कथा

दिदी

शारदीय याममा आँगन र करेसाभरी ढकमक फुल्छन् सयपत्री र मखमली । यी फूलहरूले उमङ्गको सट्टा मलाई पीडा दिएर जान्छन् । कस्तो पीडा ? कस्तो भने मुटु घोचे झैं हुने, पोले झैं हुने, चिरे झैं हुने । कस्तो हुने–हुने, शब्दले बयान गर्नै नमिल्ने ।

फूलले मात्र होइन सप्तरङ्गी टीकाले पनि मेरै मन रुवाउँछ । घरघरमा आउने देउसी–भैलोले पनि दिदीको सम्झना उचालेर ल्याउँछन् र पुरानो चोट आलो बनाउँछन् । कुनै विस्मातले कस्तो बिरक्त बनाउँछन् समय परिवेश !

बाले पेन्सन बुझेर आउँदा सबैलाई ओरापरी ल्याउनुहुन्थ्यो । मेरो प्रतिक्रिया बुझ्न दिदीका लुगा नदेखाएर बाले मलाई मात्र जाँगे र कमेज देखाउनुभयो अरे । मैले दिदीको नाना खोइ भनेर सोधेछु अरे । दिदीलाई त अर्कोचोटि किनौलानी बाले भन्नुभयो अरे । म रोएर जात्रा मात्र गरिन अरे आफ्ना लुगा पनि च्यात्न तम्सिएँ अरे । हाँस्दै बाले दिदीको लुगा देखाएपछि मात्र मेरो उपद्रो अलि मत्थर भयो अरे । वृतान्त आमाले भन्नुभएको तर मलाई थाहा छैन । मलाई त दिदीसँग लडाइँ–झगडा गरेको थाहा छ, दिदीलाई पछ्याउने गरेको थाहा छ, दिदीलाई दाल्ने दङ्याउने गरेको थाहा छ । थाहा पाउने भएदेखिका सबै कुरा थाहा छ ।

एउटा सम्झना छ अलि मधुरो । दिदी र मसँगै बसेर पढेका थियौँ कुनै दिन पिढीमा । दिदी सिसाकलम र कापीमा थिइन् म त सिलोट र खरीमा । पानी खान दिदीभित्र गएको मौका छोपी सिसाकलमले कापीको पानामा लेख्दै थिएँ कि भित्रैबाट ठ्यास्स टुप्पो भाचियो कता हरायो कता । लौ बर्बाद भो ! पानी खाएर आइन ।

‘सन्ते सिसाकलम भाचिस तैंले ?’ म चुपचाप भएँ । मौनताले अपराध कबुल गर्‍यो ।

‘हे भगवान मैले अब त्यत्रो गिरकारे कसरी गर्ने ? अब आँसिले तास्ननी मिल्दैन, तँ कुकुरलाई त… ।’ मलाइ भकुरिन् ।
‘आफै भाच्चेको ।’

‘कसरी भाचिन्छ आफै ?’ फेरी कुटिन् ।
‘किन हान्छेउ ?’ मैले कपाल कुइयाएँ ।
‘उता जा निलौटा अब तँसग बोल्दिन म ।’ लात्तले हानिन् ।

‘नबोले के त !’ क्वारक्वार्ती दिदीलाइ हेर्दै ढुङ्गोझैं अटल भएर धुम्धुम्ती बसेँ । चुपचाप दिदीले केही खोजे झैँ किताबको पाना पल्टाइरहिन् । पुलक्क मलाइ हेरेर मुख बंग्याउँदै गिज्याइन् ।
‘नबोल्ने मान्छेलाइ गिज्याउँछ्यौ ?’

जानाजान उनले आफ्नो हात मेरो पैतालामा दलिन् ।
‘उअँ, किन गछ्र्यौ ? म त अहिले… ।’ मैले ढोग गर्न खोजेँ, दुई वटै खुट्टा समेटेर दिदीले पलेटीमा लुकाइन् ।

‘आमा, हेर्नुस्न दिदीले मलाई पाप लगाउँछिन् ।’ भित्र आमाले सुन्नेगरी म जोडले कराएँ । आमा र दिदीलाई पैतालाले कुचेमा पाप लाग्छ र पापीलाई यमराजले बेस्सरी पिट्छ भन्ने आमाका कुरा मेरो बालमस्तिष्कमा अमिट छाप भइ बसेको थियो । झुक्किएर कुचे पनि यमराजले कतैबाट हेरिरहेको पो छकी भन्ने डर पस्थ्यो मनमा । त्यसकारण म हतार हतारमा ढोग गर्न खोज्थेँ ताकी यमराजले नपिटोस् ।

‘कति चल्छेस् आरती ? किन सताउछेस् भाइलाई ?’ आमाले भित्रबाट हकार्नुभो ।
‘मेरो सिसाकलम भाँच्दियो ।’ झर्केर बोलिन् ।

‘ए नेप्टे, किन भाँचिस दिदीको कलम ? चिम्टा खोज्याछस् ?’
‘मलाई दिदीले पाप लगाइन्’ म झन चर्केर कराएँ ।
‘ढोग गर्न देके तेरो बाजेलाई नसता । भोलि मसि हाल्ने कलम ल्याइदिउला बरु ।’ त्यसपछि दिदीले खुट्टो हुत्याइन् मतिर मैले ढोगें ।
‘मेरो नोक्कर भएस ।’
‘के भनेको भाइलाई त्यस्तो ? मुख च्यात्दिउँला म । जातिबित्ति बिग्रेकि छौडी तँ ।’
‘मेरो सिसाकलम जस्तो थियो त्यस्तै बनाइदे ।’
‘मलाई हान्यौ त, बराबरी भयो नि ।’

कुनै लडाइँ–झगडाले आँत जोड्ने माया झन मजबुत बनाउँदो रहेछ ।

चार कक्षाबाट अंग्रेजी पढाइ सुरु हुने थाह भयो । दिदीले सिकाए बमोजिम ए बी सी डी कण्ठ भयो । सानो पनि हुन्छ ए बी सि डी भनिन् र पो लठारो लाग्यो । सानो–ठूला ए बी सि डी पानी बनाएर पिएँ । गुन्द्री ओछ्याएर दिदीसँग आगनमा पढ्न बसेको थिएँ ।

‘दिदी ! यो अंग्रेजी किन पढ्नपर्छ ?’
‘अंग्रेजी भाषा हो । गैरीटोलेहरूले बोल्छन्नी खामकुरा ? हो त्यस्तै भाषा । सात समुन्द्र पारी बस्ने अंग्रेजले बोल्छन् ।’
‘अंग्रेजहरू कस्ता हुन्छन् दिदी ?’

‘हाम्रा बा आमाभन्दा ठूला, गोरा खैरा हुन्छन् । कैलो कपाल भएका… ।’
‘भूतजस्ता ?’
‘होइननी, हामीभन्दा राम्रा पनि हुन्छन् । ज्ञानी धनि बुद्धिमानी हुन्छन् ।’

‘दिदीलाई के भन्छन तिनीहरूले ?’
‘सिस्टर भन्छन् ।’
‘सिस्टर ? के अच्चमै हो ! अनि बा आमालाई ? घरलाई ? बारीलाई ?’

‘चुप लाग । के म अंग्रेज हो र सबै जान्ने ? जा गाइलाई एकमुठो घाँस हाल्दे त । जा त जा ।’
‘गाईंलाई के भन्छन् दिदी ?’
‘काउ भन्छन् ।’

‘काउ ? ! हा..हा..हा.. हे भगवान किन होला त्यो अंग्रेज ले गाइलाइ काउ भन्ने ! हा.. हा..हा म त उदेखले मरे ।’ म हांँस्दै भूइँमा ढलेँ ।
‘हि..हि..हि नहाँस के जा घाँस हालेर आइज ।’
‘हि.हि..।’ म हाँसेपछि दिदीले पनि हाँसो थाम्न सकिनन् । ‘नहाँस के धेरै, घाँस हाल्दे चाँडै, हि..हि.. ।’

‘काउलाई ? हा..हा.. ।’
‘अँ तनि के अँ, हि..हि.. ।’

करेसाको घाँस हाँस्दै उठाएर हाँस्दै हालेँ गाइलाई ।
‘काउ ल घाँस खाउ । हा हा हा ।’

आँगनमा म एक्लै गुच्छा खेलिरहेको थिएँ पछाडि तल्लोबारीमा दिदी कराएको सुन्दा करेसामा गएर कान थापेँ । हाम्रो बारीबाट दिदी र पोखरेलको बारीबाट पोखरेल पार्वती कराउँदै झगडा गरेका रहेछन् । पोहर साल झगडा परेदेखि यिनीहरूको बोली बाराबार थियो । यतिखेर फेरी किन झगडा पर्‍यो ? खान नपाकी चोरनी भन्ने मेरी दिदी । तैं होस् खान नपाएर घाँस चोर्ने नकचरी भन्ने पार्वती ।

‘ए पार्वती वेश्या कराउँछेस् ? आइज लड्न ।’ दिदीनेर पुगेर मैले भने ।
‘नकरा तँ दुष्ट ।’ भनेर दिदीले धकेलिन् मलाई ।

‘जा जा भन् तेरो बालाई भन् कि बाजेलाई भन् ।’ म किन छोड्थे बोल्न ।
‘नकरा के तँ कुकुर ।’ धकल्दै हानिन् दिदीले ।

‘तँ राँडीलाई खाल्टामा गाड्दिम्ला ।’ मलाई मुक्का बर्साइन दिदीले ।
‘म त राजासँग पनि डराउन्न, बुझिस् ?’

देब्रेहातले घाँसको मूठो टाउकोमा अड्याउँदै र दाहिने हातले मलाई घिच्याउँदै डुम्साउँदै घरतिर ल्याइन । घुच्चिँदै र घिच्चिँदै पनि गाली गलौज गरिरहेँ पार्वतीलाई । घरमा आएर म फेरी आफ्नो धन्दामा लागेँ, घाँसमा हराएर नभेटिएको पानी गुच्छा खोज्ने क्रम जारी रह्यो ।

पोखरेल आगनमा आएर एक्कासी कराए ।
‘ऐ सन्ते गधा ! के भनिस पार्बतीलाई ? तेरो मुख च्यात्न प¥यो ? तलाई बानेर उधोमण्टो पार्न प¥यो ?’
‘के भयो र दाइ के ग¥यो यसले ?’ बा भित्रबाट आउनुभयो ।

‘राँडी फूँडी वेश्या, मुखमा जे आयो त्यही बोल्ने… ।’

म चुपचाप थिएँ, बाले कुरा बुझ्नुभएछ मेरो गालामा जोड्ले चड्काउनुभो । चोट खप्न नसकेर चिरिर्र चिच्याएँ । दिदी नजिकै थिइन् झम्टेर मलाई अंगालिन् ।

‘भो भो नहान अब, फेरी जे मन पायो त्यही बोल्यो भने सिस्नुपानी लगाउला दुष्टलाई …।’ भन्दै पोखरेल ठूलबा गएपछि बाले मलाई फेरी हान्ने झैं गरी हात ताक्नुभो । दिदीले तोपिन् फत्फताउँदै बाभित्र पस्नुभो । पेटीमा बसेर रोइ–रोइ थामिएको थिएँ, हिक्क हिक्क आइरह्यो पछिसम्म । अम्खरामा पानी ल्याएर आगनको ढिक ढुंगामा राख्दै दिदीले बोलाइन्, मैले टेरिन समाएर तानिन् ।

‘भो भो नरो । मुख धोएर अब ताजा हुने हो… ।’ मेरो मुख धोइदिँदै दिदी फेरी बोलिन्, ‘नकरा नबोल तेरी बजैलाई गाली नगर भनेको होइन ? तेरो बानी गतिलो छ ?’ म चुपो लागेँ दिदी बोलिरहिन्, ‘सिँ गर, अरु सिँ गर ।’

‘छ्या, तीनमा पढ्नेको यस्तो सिँगान । फोहोरी ! धेरै हाँसेपछि रुनपर्छ, बुझिस ? आजको हाँसो कस्तो हो बाबैनी ! गाइलाई काउ किन भन्यो अँग्रेजले भनेर हाँसेर उपद्रो ।’ काउको कुरा सुन्नेबित्तिकै फेरी हाँसो लाग्यो । कुत्कुत् हाँस्दाहाँस्दै भूइँमा थ्याच्च थेच्चिएँ ।

‘ल ल फेरी फोहरमा बसेको । उठ !’ दिदीले डुम्साइन । हाँसोले म तुरुन्त उठ्न सकिन ।

‘बाले चड्काउनुभो ठिक्क पर्‍यो ।’ फेरी डुम्साइन् । दिदीले जति डुम्स्याए पनि दुख्दैन त । हलो जोतेर गोरु पिट्ने बाको त कति साह्रो हात । मेरो गालामा पड्कियो जोडले । पहेँलपुर देखेँ ओरीपरी सबै । छुलुक्कै मुतेको, अनि ?
साँझको खाना खाएर आमासँग बात गर्दागर्दै म निदाउँन थालेँ । आमाले मेरो टाउको सुमसुम्याएर कपाल मुसार्नुभो । बा आएर आमाकै नजिक बस्नुभो म सचेत भएँ । तब पनि निदाए झैँ गरिरहेँ ।

‘खोइ त छोरी कहाँ गई ?’ बाले सोध्नेभो ।
‘कोठातिर गइ । भाइलाई बोलाउँदैथिइ, भाइले त यतै सपना देख्नथाल्यो अब ।’

‘किन रहेछ त्यो पार्वतीसँग झगडा गरेकी हाम्री कालीले ?’
‘पोखरेलका बारीमा पसेर घाँस काटेकीअरे मजैले दनादन् ।’

‘चोरेर ? आफ्नो बारीमा त्यत्रो हुँदाहुँदै किन चोर्नु पोखरेलको घाँस ?’
‘आफ्नो जोगाएकोअरे, आमालाई घाँस खोज्न दुःख हुन्छ भनेर ।’

‘थुक्क तेरो बुध्दि ! अनि चोरेपछि किन बाँझ्नु त ?’
‘पार्वतीले पनि तादी हाम्रो बारीमा चोरीछ, त्यसैको पैँचो फेरेकोअरे ।’

‘अनि यो ठेउकेको मुख त कति छुरा ! राँडी फुँडी नकटी मुखमा जे आयो त्यही भन्योअरे पार्वतीलाई ।’
‘दिदीको धूरो उठेको ।’ भन्दै आमाले मेरो निधार गाला मुसार्नुभो ।

‘तब त भेट्यो मेरो हातको चड्कनच्युरा ।’
‘चड्कनच्युरा ! केटाकेटीलाई पनि त्यसरी पिट्ने जुङेबुढा ।’

आमाले त्यसो भनेपछि त हाँसो खटाउन मलाई उल्का धौ भयो । हाँसौ निदाएको छ, नहाँसौँ थामिन बडो मुश्किल । पिसाब लागेको बहानामा उठेँ र दिदीसँग गएँ । आमाले जुङे बुढा भनेको सबै बृतान्त सुनाएँ । दिदी र म पेट मिचिमिचि निकै बेर हास्यौँ ।

खुट्टा नधोएसम्म आफूसँग नसुताउने भनेर दिदीले भनेपछि बडा गरुंगो मनले खुट्टा धुन राजी भएँ । घुँडादेखि तल गोलिगाँठा पञ्जा दिदीले धोइदिन्थिन् । पैताला आफै धुन्थे । धुनु के थियो दिदीले पानी हाल्दिन्थिन म ढुंगामा घोट्थेँ कम्मर मर्काउँदै लचक लचक । दिदी हाँस्थिन् । यतिखेर पञ्जा गोलिगाँठा कुर्कुच्चा मात्र हैन पैताला पनि मिचिन्, म झस्केँ ।

‘पाप लगाउँछयौ ?’
‘पछि ढोग गर्लास् त नि ।’ ढोग गर्नपाए पाप मेटिन्छ भन्ने पनि मनमा छाप थियो । दुई हातले दिदीको टाउको समाएर अडिएँ ।

हुँइयाँ… यत्तिकैमा पल्लो बारीको ढिकतिर स्याल करायो ।
‘ए साले स्याल ! तैंले हाम्रो कुखुरा किन लगिस् ? तेरो स्वास्नी सुत्केरी छ र ?’ मैले यसो भन्दा दिदी खुब हाँसिन म पनि हाँसे ।

‘मेरो छोरो जाती छ ज्ञानी छ, भनेको मान्छ ।’ भन्दै आमाले निधारमा च्वाप्प म्वाईं खानुभो । आमाका कुरामा मख्खिएर साना दुई वटा जर्किन समाउँदै खोलातिर गएँ धारामा पानी भर्न । धारामा कोही नभैदिए हुने भन्दैथें मनमनै । ओरैबाट घाँटी तन्काएर हेर्दा एउटी केटी उता फर्केर मुख धोइरहेकी थिइ । खोइ कोहो ? अलि नजिक गएर हेर्दा पो झस्केँ, पार्वती रैछ गाँठे ! जान साहै्र दकस लाग्यो, यतै लुकि बस्नु कतिञ्जेलसम्म ? जे त पर्ला घोसोमुण्टो पार्दै गएँ । सलले मुख पुछ्दै गरेकी पार्वतीसँग आँखा जुधे ‘आफ्नी दिदीको धूरो उठेर मलाई खुब गाली गरिस नि ! राँडी फूँडी पनि त भनिस्… ।’ गहभरी आँसु भरेर पार्वती बरर रोइ । मेरो पनि मन धर्केर झरिहाल्यो आँसु आँखाबाट ।
‘म अब तिमीलाई त्यस्तो कहिल्यै भन्दिन दिदी ।’

पार्वतीको गाग्री उचाल्न मैले मद्दत गरेँ, डोको पनि अड्याइदिएँ, उसले बोकी ।
‘हाम्रो घर आएस म तलाइ खनियो दिउँला । है सन्ते ?’ भन्दै पार्वती गइ ।

‘हुन्छ दिदी ।’ मैले पानी भर्न थालेँ । पार्वतीसँग मेरो बोलचाल त खुल्यो, दिदी र पार्वतीको बोली सँधै बाराबार भयो ।
पुरस्कारमा दिदीले झैँ मैले पनि स्कुलबाट कापी–कलम ओसार्न थालेँ । चार कक्षामा दोस्रो भएर गएँ, पाँचमा चढ्दा तेस्रो र ६ कक्षामा गएँ प्रथम भएर ।

दुई हप्तापछि दिदीलाई लिएर आउनुभो बाले । सदरमुकाम एसएलसी दिन गएकी दिदीलाई देख्न नपाउँदा मायाँको भोकले व्याकुल भएको थिएँ । रात र दिन गुजार्न कति मुश्किल । दिदी आएपछि सबै रिक्तता भरिपूर्ण भएँ । थोरै उमेर हुर्केको र साथीहरू पनि आउजाउ गर्ने हुँदा मेरो ओछ्यान अब छुट्टै थियो । दिदी र म मेरो ओछ्यानमा बात मार्दैथियौँ । एसएलसी पास भएपछि दिदी सदरमुकाममा कलेज पढ्ने र म पनि स्कुल उतै पढ्ने कुरा मैले फेरी दोहोर्‍याएँ ।

‘म पास हुन्नहोला, कसरी पढ्नु कलेज ?’ दिदीले भनिन् ।
‘नाईं नाईं तिमी पास हुन्छ्यौँ ।’ मैले भने ।

‘पास भए पनि पढ्न पाइन्नहोला । बा–आमाले बिहाको कुरा गर्नलाग्नुभो ।’
‘नाईं नाईं ।’
‘बिहा भएपछि कसरी पढ्नु ? आँफूलाई सञ्चो पनि नहुनेभो ।’
‘नाईं नाईं ।’
‘बरु तैले राम्ररी पढ्नु नि ।’
‘नाईं नाईं ।’

‘नानी ! पानी तात्यो आइज ओखती खान ।’ आमाले भान्साबाट डाक्नुभो । दिदीले बराबर खोकीरहेकी छन् र दुब्लाएर घटेकी पनि छन् । दिदीले जब खोक्छिन दुःख दिने खोकीलाई मनमनै धिक्कार्छु ।
‘हिन आमाले बोलाउनुभो ।’ मेरो हात समाउँदै दिदी उठिन् ।

‘दिदी नाईँ है नाईँ ।’
स्कुलमा एउटा चटकी आयो चटक देखायो, हामी सबैलाई चकित पार्‍यो । कागजबाट उसले फूल बनायो, फूलबाट कलम । कलमबाट रुमाल । कसरी बनायोहोला ? म सोध्न चाहन्थेँ दिदीलाई तमाम प्रश्न । घर आउँदा दिदी थिइनन् । एक्कासी बिरामी भएर बा, मामा र पुसाईंहरूले सदरमुकाम लगेछन् । आमा अत्यन्त निरास देखिनुहुन्थ्यो । अस्पतालमा पुगेपछि त बिमारको खोजी हुन्छ, दिदीलाई जाती लाग्छ । आमालाई सान्वना दिएँ धेरै बेर आमाछोरा गन्थन गरिरह्यौँ ।

बिहान ।

गाइ पग्रियो मैले बाच्छो तानेँ, आमाले दुनुभो । गाबुमा दुध लिएर हामी आगनमा आउँदा अर्जेल जेठाबा हाम्रो पिँढीमा बसेका थिए, सोधे ।
‘कति दिन्छ गाइले दूध ?’

‘थाकिसक्यो दुईमाना दिन्छ । एउटा थुन बाच्छालाई छोडनै प¥यो ।’ आमाले अर्जेललाई जेठाजु भनेर ढोग्नुभो ।
‘लौ लौ खाना पकाएर खाओ ।’ अर्जेलले भने । यस्तो किन भने ? आमाले के ठान्नुभो, मैले अचम्म माने । एकछिन पछि तिवारी मामा आए, अर्जेलसँग कुन्नि के के कुरा गरे । खत्रीनी सानीमा डाँडाघरे फुपुहरू पनि आए, हेर्दाहेर्दै गाउँभरिका मान्छेहरू पेटी र ढिकमा नअटाएर आगनमा भरिभराउ भए ।

‘के भो र दिदी हाम्रा घर ?’ चिन्ताग्रस्त अनुहारमा गलेको आवाजले कँडेल ठूलिमासँग सोध्नुभो आमाले ।

‘बहिनी ! आफ्नो मन थामेस बाबै, के गर्ने बा दैवसँग कसैको केही लाग्दैन ।’ आमालाई अंगालोमा हालेर रोइन् ठूलिमा । आमाले डाँकै छोडेर चिच्याउनुभो । छिमेकी महिलाहरू सबै आमाको नजिक गए, मुसारे थुम्थुम्याए सम्हाले । म आश्चर्य चकित परेँ, मलाई पनि मान्छेहरूले टाउको गाला च्यापु र घाँटी मुसारे । मायाँ गरे ।

माथिल्लो गढाबाट झोलुंगामा मान्छे बोकेर मान्छेको लत्को झ¥यो । अत्यन्त थकित देखिने मेरा बालाई पोखरेल जेठाबा र मर्साङी मामाले सम्हाल्दै ल्याएका थिए । हे भगवान ! साँच्चै के अशुभ हो यो ? के भयो दिदीलाई ? आगनमा सुताए दिदीलाई । दिदी त निर्जिव भइसकिछन् । दिदीलाई अंगालेर प्राण सेर्नुभो आमाले । सबै आमासँग डल्लो परेर रोए । यो मैले कहिल्यै कल्पना गरिनँ, मेरो मनमा सानो शंका पनि थिएन । छाति फुट्ला झैं भयो, टाउकोमा रिँगाटा चल्यो, ओठ मुख सुक्यो, हात खुट्टा लग्लगी काम्यो । म रोएँ ड्वाँ ड्वाँ । दिदीलाई सोलामा कसे निर्दयीहरूले, मेरो मनमा झन ठूलो भूईंचालो गयो । सोलामा उचालेर बोक्न थाले म चिरिर्र चिच्याएँ ।

होशमा आउँदा म आमाको काखमा थिएँ, आमाको बेहाल भइरहेको थियो । दिदी आँगनमा थिइनन् र लोग्नेमान्छेहरू पनि कोही थिएनन् । सानीमा र ठूलीमाहरू रुँदै आमालाई सम्झाइ रहेथे । भगवानमा विश्वास गर्नुपर्छ भन्दै थिए ।
कोरा सेता लुगामा बेरिएर दुःखमा बस्नुभो बा । पहिला मैले कहिल्यै बाको यस्तो दुर्बल अवस्था देखिन । मन बाउँडिन्छ र फेरी आँखाबाट बग्छ, आमाले सम्झाउनुहुन्छ मलाई । आमाको मन धर्किदा मैले सम्झाउँछु । आमा छोरा दुबै कमजोर छौँ तर एकअर्कालाई नसम्झाई पनि भएन ।

मुटुमा रगत बग्ने प्वाल थुनिएर दिदीको देहान्त भएको अरे । कति गाह्रो भयो होला बिचरीलाई प्राण फुत्किँदा । दिदी यतै कतै छन् कि झैँ लाग्छ, सम्झँदा मन झसंग–झसंग हुन्छ । यथार्थलाई विश्वास गर्न तयार हँुदैहुन्न मन । दिदी गइन् सम्झना छोडेर, मायाँ मारेर घर आँगन शुन्य पारेर ।

दैवसँग नसकिने रहेछ रोएर । कति रुने ? दुःख त कति कति ! उम्केपछि दैनिकिमा नफर्कि नहुने । गोठमा गाईलाई कुँडो खुवाउँदै थिए, उताबाट तारे गोरुले दाम्लो चुटाल्ला झैँ गरेर मुण्टो तान्यो । सिप्किनाले थुतुनामा हान्दै भने, ‘तँ साँढाले दूध दिन्छस् र कुँडो खाने ?’

कुँडाको रित्तो ताउलो बाख्राको खोरनेर घोप्टाएर बारीमा गएँ केराको सुप्ला ओसार्न । काल्नामुनि बाटामा पार्वती सँग भेट भयो ।
‘सिरौँला खान्छस भाइ ?’ भावविभोर हुँदै पार्वतीले एक पसर सिरौँला दिइ, मैले हात थापेँ । उसका आँखामा हेरेँ, आफ्ना आँखा भरिएर सम्हाल्न सकिनँ र बरर पोखिएँ ।

‘मेरी दिदी त अब कहिल्यै आउँदिनन् बरै ।’
‘नरो भाइ नरो । जे भो भैगयो तैले यस्तो भन्नहुन्न । तैले धेरै पढ्नपर्छ, सानाबा र सानिमाको मन राख्न पर्छ अब… ।’ अंगालो हालेर आफ्नो सप्कोले मेरा आँसु पुछि आँफू पनि साह्रै रोई ।

बिहान गाउँतिर सुनेको हल्ला ठिक ठहरियो । एसएलसीको रिजल्ट आएकै रहेछ । स्कुल जाँदा थाह भयो दिदी दोस्रो श्रेणीमा पास भइछन् । दिदी पास हुँदा केही खुसी लागेन, झन् बैराग लाग्यो । धारामा मुख धोएपछि ओर ढुंगामा आएर बसेँ, ढुंगोजस्तै मन लिएर । दिदीका साथीहरू आए मलाइ समाए, नरुन सम्झाए । रोएको छैन भन्ने भान पार्न मुस्काउन खोज्छु तर आँखा भरिएर आँसुले उछारबाटो दिन्न ।

घर पुग्दा आँगन र घर दुवै निसम्म थिए । आँगनको बीचमा उभिएर दैलातिर हेर्दै टोलाएँ । आज दिदी भैदिएकी भए यसै ठाउँबाट यसरी नै उभिएर बोलाउथेँ ।
‘दिदी ! ए दिदी !’

भित्रबाट दैलामा झुल्किन्थिन दिदी, दुई हातले दैलाको थाम समाउँदै मन्दमुस्कानले उत्सुकतापूर्वक त्यसरी नै हेरिरहन्थिन् होला मलाई ।
‘तिमी त पास भयौ केरे ।’

मैले यसो भन्दा उनी हावासँग हुर्रेर आउँथिन् र मलाई अंगालो हाल्थिन् । उचालेर दिदीलाई घुमाउँथे फन्फनी । दायाँ र वायाँ न्याक्थेँ उनलाई मायाले ।
‘छोड् काले मलाई छोड् ।’ खुसीले मलाई डुम्स्याउँदै कराउँथिन् उनी ।

‘मलाई कहाँ लाने भन्थेउ लैजाउ, तिमी त पास भयौँ ।’
‘पहिला छोड् मलाई ।’

‘के खुवाउँछु भन्थेउ, लौ लेउ तिमी त पास भयौँ ।’
‘मेरो भाइ…।’
‘नाईं नाईं, छिट्टै छिट्टै ।’

द्वाम्म ! करेसामा आमाले टाउकाबाट घाँसको मूठो
फालेपछि मेरो मनको कल्पना भाँचियो । मैले आमालाई हेरेँ, आमाले मलाई । द्रवित र उदास मेरो अनुहार देखेर होला चिन्ताग्रस्त आवाजमा सोध्नुभो आमाले ।

‘होइन, फेरी के भो तँलाई ?’
‘आमा ! दिदी त पास भइन् ।’

मन थाम्न नसकि आमा हुर्रेर आउनुभो र मलाई अंगालो हाल्नुभो । मैले पनि आमालाई चपक्क समाएँ, कहिल्यै नछोड्ने झैँ गरी दिदीकै मायाले । आँगनमा त्यसरी अंगालोमा बाँधिएर आमाछोरा धित मार्दै रोयौँ । रुँदारुँदै भावमा आएछु अनयासै डाँको छोडी चिच्याएँ ।
‘दिदी…!’

-उमालाल आचार्य

प्रकाशित मितिः   १ कार्तिक २०८२, शनिबार ०५:०२