलगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिने योजना नगरपालिकाको छ ।
वीरेन्द्रनगरमा दिनहूँजसो सडक दुर्घटना हुने गरेको छ । ट्राफिक नियमको बारेमा पर्याप्त जानकारी नहुनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले दिनहूँजसो सडक दुर्घटना हुने गरेको हो । यसलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती पनि जडान गरेको छ । अहिलेसम्म नगरपालिकाले दुई सय ३२ वटा ट्राफिक बत्ती जडान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ बाट ट्राफिक बत्ती जडानको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष पनि एक सय २० वटा ट्राफिक बत्ती जडान गर्न लागिएको नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले बताए । रेडियो नेपालदेखि बाङ्गेसिमल, धुलियाबीटदेखि सुब्बाकुनासम्म ट्राफिक बत्ती जडान गर्न लागिएको ढकालले जानकारी दिए । एक करोड १८ लाखमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको उनको भनाइ छ । सन वए सानो भ¥याङ काठमाडौंसँग एक करोड १८ लाखमा नगरपालिकाले ठेक्का व्यवस्थापन गरेर ट्राफिक बत्ती जडान थालिएको जनाइएको छ ।
प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरू अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आइटी जोनजस्ता शहरी पूर्वाधार निर्माणका काम धमाधम रूपमा अघि बढाइएको नगरपालिको जनाएको छ ।
वीरेन्द्रनगरले ‘स्मार्ट सिटी’ को लक्ष्य पछ्याउँदै गएको छ । यहाँको भौतिक तथा प्राविधिक विकासले गति लिन थालेको छ । स्मार्ट सिटीका रूपमा विकास गर्न वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग जोड्न थालिएको छ । स्मार्ट सिटीका लागि सहरका क्रियाकलाप तथा गतिविधिीहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जसअन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्न थालिएको छ । यस्तै नगर क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ । सवारी आवागमनलाई सहज बनाउन सडक निर्माण, विस्तार र स्तरोन्नति कार्य बढाइएको छ । यस्तै स्मार्ट सिटीका लागि आवश्यक पर्ने अन्य आधारभूत पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मितिः २८ पुष २०८२, सोमबार ०५:०५

साझा बिसौनी ।