काँक्रेविहारमा पर्खाल लगाउन म्याद थप

सुर्खेत: म्याद थप गरेर काँक्रेविहार क्षेत्रको पर्खाल निर्माणको काम अघि बढाउन लागिएको छ । अहिलेसम्म पर्खाल निर्माणको ४५ प्रतिशत काम सकिएको छ । आधा भन्दा बढी काम बाँकी छ । विविध कारणले पर्खाल निर्माणको काममा ढिलाइ भइरहेको थियो । अब भने अघि बढाइने भएको हो ।

पहिलो चरणमा २०७९ कार्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर बीचमै विवाद उत्पन्न भएर अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । त्यसयता एकपटक म्याद थप गरेर काम अघि बढाइएको थियो । पछिल्लो पटक आर्थिक वर्ष २०८०/०८१ देखि २०८१/०८२ सम्म एक वर्षका लागि म्याद थपिएको थियो । अहिले पुनः एक वर्षका लागि आयोजनाको म्याद थप गर्न लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । डिभिजनल वन अधिकृत राधाकृष्ण दासले म्याद थपेर पर्खाल निर्माणको काम अघि बढाउन लागिएको बताए ।

२०८३ असारसम्म म्याद थप गर्न लागिएको हो । २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई ५/७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेश दिएसँगै गतवर्षबाट काम अघि बढाइएको हो । २०७९ मंसिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो ।

हालसम्म ४५ प्रतिशत मात्र काम भएको छ । अझै ५५ प्रतिशत काम बाँकी छ । हालसम्म वित्तीय प्रगति ३३ प्रतिशत हासिल भएको छ । २०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ कम्पाउण्ड वाल (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महाविर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्जर सुर्खेतसँग कामको ठेक्का सम्झौता गरेको थियो । ११ करोड ८५ लाख ४२ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको हो । काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिर क्षेत्रमा ‘कम्पाउण्ड वाल’ निर्माण गरिनेछ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि २१ करोड लागत अनुमान छ । काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । वन अधिकृत दासका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार बन्ने भएको छ । अहिलेसम्म आठ सय १९ वटा पिल्लर निर्माण भएका छन् । जम्मा १५ सय ६६ वटा पिल्लर निर्माण हुनेछन् । वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको काँक्रेविहार वन नेपालकै पहिलो संरक्षित वन हो । सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर उल्लेख गरिएको छ । उक्त क्षेत्रको संरक्षणका लागि कम्पाउन्डिङ (पर्खाल) निर्माण गर्न लागिएको छ ।

यस्तै, कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहारमा अपाङ्गता भएका व्यक्तिले समेत सहज अवलोकन गर्ने गरी पूर्वाधार निर्माण गरिएको छ । पैदलमार्ग निर्माणसँगै अपाङ्गता भएका व्यक्तिलाई सहज भएको छ । गत आर्थिक वर्षमा ठेक्का सम्झौता गरेर चौतारासहितको पैदलमार्ग निर्माण गरिएको हो । मन्दिर बाहिर चार सय ५० मिटर तथा मन्दिर भित्र ९० मिटर अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको हो । दुई वटा चौतारा र पाँच सय मिटर पैदलमार्ग निर्माणका लागि ४० लाख रूपैयाँमा ठेक्का सम्झौता गरिएको गरिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०८२, आईतवार १०:२३