दैलेखको प्राकृतिक ग्यासः व्यावसायिक उत्पादनको सम्भावना

सुर्खेत: दैलेखमा भेटिएको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न सकिने भएको छ । प्राविधिक अध्ययनबाट व्यावसायिक उत्पादन गर्न सकिने निष्कर्ष निकालिएको हो । यसअघि चिनियाँ विज्ञ टोलीले लामो अन्वेषणमार्फत् जलजले क्षेत्रमा प्राकृतिक ग्यासको ठूलो भण्डारण रहेको पत्ता लगाएको छ ।
ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ खोजीका लागि गरिएको अन्वेषणमा ११२.१ अर्ब घनमिटर (सात करोड ९२ लाख १२ हजार ३२७ मेट्रिक टन) प्राकृतिक मिथेन ग्यास रहेको चिनियाँ विज्ञ टोलीले देखाएको थियो । त्यसपछि सरकारले गठन गरेको प्राविधिक अध्ययन समितिले व्यावसायिक रूपमा उत्पादन गर्न सकिने प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको छ ।
समितिले दुईवटा विकल्पको मोडालिटीसहित प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ । चार सदस्यीय प्राविधिक अध्ययन समिति संयोजक नेपाल आयल निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायका अनुसार दैलेखमा भेटिएको प्राकृतिक ग्यासबाट विद्युत उत्पादन, युरिया मल उत्पादन, खाना पकाउने ग्यास र यातायात सञ्चालन क्षेत्रमा प्रयोग गर्न सकिन्छ । इन्धन पाइप लाइनको पूर्वाधार, मल कारखानाको निर्माण र सञ्चालनको लागि ठूलो मात्रामा आर्थिक लगानी आवश्यक पर्ने हुनाले लगानी नै मुख्य चुनौती रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
पाइपलाइन निर्माणको लागि भौगोलिक जटिलता पनि अर्को चुनौती रहेको छ । नेपालमा उत्खनन्, उत्पादन तथा अन्य सम्बन्धित प्रयोग क्षेत्रमा अनुभवी प्राविधिक दक्ष जनशक्तिको अभाव अर्को चुनौती रहेको समितिले औंल्याएको छ । यसका साथै ग्यासको उत्पादन, प्रशोधन, भण्डारण र बिक्री वितरण तथा औद्योगिक प्रयोगको लागि मुख्य गरी केमिकल, मेकानिकल, औद्योगिक, इलेक्ट्रिकल, प्रसोसिङ इन्जिनियर, भूगर्वविद्लगायत प्राविधिक जनशक्ति पर्याप्त परिमाणमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाल आयल निगमको शतप्रतिशत लगानीमा सञ्चालित हुने स्पेसल पर्पस भेहिकल (एसपीभी) मोडलमा जान सक्ने सुझाव अध्ययन समितिले दिएको छ । यसका साथै आयल निगममा अधिकतम् सेयर रहने गरी सरकारी निकाय तथा अन्य संस्थाहरूको समेत लगानी रहने गरी एसपीभी मोडेलमा सञ्चालन गर्न सकिने सुझावसमेत समितिले दिएको छ ।
प्राकृतिक ग्यास फिल्डहरू रणनीतिक स्रोत भएकोले पूर्ण रूपमा सरकारको नियन्त्रणमा रहने गरी दुई विकल्पमा अगाडि बढ्न सरकारलाई सुझाव दिएको छ । यसका साथै अन्तर्राष्ट्रिय कम्पनीहरूसँग ज्वाइन्ट भेन्चर (जेभी) गरी परियोजना सञ्चालन गर्न सकिने पनि अध्ययन समितिले विकल्प सुझावको छ । प्राकृतिक ग्यासबाट युरिया मल उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रासायनिक मल कारखाना नभएको हुँदा रासायनिक मल कारखाना निर्माण गर्नुपर्ने सुझाव दिएको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी, भण्डारण र वितरणको क्षेत्रमा ४४ वर्षभन्दा बढीको व्यावसायिक र प्राविधिक अनुभव निगमसँग रहेको उल्लेख गर्दै प्राकृतिक ग्यासको उत्पादन, प्रशोधन, भण्डारण, वितरण र उपयोगसम्मको भ्यालु चेनमा निगमले नै मुख्य भूमिका खेल्न सक्ने कुरा प्रष्ट पारेको छ । प्राविधिक र व्यावसायिक दृष्टिकोणले निगम नै उपयुक्त र निगमले नै मुख्य भूमिका खेल्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ग्यास प्रशोधन स्थलबाट सुर्खेत आसपाससम्म पाइपलाइन मार्गको विस्तृत इन्जिनियरिङ सर्वेक्षण गर्न आवश्यक रहेको प्रतिवेदनले देखाएको छ । पाइपलाइन निर्माण गर्न प्रतिकिलोमिटर ८ देखि १२ करोड रूपैयाँ लाग्न सक्ने देखिएको छ । यसका साथै पहुँच मार्ग, स्थिर विद्युत आपूर्ति र पानी स्रोतको निर्माण तथा सुधार गर्नु पर्ने देखिएको छ ।
हाल कर्णाली प्रदेशमा प्राकृतिक ग्यासमा आधारित विद्युत आयोजना स्थापना गर्न सके विद्युतको समस्या समाधान हुन सक्ने सुझाव दिइएको छ । प्रतिवेदनअनुसार दैलेख आसपासको क्षेत्रको लागि ग्यास टर्बाइनमा आधारित ५० देखि एक सय मेगावाट क्षमताको विद्युतीय आयोजना र मुख्य लोड सेन्टरको लागि ग्यास टर्बाइनमा आधारित एक सयदेखि तीन सय मेगावाट क्षमताको विद्युतीय आयोजनाको सञ्चालन गर्न सकिने छ ।
करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमता भएको ग्यासमा आधारित युरिया मल कारखाना सञ्चालन गर्न वार्षिक चार सय १० देखि ४५२ मिलियन घनमिटर ग्यास र दैनिक एक हजार ६९ देखि एक हजार एक सय २२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ ।
नेपालको कृषि क्षेत्रको लागि आवश्यक सात लाख मेट्रिक टन युरिया मलको माग पूरा गर्न प्रतिदिन करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । तर प्रतिदिन तीन हजार पाँच सय मेट्रिक टन क्षमताको उत्पादन गर्न सक्ने कारखाना निर्माण गर्न सकिए आर्थिक हिसाबले छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसका साथै कारखानाका लागि आवश्यक बिजुली उपलब्ध गर्न सोही क्षेत्रमै ग्यासमै आधारित पावर प्लान्टको निर्माण गर्न आवश्यक रहेको पनि देखिएको छ । कारखानाका लागि करिब १५० देखि दुई सय बिघा क्षेत्रफलको जमिन आवश्यक पर्ने र ठूलो परिमाणमा पानी आवश्यक पर्ने भएकाले नदी नजिकैको स्थानमा कारखाना स्थापना गर्न उपयुक्त हुने प्रतिवेदनले सुझाव दिएको छ ।
दैलेखको जलजलेमा लामो समयदेखि अध्ययन गरिरहेको चिनियाँ विज्ञ टोलीले गत असार ४ गते उक्त स्थानमा प्राकृतिक ग्यासको ठूलो भण्डारण रहेको प्रारम्भिक चरणको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदनले पेट्रोलियम पदार्थ खोजी गर्ने क्रममा ११२.१ अर्ब घनमिटर (सात करोड ९२ लाख १२ हजार तीन सय २७ मेट्रिक टन) प्राकृतिक मिथेन ग्यास रहेको देखाएको थियो । खानी तथा भूगर्भ विभागले पहिलो इनारमा यो हाराहारीमा ९० प्रतिशतभन्दा बढी परिमाणमा प्राकृतिक ग्यास पाइएको पुष्टि गरेको थियो ।
प्रकाशित मितिः २२ कार्तिक २०८२, शनिबार ०९:४८
साझा बिसौनी ।