बेमौसमी वर्षाले किसानलाई नोक्सानी

सुर्खेत: भित्र्याउन ठिक्क पारिएको धान एक्कासी परेको पानीले बिगारेपछि वीरेन्द्रनगरका किसान चिन्तित बनेका छन् । काटेको धान स्याहार्न नपाउँदै बेमौसमी वर्षाले क्षति पुर्‍याएको छ ।

काटेर खेतमै राखिएको धान वर्षाले तहसनहस पारेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ की कृषक शिवा गिरीले बताइन् । उनले भनिन्, ‘पाँच कठ्ठा जमिनमा पाकेका धान तिहार मनाएपछि काटेर खेतमै राखेको थिएँ, तर भिœयाउन नपाउँदै पानी पर्‍यो, यो वर्ष धान निकै राम्रो फलेको थियो मौसमले साथ दिएन, काटेको धान खेतमै भिजेको छ ।’ दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको गिरीले सुनाइन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का समिर थापाले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताए । ‘बुधवार धान स्याहार्ने योजना बनाएको थिएँ । मंगलवार बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भएपनि धान भिœयाइ सक्थेँ’ उनले भने । यो वर्ष खेतमा धान गत वर्षको भन्दा राम्रो फलेको उनले सुनाए । लटरम्म फलेको धान भिœयाउन नपाउँदै नोक्सान हुनेभएपछि थापा चिन्तित बनेका छन् ।

यस्तै रमा चौधरीको आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । एक दिनमात्र पानी ढिलागरी परेको भएपनि धान भित्र्याइसक्ने योजना रहेको उनले सुनाइन् । ‘सोमवार अलिकति धान स्याहारेका थियौँ, बाँकी मंगलवारलाई राखेका थियौँ, पानी आइहाल्यो’ उनले भनिन् ‘पानी परेकाले धान स्याहार्न नसकिएको हो, हेरम अझै कति दिन यस्तो हुन्छ, मौसमले पनि सास्ती दिएको छ ।’

सोही वडाका भीम विकले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गरेका थिए, तर भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छन् । ‘धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएको थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो’, विकले भने, ‘दुःख गरेर अन्न उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो, अब के गर्ने, गर्ने भयो ।’

बर्सेनि बेमौसमी वर्षाका कारण किसानहरूले वर्षभरिका लागि लगाएको बाली भित्र्याउने बेलामा नोक्सानी बेहोर्नुपरेको छ । यसका लागि पूर्वतयारीदेखि थुप्रै सतर्कता अपनाउन सरकारका सम्बन्धित निकायहरूले ध्यानाकर्षण गर्दै आएका छन् । तर, सम्बन्धित किसानसमक्ष यस्ता सूचना समयमा नपुग्दा थुप्रै हानि बेहोर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वजानकारी अनुसार कार्तिक १३ गते दिउँसोदेखि १५ गते बिहानसम्म मौसम प्रभावित हुने देखिन्छ । समयमा सूचना पाएका कृषकहरूले भने पाकेको भएपनि धान काटेका छैनन् । दुर्गम र गाउँघरका कृषहरूले भने बाली पाकेकै भरमा काटेका छन् । खेती गर्ने कृषकहरूले सास्ती नै सास्ती भोग्नुपरिरहेको छ । जलवायु परिवर्तनका कारण उत्पादन राम्रो नहुनु, उत्पादन राम्रो भएपनि बेमौसमी वर्षाले समेत अन्न नोक्सानी गर्ने हुँदा किसानहरूले दुःख अनुसारको लाभ लिन सकिरहेका छैनन् ।

कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ । सुर्खेत जिल्लामा नौ हजार चार सय ३२ हेक्टर धान बाली, आठ हजार सात सय ५५ हेक्टरमा मकै बाली र ११ हजार तीन सय ४१ हेक्टर क्षेक्रफलमा गहुँ बाली लगाउने गरिएको छ । कर्णालीमा एक दशमलव ८० प्रतिशत कृषकले वर्षमा सरदर दुई बाली लगाउने गरेका छन् भने सुर्खेत जिल्लामा एक दशमलव ९७ प्रतिशतले वर्षमा दुई बाली लगाउँछन् ।

प्रकाशित मितिः   १४ कार्तिक २०८२, शुक्रबार १०:५६