काव्य यात्रा

बनके एक हादसा बाजारमे आजाएगा
जो नहीं होगा ओ अखबारमे आजाएगा
चोर और चक्कोंकी करो कद्र
मालुम नहीं कौन कब कौनसी सरकारमे आजाएगा
राजनीति यति विद्रुप भयो कि सरकारमा चोर डाँका पनि सामेल भइरहेका छन्, अखबार पनि विश्वसनीय छैनन् र नभएका कुरा धेरै छाप्छन् भनेर लामो व्याख्या विश्लेषण गर्न जरुरी परेन । किनभने भारतीय प्रशिद्ध सायर राहत इन्दोरी साहेबका उल्लेखित चार पंक्ति नै काफी छन् बयान गर्न । चार पंक्तिलाई आधार मानी लेख्ने हो भने अनुच्छेद मात्र होइन, ग्रन्थ नै तयार हुन सक्छ । संक्षिप्तीमा पनि त्यस्तो ल्याकत राख्दछ काव्य पंक्तिले ।
यो सबैलाई थाहा छ की, मर्ने मान्छेले साथमा केही लैजान सक्दैन । नाङ्गै आइयाथ्यो नाङ्गै जाने हो, बाँचुन्जेली आफ्नो आफ्नो कर्म खाने हो, भन्ने ढंगका अनेकन भजन र गीतहरु गाइन्छन् गाउँघर जताततै । खाली हात जन्मेर मान्छे खाली हात नै मर्नुपर्छ भन्ने भनाइ प्रचलित छ समाजमा । ज्यादा लोभ लालच राख्ने जो–कोहीलाई कात्रोमा खल्ती हुँदैन है भनी कटाक्ष पनि गरिन्छ । यसको मतलब मरेका मान्छेले बिलकुल केही लान सक्दैन भन्ने नै हो । तर एकठाउँमा एकचोटि एउटा गजलकार मञ्चमा उक्लेर चिच्यायो, कसले भन्छ मर्ने मान्छेले केही लैजादैंन भनेर ? मेरा मरेका बाले आमाको सिंदुर लगे, चुरा पोते लगे सारा खुशी लगे । कुनै मर्ने मान्छेले त सर्वस्व लिएर जाँदारहेछन्, बाँच्नेलाई कंगाल बनाउँदा रहेछन् । उसको समर्थनमा बजेको कर्तलध्वनिले माहोल जुरुक्क उचाल्यो । दर्शक श्रोतालाई नाजवाफ मात्रै बनाएन उसले त सामाजिक मान्यतालाई पनि बदलिदिनेसम्मको चेष्टा पो ग¥यो ।
लक्षणा र व्यञ्जनाले भरिपूर्ण कतिपय कविता यस्ता हुन्छन् हाँसोको फोहरा छुटाइदिन्छन्, कहिले आँखामा आँसु बगाइ दिन्छन् । कुनै कविताले अवाक् पार्छन र मान्छेको मस्तिष्क नै हल्लाइ दिन्छन् । त्यसकारण कविता मनपर्छ । कविता छाम्न, नाप्न र ओजन लिन अँझ मनपर्छ । कथा लेखनमा नै विशेष रुचि राख्ने मेरो कलम कवितामा त्यति पोख्त नभए पनि केही कुराले मन छुँदा, लहड चल्दा भावना आउँदा लेखिन्छन् थोरथोरै सिर्जना । तर तिनी कविता हुन्छन् कि हुँदैनन् पाठक श्रोताले निफन्ने केलाउने गरिदिउन् भन्ने लाग्छ । यसो किन भनिएको हो भने पद्यमा लेखिएका कविता छन्दमा हुन्छन् लय हालेर वाचन गर्न पनि उपयुक्त हुन्छन् त्यसैले तिनलाई विशेष मानिन्छन् । तर पद्यमा लेख्नलाई आफ्नो सामथ्र्यले भ्याउन सकिरहेको छैन ।
कविता भनी गद्यमा लेखिएका सिर्जना साँच्चै कविता हुन कि होइनन् छुट्याउनै पर्ने हुन्छ । कविताको भाव बिम्ब मर्म धर्म केही छैन र फगत पाना भर्नका लागि मात्रै लेखिएका अक्षर लाई त कसरी कविता भन्न सकिन्छ र ? भाव, भङ्गी, बिम्बको प्रयोगबाट व्यङ्ग्य कसेर विकृति र विसंगतिमाथि चोटिलो प्रहार गर्दै गद्य शैलीमा कविता लेख्ने धुरन्धर कविहरु छन साहित्य फाँटमा । तिनका कविताले टोल समाजमा मात्र होइन कहिलेकाहीँ पद्धतिमा पनि खैलाबैला पार्छन् ।आमा तिम्रो नाम के हो भन्ने गद्य शैलीमा करिब ३५/३६ वर्षदेखि चिच्याइरहेकी छन् एउटी नारी कवि ।
आमा तिम्रो नाम के हो ?
हजुरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई आफ्नो परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ मताधिकार पाएँ
मेरो परिचयपत्रमा तिम्रो नाम लेखिएन
म नागरिक भएँ बाबुको नामबाट
म जागीरे भएँ बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?
कसैबाट सोधनी नगरेको
कतै उच्चारण गर्न नपरेको
तिम्रो नाम सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा तिम्रो नाम के हो ?
एउटी छोरीले आफ्नी आमाको नाम थाहा नपाउनु विडम्बना होइन ? थाहा छ भने किन सार्वजनिक हुँदैन ? जीवनलाई जसले निर्माण गरेर नौ महिना गर्भमा राख्यो, प्रसब वेदनाले जसको शरिरमा पहिरो गयो, जसले छाती चुसाएर अबोधको प्राण बचायो, खोइ त खोइ उसको नाम खोइ ? मथिङ्गलमा हलचल मच्चाउने यो कविता महिला जागरणका लागि ठूलो आन्दोलन हो । हाम्रो समाज, कानुन र सिङ्गो व्यवस्थामाथि छ यो प्रश्न कि, आमा तिम्रो नाम के हो ?
यस्तै कविताका प्रेरणाले मलाई पनि गद्य शैलीमा कलम चलाउन आँट गर्नेसम्म बनाएको हो । छन्दमा ढंग नभए पनि सकेसम्म अनुप्रास मिलाएर लेख्ने गरिएको छ कविता पंक्ति सिर्जनामा । आफ्नो लेखनको दृष्टिकोणबाट नाटक र कथा भन्दा धेरै कान्छो हो कविता । लामा छोटा प्रकाशित र अप्रकाशित गरेर ४० वटासम्म लेखिएका रहेछन काव्य रचना । यी मध्य किन किन मृत्युवरण विशेष लाग्छ । आफ्नो रचनाको आफै प्रशंसा गरेको अर्थ नलागोस्, यो त किमार्थ होइन । साहित्य समारोहमा मृत्युवरण धेरै चोटि पाठ गरेर मात्र होइन ठाउँ–ठाउँमा साथीसँग पनि पटकपटक यसको चर्चा परिचर्चा भएको छ । खै किन त्यस्तो लाग्छ जतिचोटी वाचन गर्दा पनि आफुलाई यसका अक्षरले विदिर्ण बनाए झैं लाग्छ । यसका बारेमा धेरै शब्द खर्च गरिरहनु भन्दा भोलि पाठक वर्गबाट यसको तथ्य तलास गरि मूल्यांकन हुने नै छ, ज्यादा नलेखौं ।
यति हुँदाहुँदै पनि कविता छाप्ने सोच–विचार मनमा पटक्कै थिएन । राजधानीमा मात्र होइन मोफसलतिर पनि एक से एक कवि छन, तिनका आगो बाल्ने उर्जनशील कविता पनि त्यस्तै छन् । त्यसकारण आफ्नो कविता भाउ लाग्दैन होला भन्ने थियो । बरु दैनिक अखबारमा प्रकाशित भैरहेका कथालाई नै संग्रहका रूपमा छाप्न बाँकी थियो । त्यतातिर मेलो मेसो बन्दै थियो । तर समय परिवेश यस्तो आयो कि कविता छापिनुपर्ने तहमा पो पुग्यो । पारिवारिक नाता भित्रका व्यक्ति तिलकप्रसाद सुवेदीसँग एउटा भेटमा प्रकाशित मेरा कथा कृतिका बारेमा चर्चा चल्यो । साहित्य मनका विभिन्न व्यक्ति मध्य कोही पुस्तक अध्यायनमा ज्यादा रुचि राख्ने, कोही वाचन श्रवण गरि रसास्वादनमा आनन्द लिने र कोही कोही अध्ययन गरि घत लागेका घटना र सन्दर्भ टिप्पणी गरेर सिर्जना उमार्ने गर्छन् । पुस्तक गहन अध्ययनबाट नै सुवेदीको साहित्यमा आकर्षण देखिन्छ । पुस्तककै व्यवसायमा तल्लीन सुवेदीले अब कविता प्रकाशन गर्नुपर्छ भनी दिएको सुझाव मेरो लागि सामान्य थियो । किनकि अरु आफन्तजनबाट पनि अनौपचारिक रूपमा यो सुझाव बराबर आइरहने हुन्थे र ती सुझाव मनका कुनामा थन्किरहन्थे ।
‘कविता प्रकाशन गरेर पो के गर्नु बिक्री हुने होइन होला ।’
‘हजुरका कविता बिक्री हुँदैन भने कसका कविता बिक्री हुन्छन् त बजारमा ?’
‘कविताको बजार त त्यति देखिदैँन त ।’
‘बिक्री गर्ने जिम्मा हामीलाई दिनुस न ।’
‘ए हो र !’
‘नभए कविता दिनुस्, हामी छाप्छौं’ यो गम्भीर संवादले भने केही शोचमग्न बनायो, किनकि कविता छाप्नुस् है, छाप्नु पर्छ भन्ने सस्तो सुझाव धेरैजनाको थियो तर कविता दिनुस् छाप्छु भनेर कसैले मागिरहेको थिएन । यस बारेमा अर्को पटक मैले अलि मसिनो कुरा गर्न चाहेको थिएँ तर सुवेदीले आफ्नो इमेल ठेगानामा कविता पठाइदिन आग्रह गरेपछि छरिछिट्यान कविताहरु खोज्दै र बटुल्दै गर्न थालियो । छोटो समयमा नै ती कविताहरु एउटा किताबमा उनिएर आए । यो कवितासंग्रह मात्र होइन, एउटा सर्जकका लागि अनमोल कृति पनि हो । काव्य यात्राको पहिलो प्रस्थान हो ।
यो कृति निर्माण गर्न र पाठकसम्म पु¥याउन अहम भुमिका निभाउने पात्र सुवेदीको परिश्रम, समय लगानी व्यवस्थापन समेतका सुकर्मलाई सम्मानका साथ हृदयमा राखिएको छ । मृत्युवरण कवितासंग्रह पुस्तकको सबल पक्ष के भने छोटो समय अवधिमा पूरापूर पढ्न भ्याइने पातलो किसिमको छ र खाजा खर्चमा जाने पैसाले किन्न सकिने उचित मूल्य कायम भएर आएको छ । यसबाट सर्वसाधारण पाठकका हातमा पनि पुस्तक सजिलै पुग्न सकोस् भन्ने पवित्र भावना राखेको देखिन्छ ।
–उमालाल आचार्य
प्रकाशित मितिः ३० कार्तिक २०८२, आईतवार १९:३०
उमालाल आचार्य ।