मैत्रीपूर्ण ह्विलचियर बास्केटबल हुँदै

सुर्खेत: कर्णाली र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल सञ्चालन गरिने भएको छ । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ सुर्खेतले बुधवार वीरेन्द्रनगरमा मैत्रीपूर्ण बास्केटबल आयोजना गरेको हो ।

खेल वीरेन्द्रनगरस्थित रंगशालामा सञ्चालन गरिने जनाइएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघका सल्लाहकार दिव्यराज खड्काले खेलकुदका माध्यमबाट सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको जानकारी दिए । खेलकुदको माध्यमबाट अपांगता भएका व्यक्तिहरूका लागि समाजमा हुने अवरोधहरू हटाइ सकारात्मक सन्देश दिन खोजिएको उनले जनाए ।

कर्णालीको ह्विलचियर बास्केटबल टिम कप्तान धर्म रावल र सुदूरपश्चिमका टिम कप्तान इन्द्र पालीले पनि प्रतियोगिताले सकारात्मक सन्देश दिने बताए । ‘पांग्राको उडान’ अभियानअन्तर्गत स्पाइनल इन्जुरी संघले सेभ द चिल्डे«नसँगको साझेदारीमा शारिरिकरूपमा अपांगता भएका व्यक्तिहरूलाई ह्विलचियर बास्केटबल खेलमार्फत सशक्तिकरणका गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

यसैबीच अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसकै अवसरमा प्रभातफेरी पनि गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशले दिवसको अवसर पारेर बुधवार वीरेन्द्रनगरमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।

वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट ¥याली लिएर घण्टाघरमा कोणसभा गरिने छ । महासंघका अध्यक्ष विष्णुप्रसाद शर्माले प्रभातफेरी सहित सचेतना अभिवृद्धिका लागि कोणसभा गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मितिः   १७ मंसिर २०८२, बुधबार १६:४०