भूकम्प पीडितको तेस्रो हिउँद पनि टहरामै
सुर्खेत: तीन वर्षअघिको भूकम्पबाट पीडितहरू अझै टहरामा नै बस्न बाध्य भएका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले घरबास गुमाएकाहरू तीन वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य भएका हुन् ।
२०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पले जाजरकोट र रूकुमपश्चिममा एक सय ५४ जनाको ज्यान गएको थियो । अहिले भूकम्पबाट बाँचेकाको पनि बिचल्ली भएको छ । पुनर्निर्माणमा सरकारले ध्यान नदिँदा यस्तो अवस्था आएको हो । सुरुमा उद्वार, राहत र अस्थायी आवास निर्माणमा तीव्रता दिएको सरकारले पुनस्र्थापना र पुनर्निर्माणमा गरेको ढिलाइले अझै पनि कतिपय नागरिकले अस्थायी आवासबापतको दोस्रो किस्ताको रकमसम्म पाउन नसकेको गुनासो गरिरहेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ का रत्नबहादुर रावतको परिवार पनि सरकारले दिएको अस्थायी आवासबापतको रकमबाट बनेको एक कोठे टिनको छानोमा कठ्याग्रिंदा रात काट्न बाध्य छ । उनको परिवारले अहिलेसम्म राहतको दोस्रो किस्ता पाएको छैन । अस्थायी आवासका लागि पहिलो किस्ता पाएको भएपनि दोस्रो किस्ता नपाएको रावतले गुनासो गरे । भूकम्प गएयता घर बस्नलायक नभएपछि सिँगो गाउँ नै सुकुमवासी बनेको स्थानीयको गुनासो छ ।
हिउँद लागेसँगै यस वर्षको चिसोयाम कसरी काट्ने भन्ने गाउँभरि चिन्ता बढ्न थालेको सोही वडाकी रामकली थापाले बताइन् । उनले अस्थायी टहराभित्र शीतले भिजेका सिरक ओढेर रात काट्न बाध्य हुनु परेको दुःखेसो पाखेकी छन् । सरकारले दिएको ५० हजार रूपैयाँले टहरा बनाएर बसेको उनले सुनाइन् ।
त्यसैगरी रामबहादुर रावतले भूकम्पले घर भत्काएपछि टहरामै बस्दै आएको बताए । उनले भने, ‘तीन वर्षसम्म पनि दुःख उस्तै छन्, सरकारले केही व्यवस्थापन गर्न सकेको छैन, सार्वजनिक पूर्वाधार निर्माण भए, व्यक्तिको जीवनस्तर उस्तै छ ।’ विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक संरचना निर्माण गरिएपनि नागरिकका बासस्थान बनिसकेका छैनन् ।
नलगाड नगरपालिका वडा नं. १ मात्र ८७ घरपरिवारले दोस्रो किस्तावापतको राहत रकम पनि पाएका छैनन् । अधिकांश नागरिक टहरामा नै बस्न बाध्य बनेको वडाअध्यक्ष धनबहादुर महरले बताए । सरकारले नागरिकका लागि दोस्रो किस्ता दिन ढिलाइ गर्दा समस्या भएको उनको भनाइ छ ।
नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले आफ्नो पालिकाका केही भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउन बाँकी रहेको बताए । उनले संघीय सरकारले अझै पालिकाका करिब नौ सय परिवारलाई दोस्रो किस्ताको रकम दिन बाँकी रहेको उनले जानकारी दिएका छन् । सरकारी संरचना निर्माणको कामले भने तीव्रता पाएको नगरप्रमुख रावतले बताएका छन् । व्यक्तिका घर निर्माणमा विलम्ब हुँदा नागरिक अझैपनि टहरामा बस्न बाध्य बनेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा गएको भूकम्पबाट धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि तीनवर्ष बितिसक्दा पनि टहरामा बस्न बाध्य बनेका हुन् । २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार जाजरकोटमा एक सय एक र रूकुममा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको हो । घाइते हुनेहरूमा जाजरकोटका एक सय ५८, रूकुमपश्चिमका दुई सय दुई, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी तीन सय ७२ घाइते भएका छन् । पुनर्निर्माणमा ढिलाइ हुँदा नागरिकलाई सास्ती भइरहेको छ ।
प्रकाशित मितिः ६ पुष २०८२, आईतवार ०५:००

साझा बिसौनी ।