सभाहललाई पूर्णता देऊ

लामो समयदेखि रोकिएको वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गतवर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो । यो वर्ष सिट कुर्सी राख्ने काम गर्न लागिएको छ । आर.आर कन्ट्रक्सन सुर्खेतसँग ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो । ६३ लाख १४ हजारमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत सिट कुर्सी राख्ने काम हुनेछ । सात सय वटा सिट कुर्सी राखिने छ ।

सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तिरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको हो । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको थियो । ठेक्का रद्द र पुरानो कामको भुक्तानी दिएसँगै दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइएको छ । यसअघि २०७८ मा मजदुर पी.एस. जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीसँग ठेक्का रद्द गरिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । कम्पनीले करिब तीन करोड बराबरको काम गरिसकेको बताइएको छ । सिटी हल निर्माणअन्तर्गत ४५ प्रतिशत काम बाँकी छ । यो वर्ष मुख्य कामको रुपमा कुर्सी राख्ने काम गरिनेछ । अहिले सबै प्रक्रिया पुरा गरेर कुर्सी ल्याउने काम भइरहेको जनाइएको छ । पहिलो चरणको काम २३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको थियो । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो ।

नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ । एकातर्फ सिटी हल निर्माण सम्पन्न भएको छैन भने अर्कोतर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइ व्यवस्थापनलगायतका काम पूर्ण रुपमा भएका छैनन् । सात सय ८० जना अट्ने क्षमताको सभाहल, एक सय ५० व्यक्ति अट्ने दुुई वटा बैठक कक्ष निर्माण भइसकेका छन् । सिटी हलको डेकुरेसनको काम बाँकी रहेको छ । सभाहल, बैठक कक्षभित्र साउन्डबक्स जोड्न बाँकी छ भने आवश्यक कुर्सी व्यवस्थापन गनुपर्नेछ ।

प्रकाशित मितिः   १७ मंसिर २०८२, बुधबार १३:२१