कर्णालीमा २६ हजार मतदाता थपिए

सुर्खेत: कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका हुन् ।
प्रदेशभर दश लाख ६ अजार आठ सय ३४ पुराना मतदाता थिए । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि २६ हजार बढी नयाँ मतदाता थप भएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मंसिर ५ गतेसम्म रहेको थियो । समय सकिएसँगै नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताए । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत २६ हजार ६ सय ३५ मतदाता थपिएको उनले जानकारी दिए ।
यसअघि कर्णाली प्रदेशमा दश लाख ६ हजार आठ सय ३४ पुराना मतदाता रहेका थिए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या थप बढेको हो । थपिएको समयमा गरेर कर्णालीमा २६ हजार नयाँ मतदाता बनेका छन् । गत कार्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मंसिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।
सुर्खेतमा सात हजार नयाँ मतदाता थप भएका छन् । नयाँ मतदाताको रूपमा सात हजार तीन सय ६२ नयाँ मतदाता थप भएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए । यसअघि पुराना दुई लाख ४४ हजार ६ सय ७६ मतदाता रहेका थिए ।
त्यसैगरी रुकुमपश्चिममा दुई हजार आठ सय ४० नयाँ मतदाता थपिएका छन् । पुराना मतदाता एक लाख चार हजार दुई सय ३८ थिए । डोल्पामा एक हजार सात जना नयाँ मतदाता थपिएका छन् । उक्त जिल्लामा २२ हजार नौ सय ८५ पुराना मतदाता थिए । जुम्लामा तीन हजार ३६ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाता ६७ हजार सात सय ४४ थिए ।
यस्तै, मुगुमा सात सय ७४ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाता ३८ हजार ९१ थिए । हुम्लामा आठ सय २४ नयाँ मतदाता थपिएका छन् । पुराना ३३ हजार तीन सय आठ थिए । कालिकोटमा १७ सय ७६ नयाँ मतदाता थपिएका छन् । पुराना ७२ हजार ८० मतदाता थिए । दैलेखमा ३६ सय २६ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाता एक लाख ५९ हजार आठ सय ६५ जना थिए ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्नेमा युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेन–जी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा युवाहरूको जोड छ । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यस पटक भने आशावादी देखिएका छन् ।
मतदाता नामावली दर्ता गराउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जेन–जी आन्दोलनपछिको निर्वाचन भएकाले युवा मतदाता बन्न इच्छुक देखिएका हुन् । १७ देखि २५ वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढी युवाले मतदाताका लागि आवेदन दिएको निर्वाचन अधिकारी गुरुङले बताए । यस पटक नामावली दर्ता गराउन आउनेमा युवाको संख्या धेरै पाइएको उनले जानकारी दिए । यो पटक युवाहरूले निर्वाचनलाई नजिकबाट नियालेका छन् भने सोही अनुरूप प्रचार–प्रसारमा पनि लागेका छन् ।
प्रकाशित मितिः १२ मंसिर २०८२, शुक्रबार १०:५२
साझा बिसौनी ।