चुनावमा होमिदै दलहरू

आन्तरिक छलफल र रणनीति बनाउँदै

सुर्खेत: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलहरूले पार्टीका गतिविधिलाई चुनावमा केन्द्रित गराउने योजना बनाएका छन् ।

नेपाली कांग्रेसले सुक्ष्म तरिकाले चुनावको तयारीमा लाग्न पार्टीका तल्ला तहहरूमार्फत परिपत्र नै गरिसकेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री निरञ्जन केसीले पार्टीले अहिले सुक्ष्म ढंगले आफ्ना गतिविधि अघि बढाएको बताए । निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उनले स्थानीयस्तरमै निर्वाचनका कार्यक्रम बनाउन थालिएको पनि जानकारी दिए ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले पनि निर्वाचन लक्षित कार्यक्रम थालेको छ । पार्टी मतदाता नामावली दर्ताका लागि नागरिकहरूलाई जानकारी गराउनेसहितका आन्तरिक तयारीमा जुटेको कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले बताइन् । अहिले पार्टी एजेण्डा मिल्ने विभिन्न दलहरूसँग एकीकरणको तयारीमा रहेको भन्दै उनले पार्टी एकीकरण गरेर निर्वाचन लक्षित कार्यक्रम गर्ने योजना बनाइएको जनाइन् ।

अहिले विभिन्न साना दलहरूलाई समेटेर पार्टी एकीकरण गर्ने र नयाँ पार्टीको नामकरण गरेर निर्वाचनमा होमिने अध्यक्ष केसीको भनाइ छ । जेन–जी आन्दोलनको भावनाअनुसार पनि निर्वाचनलाई सफल बनाउनुपर्नेमा उनको जोड छ । ‘अब ताजा प्रतिनिधिसभाका लागि फागुन २१ को निर्वाचनमा जानुपर्छ,’ अध्यक्ष केसीले भनिन्, ‘निर्वाचनमा जान दलहरूले साथ र सजगताका साथ दबाब दिनुपर्छ ।’ कर्णाली प्रदेशमा पनि आन्तरिक गृहकार्यका काम भइरहेको उनको भनाइ छ । ‘अहिलेको अवस्थामा निर्वाचनको वातावरण बनाउन अरु दलहरूसँग पनि छलफल गर्नुपर्छ,’ उनले भनिन् ।

माओवादीसँग एकताको तयारीमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि निर्वाचन लक्षित गतिविधि बढाएको छ । पार्टी एकीकरणको चर्चा चलिरहेको भएपनि पार्टीले भने आन्तरिक छलफललगायतका कार्यक्रममा जोड दिएको छ । पार्टीका प्रदेश कमिटि अध्यक्ष ठगेन्द्र पुरीले जेन–जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा सरकार बनेकाले विवाद र अलमलमा नपरी पार्टीहरू निर्वाचनमा जानुपर्ने बताए । ‘अहिले विशिष्ट परिस्थितिमा सरकार बनेको छ, निर्वाचनबारे विवाद र अलमल गर्नुभन्दा जनतामा जानु उचित हुन्छ, ताजा जनादेश लिएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सकिन्छ,’ उनले भने, ‘त्यहीअनुसार पार्टीले आन्तरिक तयारी पनि थालेको छ ।’ तर पछिल्लो राजनीतिक घटनाको गहिरो समीक्षा गरी निर्वाचन हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादीलगायत पनि घोषित मितिमा निर्वाचनमा होमिनेबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन लक्षित गरी पार्टीहरूले मतदाता नामावलीलगायतका कार्यक्रमलाई सघाइरहेका छन् । केही पार्टीहरूले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम पनि थालेका छन् । यसरी हेर्दा पार्टीहरू आन्तरिक तयारीमा जुटेका पाइएको छ ।

नेकपा (एमाले) ले भने तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ । संसद् पुनस्र्थापनाको माग गरिरहेको एमालेले निर्वाचनकै लागि नभने पनि पार्टी गतिविधिलाई जनतासम्म जोड्ने योजना बनाएको छ । जसले आगामी निर्वाचनमा सघाउ पुग्ने अपेक्षा एमालेको देखिन्छ । केन्द्रीय रणनीतिक योजना अनुरूप वडा तथा पालिकास्तरमा आन्तरिक छलफलका अभियान सुरु गरिएको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिका सचिव धु्रव शाहीले बताए । जेन–जी आन्दोलनको बलमा संसद् विघटन भइ विशिष्टि परिस्थिति उत्पन्न भएकाले पार्टीले बनाउने रणनीतिअनुसार नै अघि बढ्ने उनले जनाए ।

एमालेमा चुनावमा जाने विषयमा अलमल देखिए पनि अन्य राजनीतिक दलहरूले भने चुनाव केन्द्रित भइसकेका छन् । जेन–जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भइ नयाँ चुनावको मिति घोषणा भाएको निर्वाचनमा जान दलहरूले आन्तरिक छलफल सुरु गरेका हुन् । पार्टीभित्र र बाहिर निर्वाचनका लागि वातावरण बनाउन दबाबसमेत आउन थालेको छ । केही दलले संसद् विघटन असंवैधानिक भएको दावी गरे पनि निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन अनुकूल कार्यक्रम बनाउन केन्द्रदेखि स्थानीय समितिसम्म छलफल भने सुरु गरेका छन् ।

प्रकाशित मितिः   १७ कार्तिक २०८२, सोमबार ०९:४०