सुर्खेतमा नयाँ चरा फेला

सुर्खेत: सुर्खेतको बुलबुलेमा नयाँ चरा फेला परेको छ । कृषि तथा वन विश्वविद्यालय हेटौंडामा स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले बुलबुले तालमा नयाँ चरा रातोकण्ठे डुबुल्की चरा फेला पारेका हुन् । यो नेपालमा नयाँ चरा भएको बताइएको छ ।

शैक्षिक भ्रमणका क्रममा पुगेका उनीहरू तालमा नयाँ चरा देखपछि फोटो भिडियो खिचेका थिए । समुन्द्र सतहदेखि ६ सय ५६ मिटर उचाइमा रहेको तालमा यसअघि कहिल्यै नदेखेको नयाँ चरा देखेपछि फोटो र भिडियो लिएका उनीहरूले चराका बारेमा थप अध्ययन र अनुसन्धान गर्न पन्छी संरक्षण संघ (बीसीएन) मा पठाएका थिए । बीसीएनले चराका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ र विशेषज्ञसँग सल्लाह, सुझाव र परामर्श लिएर नेपालका लागि नयाँ भएको पुष्टि गरेको हो ।

उक्त चराको तस्बिर विद्यार्थीद्वयले गत असोज २९ गते बिहान ११ बजेतिर देखेर खिचेका थिए । बीसीएनले उक्त चराको रूपरंग हेरेर नेपाली नाम रातोकण्ठे डुबुल्की चरा दिएको हो । चरा पहिचान गर्न समय लागेकाले ढिलो घोषणा गरिएको हो ।

अब नेपालमा चरा पाइने भनेर अभिलेख भएको चराको संख्या बढेर नौ सय तीन पुगेको छ । नेपालमा डुबुल्की चराका प्रजातिको संख्या बढेर चार पुगेको छ । विश्वमा डुबुल्की चराका २२ प्रजाति पाइन्छन् । यो फिरन्ते चरा हो । कहिलेकाहीँ बाटो बिराएर देखिने चरालाई फिरन्ते भनिन्छ । यात्राका क्रममा रोकिएर बसेको पनि हुन सक्छ । आक्कलझुक्कल देखिने चरा फिरन्ते हुन् । मुलुकका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको विद्यार्थी गुरागाईंले बताए ।

यो चरा उत्तर अमेरिका, युरोप र उत्तरी एसियामा पाइन्छ । भारत, पाकिस्तान र बंगलादेशमा पनि यो चरा फिरन्तेका रूपमा अभिलेख भएकोछ । नेपाल पन्छीविद् संघले पनि नेपालका लागि यो चरा नयाँ भएको पुष्टि गरेको छ ।

नयाँ चराको अभिलेखसँगै कर्णाली प्रदेश पनि चरा अध्ययन अनुसन्धानको गन्तव्य बन्दै गरेको चराविद् हेमसागर बरालले बताए । ‘२०२५ मै विश्वमै दुर्लभ कालीकण्ठे सारसले बच्चा कोरलेको रेकर्ड हुम्लामै गरिएको थियो उनले भने अहिले फेरि रातोकण्ठे डुबुल्की चरा देखिएको छ । यसले कर्णालीमा चरा पर्यटनको सम्भावना बढेर गएको छ,’ उनले भने ।

प्रकाशित मितिः   १९ पुष २०८२, शनिबार ०५:०१