कर्णाली महिला घोषणापत्र जारी

सुर्खेत: कर्णाली महिला सम्मेलनले आठ बुँदे घोषणापत्र जारी गरेको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको सम्मेलनबाट सबै क्षेत्रको नेतृत्वमा महिला सहभागिता सुनिश्चित गर्न घोषणापत्र जारी गरिएको हो ।

नागरिक समाज संस्थाको तर्फबाट पहिलो पटक कर्णाली महिला सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा कर्णाली प्रदेशका दशवटै जिल्लाहरूबाट महिला जनप्रतिनिधि, अधिकारकर्मी र किशोरीहरूको सहभागिता रहेको थियो ।

विषयविज्ञहरूले विभिन्न विषयमा प्रस्तुत गरेका कार्यपत्रमाथि सामुहिक छलफल गरिएको थियो । सामुहिक छलफलपछि लैङ्गिक उत्तरदायी शासन प्रणाली, विकासमा लैङ्गिक समावेशिता, नेतृत्व तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता र न्यायमा पहुँच, महिलामाथि हुने लैङ्गिक हिंसा, भेदभाव तथा कर्णालीको अवस्थाका बारेमा समेटेर घोषणा तयार पारिएको छ ।

जसमा लैङ्गिक उत्तरदायी शासन प्रणाली स्थापित गर्नुपर्ने, विकासमा लैङ्गिक समावेशिता हुनुपर्ने, राज्यका सबै संरचनामा महिलाको समानुपातिक तथा समावेशी प्रतिनिधित्वको संवैधानिक व्यवस्था कार्यान्वयन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विशेष अधिकारको व्यवस्थाको माग गरिएको छ ।

त्यसैगरी घरेलु हिंसा (कसुर र सजाय) ऐन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनजस्ता लैङ्गिक मैत्री कानुन कार्यान्वयन,अन्तर्राष्ट्रिय सन्धि–सम्झौता प्रति नेपालको प्रतिवद्धता, संघ, प्रदेश र स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट प्रणाली लागू गर्नुपर्ने, नीति, योजना र कार्यक्रममा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण हुनुपर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा नीति निर्माण र समन्वय, राष्ट्रिय महिला आयोगमार्फत अधिकार संरक्षण र उजुरी सुनुवाइ, स्थानीय तहमा फोकल व्यक्ति÷समिति गठन हुनुपर्ने पनि घोषणापत्रमा समेटिएको छ ।

निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउने कानुनी व्यवस्था, शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय सेवामा महिलाको समान पहुँचको व्यवस्था, लैङ्गिक हिंसा पीडितका लागि आश्रय गृह र मनोसामाजिक सेवा, लैङ्गिक विभाजित तथ्याङ्क संकलन तथा प्रयोगको व्यवस्था, जनप्रतिनिधि तथा कर्मचारीका लागि लैङ्गिक संवेदनशीलता सम्बन्धी तालिम, लैङ्गिक भेदभाव र हिंसा अन्त्यका लागि सचेतनामूलक अभियान, लैङ्गिक उत्तरदायी शासन प्रणालीमा देखिएका अवरोधहरू हटाउनुपर्ने, प्रदेशस्तरीय नीति, ऐन र कार्यविधिलाई लैङ्गिक उत्तरदायी बनाउने तथा नियमित समीक्षा गर्नुपर्ने लगायतका विषय उठाइएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सम्मेलनले उठाएका मुद्दा सबैका साझा मुद्दा भएको बताइन् । उनले सम्मेलनबाट उठाइएका विषय पालिकाका तर्फबाट कार्यान्वयन गर्न ध्यान दिन प्रतिवद्धता पनि जनाइन् ।
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था वामका अध्यक्ष देवी पौडेलले जारी घोषणापत्रले सरकारको ध्यानाकषर्ण गर्न खोजिएको बताइन् । सोमवारदेखि सुरु भएको सम्मेलन मंगलवार सकिएको छ ।

प्रकाशित मितिः   ९ पुष २०८२, बुधबार ११:०७