निर्माणाधीन सडकलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले ग्रामीण सडक सुधार आयोजनालाई प्राथमिकतामा राखेको छ । अघिल्ला आर्थिक वर्षहरूमा निर्माणाधीन सडकहरूको निर्माण कार्य अघि बढाउन लागिएको हो । पछिल्लो वर्षहमा प्रदेशका ग्रामीण सडक विस्तार र स्तरोन्नतिले तीव्रता पाएको हो । अघिल्ला आर्थिक वर्षहरूमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको थियो । संघीयता कार्यान्वयन भएयता मात्रै नयाँ सडकको ट्रयाक खोल्नेदेखि पुराना सडकको स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको छ । तीन तहकै सरकारको प्राथमिकतामा परेका कारण पनि पछिल्लो सात वर्षमा धेरै सडकका ट्रयाक खोलिएका छन् । पूर्वाधार विकासमा सडकलाई आधारभूत र पहिलो प्राथमिकतामा राख्ने गरिन्छ । त्यसैले पनि सरकारले सडक योजना निर्माणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत निर्माणाधीन चार सडक निर्माण गर्न लागेको जनाइएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको छ । निर्माणाधीन मोर्क–चङ्खिला–वडावन–सानाखोला सडक, दशरथपुर –डाँडागाउँ–जितेजुवा–ढाडखेत–मटेला धरमपोखरा सडक, चौरजहारी–नार्जी–खोलागाउँ–चौथा–बैरागीठाँटी–मुसिकोट–सल्ले सडक र शितलपोखरी–झुल्खेत–चुनवाङ सडक कालोपत्रे गर्न लागिएको छ । पर्याप्त बजेट विनियोजन गरेर सीमित सडक निर्माण गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि ८१ करोड बजेट विनियोजन भएको छ । अघिल्ला वर्षहरूमा नयाँ सकड निर्माणमा जोड दिने गरिएकोमा पछिल्लो समय भने भएका सडक स्तरोन्नतिमा सरकारले ध्यान केन्द्रित गरेको छ । ग्रामीण सडकहरू कालोपत्रे गर्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको देखिन्छ । ट्रयाक खोलिए पनि मर्मतमा चासो नदिँदा अलपत्र परेका सडक स्तरोन्नति गर्न लागिएको छ । सरकारको यो नीति अनुरूप प्रदेशका ग्रामीण सडकहरू पनि अब कालोपत्रे हुने भएका छन् ।

सरकारले योजनावद्धरूपमा सडक सुधार र स्तरोन्नति गर्न थालेको छ । चालु आर्थिक वर्षमा करिब डेढ सय किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्य राखेको छ । गत वर्ष निर्माण गरिएको सडक गुरुयोजना अन्तर्गत सरकारले लक्ष्य निर्धारण गरेर सडक निर्माण गर्न लागेको हो । गुरुयोजनामा प्रदेश लोकमार्ग र प्रदेश सडक नामाकरण गरिएको छ । प्रदेशभर एक सय तीन वटा सडक प्रदेश राजमार्ग अन्तर्गतका छन् । यस्तै एक सय ७९ वटा प्रदेश सडक रहेका छन् । प्रदेश राजमार्ग र प्रदेश सडक गरेर दुई सय ८२ वटा सडकमा यो वर्ष डेढ सय किलोमिटर पक्की गर्ने लक्ष्य राखिएको छ । प्रदेशले आफ्नो क्षेत्रमा पर्ने सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको छ ।

प्रकाशित मितिः   ७ आश्विन २०८२, मंगलवार ०५:०३