जेन–जी आन्दोलनले निर्माण गरेको भूराजनीतिक परिस्थिति
जेनजी पुस्ताले उठान गरेको आन्दोलनले देशमा आँधीमय गतिमा नयाँ सत्ताको भ्रूण तयार गर्ने परिस्थिति सिर्जना गरेको कुरा सर्वविदितै छ ।
देशमा शदीयौंदेखिका काला कर्तुतहरूसँग लड्दालड्दै थाकेका पुस्ताहरू निरासाको जीवन जिउन बाध्य थिए र नयाँ पुस्ता विदेश पलायनको बाध्यात्मक अवस्थाबाट गुज्रिएको थियोे । यसरी एकातर्फ सत्ताधारी वर्गमा चरम भ्रष्टाचार, बेथिति र भागबन्डाको राजनीति (सिण्डिकेट प्रणाली) खुलेआम ढंगले नाङ्गो नाचको रूपमा नौटंकी देखाइरहेको थियोे । यस्तो परिस्थितिमा युवा पुस्ता जो बढीमा २५/२६/२७/२८ वर्ष वरपरका छन् उनीहरूले देशको राजनीतिप्रति उदासीनता देखाइरहेका छन् भन्ने चिन्ता लागेको अवस्थामा एक्कासी यहीँ भदौ २३ गतेदेखि काठमाडौंको माइतीघर मण्डलाबाट भ्रष्टाचार विरोधी तथा इन्टरनेट सेवा सुचारू गर्नुपर्ने विषयलाई मुख्य मुद्दा बनाएर आन्दोलनको घोषणा गरे । बिहान लगभग दश बजेदेखि सुरु भएको आन्दोलन अपरान्ह एक बज्दा–नबज्दै नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन अगाडि प्लेकार्ड बोकेका स्कुले युवायुवतीको गगनभेदी नाराले सडक गुञ्जायमान भयो । विभिन्न नारावाजीसहित संसद् भवन प्रवेशद्वारमा भएको झडप र दोहोरो भिडन्तमा दुई दर्जनभन्दा बढीलाई तानाशाही केपी ओलीको सरकारले नृशंङ्सतापूर्वक गोली हानेर हत्या गर्नुका साथै चारसय जति आन्दोलनकारी घाइते भएको खबर बाहिरिनासाथ नयाँ बानेश्वरस्थित संसद् भवन रणमैदानमा परिणत भयो । तत्पश्चात आन्दोलनमा झन् बढी आवेग, आक्रोश र उत्तेजनात्मक मनोविज्ञानले पुरै परिस्थिति कब्जामा लियो । फलस्वरूप आन्दोलनमा लागेका युवाहरू आआफ्ना साथीहरूको मृत्युुले झन् बढी उद्वेलित भए र राति अबेरसम्म संसद् भवन अगाडिको सडक रगतको आहालमा डुब्यो ।
आजको युवा पुस्ता मात्रै होइन सिङ्गो नेपाली समाजले यस्तो नृशङ्सतापूर्ण हत्याको कल्पनासमेत गरेको थिएन । यसरी एकाएक आन्दोलनको मोड हिंसात्मक दिशातर्फ अगाडि बढेपछि सरकारमाथि थप दबाब बढ्दै गयो र राति अबेर गृहमन्त्री रमेश लेखकले राजीनामा दिन बाध्य भए तर आन्दोलन त्यत्तिकैमा भने सेलाएन बरु भोलिपल्ट भदौ २४ गते बिहानैदेखि सडकसडकमा प्रदर्शनकारीहरूले विरोधलाई व्यापक बनाए । देशभर आन्दोलनको आँधी–बेहरी नै आयो । २४ गते अपरान्हसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिन बाध्य भए र सरकार ढल्यो । जब प्रधानमन्त्रीको राजीनामा आयो आन्दोलनमा झन् बढी सक्रियता थपियो र सम्पूर्णरूपमा सांसद, मन्त्री, दलका नेतालगायतमाथि कुटपिट र आगजनीसमेत भयो । प्रहरी तथा सेनाले जतिसुकै दमन गरे पनि अन्ततः आन्दोलनकारीका अगाडि सेना–प्रहरीले पनि हार स्वीकार ग¥यो । यसलगत्तै विभिन्न पार्टी कार्यालय, सरकारी भवन, अदालत, मालपोत, प्रहरी चौकी एवम् सिंहदरबारको मुख्य भवनमा आगजनी गरियो । दृश्यहरू हेर्दा यस्तो लाग्थ्यो कि मेरो देश नेपाल, नेपाल हैन रोम शहरझैं जलिरहेको छ र निरोले बाँसुरी बजाइरहेको छ । यसरी पुरानो सत्ता, यसका मालदार हिस्सेदारहरू, भ्रष्टाचारी र बेथितिले नाङ्गै बनेका शीर्ष दलका नेताहरू सडकमा आन्दोलनकारीको दयामा बाँच्ने भाग्य लिएर आएका रहेछन् भन्ने अवस्था उत्पन्न भएको थियोे । यहीँ पृष्ठभूमिमा अहिलेको जेन–जी पुस्ताको आन्दोलन अगाडि बढिरहेको छ ।
नेपाली जनताको दयनीय अवस्थाप्रति सारा विश्वले रमिता मानिरहेको छ । यहाँका दलीय पार्टीका नेता, कार्यकर्तालाई जनताले पत्याउनै नसकिने गरी विश्वास गुमेको छ । विरलै पात्रहरू मात्रै चोखा होलान्, अपितु बाँकी सबैको जीवनशैली महँगो छ । खानलाउन नपुग्ने अवस्थामा पनि ठूलठूला महल किनेर आलिसान जीवन बिताइरहेका छन् । नेपाली जनता अरबका खाडीहरूमा तातो घाममा दिनरात नभनी काम गरेको पैसाले छोराछोरीलाई पढाउन, घरपरिवार धान्न, औषधि–उपचार गर्न धौधौ परेको छ । बिरामी परेको अवस्थामा घरखेत नबेची जीवन बाँच्ने औषधि किन्न नसकिने अवस्था छ । सीमित कुलीन वर्गले पुस्तौँदेखि लुटेको सम्पत्तिमा स्वर्गको आनन्द लिइरहेको छ । दरवारिया, कुलीन, राणाशाहीलगायतको जीवनशैलीमा अझैसम्म पनि कसैले प्रश्न उठाउने आँट गर्न सक्दैन । देशमा कानुनी शासनको प्रत्याभूति छैन, जसले जसलाई मारे पनि दलको नेताको सहायतामा जेलबाट सजिलै उम्किन सक्छ । मानवअधिकार, कानुनी शासन, भ्रष्टाचारमुक्त सरकारी सेवा, छिटोछरितो सेवा प्रवाह भन्ने जस्ता कुराहरू सपनामा पनि आउन छाडिसके । यस्तो अवस्थामा पनि मन्त्रीले नै भूकम्प पीडितका लागि आएका पालहरू चोरेर लग्छन्, औषधिमा कमिसन लिन्छन्, जागिरमा सेटिङ मिलाइन्छ, मन नपरेकालाई सम्पूर्ण सेवामा अवरुद्घ गर्ने काम गरिन्छ र सबै ढाकछोप गरेर मुख टालिन्छ । अदालतबाट ठूलठूला भ्रष्टाचारीहरूले सफाइ पाएर समाजमा चर्को दमन सुरु गर्छन् र त्यसलाई दलहरूले पनि साथ, समर्थन र सहयोग गर्छन् । राजनीतिको अपराधीकरण र अपराधीहरूको राजनीतिकरण सबैभन्दा ठूलो पेसा बनेको छ । कसैले सत्तारूढ दलको टिकट लिएकै भरमा उन्मुक्ति पाउछ र समाजमा खुलेआम चुनौती दिन्छ । यस्तो विषम परिस्थितिमा नेपाली समाज गुज्रिएको छ र यसलाई नै लोकतान्त्रिक, सार्वभौमसत्ता सम्पन्न एवम् कानुनी शासनको दुहाई दिने गरिएको छ । विगतमा नेपाली जनताले जनयुद्धको दशवर्षे लामो लडाइँमा सामन्तवादसँग ठूल्ठूला युद्धहरू बेहोर्न बाध्य भयो । यहाँका दलित, जनजाति, मजदुर, महिला, उत्पीडित तथा सिमान्तीकृत वर्ग सबैले मिलेर दुई सय चालीस वर्ष लामो जहानियाँ वंश, परिवारवाद, शाहवंशीय राजतन्त्रलाई धरासायी बनाए । यद्यपि, त्यतिबेलासम्म पनि नेपाली समाजमा जात, भात, छुवाछूतको चरम दमन र शासकीय अत्याचार छदै थियोे । नेकपा (माओवादी) पार्टीको अगुवाइमा चलेको एक दशक लामो जनयुद्धमा हजारौं नेपाली सपुतहरूले वलिदान गरे । यहीँ पृष्ठभूमिको जगमा स्थापित अहिलेसम्मकै उच्च वलिदानको इतिहास हामीले बेहोरेको अस्तिको दुःखद् घटनाको इतिहासमा मूल्यांकन अवश्य हुनेछ नै । जसले यस आन्दोलनमा आआफ्ना छोराछोरी गुमाएका छन् ती सबैले राज्यकोषबाट क्षतिपूर्ति लिएर चित्त बुझाउने अवस्था छैन । नेपाली समाजले चाहेको जस्तो सुशासनको प्रत्याभूति आजको मुख्य माग हो भन्ने कुरामा कुनै दुई मत हुन सक्दैन तर अहिलेसम्मकै ठूलठूला उपलब्धिलाई माटोमा मिलाउने सत्तासीनहरूको चरित्रले धेरै आशंकाको बादल मडारिएको भने अवश्य नै छ । अहिले चलिरहेको आन्दोलनको नेतृत्वकर्ता जेन–जी पुस्तालाई अब बिचौलियाहरूले घेरा हाल्नेछन् र देशलाई फेरि पुरानै चक्रव्युहमा फसाउने खेलतर्फ धकेल्ने प्रयत्न गर्नेछन् । यसरी देशमा जेन–जी पुस्ता पनि अछुतो नरहने अवस्थामा देशको हविगत फेरि पुरानै स्थितिमा मोडिने खतरा छदैछ ।
अहिले विषम परिस्थितिको फाइदा उठाउने ताकमा पूर्वराजावादी तत्वहरू सल्बलाउन थालेका छन् । उनीहरूले विगतमा गरेका जघन्य हत्याकाण्डलगायत भ्रष्टाचारका फेहरिस्तहरू नेपाली समाजले बिर्सेका छैनन्, तथापि बाहिरी साम्राज्यवादी शक्तिको गोटी बनेका शासकहरूले जुनसुकै मूल्य चुकाएर पनि आफ्नो गुमेको स्वर्ग फर्काउने भगिरथ प्रयत्न भने गरिरहने छन् । हामीले यस्ता प्रतिगामी तत्वहरूसँग पनि लड्नु पर्नेछ र राजतन्त्रका अवशेषहरूले इतिहासको गति पछाडि मोड्ने दुस्साहस गरेको खण्डमा दीर्घकालीन संघर्ष गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिदैन तर यदि पुराना सडेगलेका र इतिहासले रछ्यानमा मिल्काएका तत्वहरू सत्तामा आरुण भए भने हजारौं नेपालीको वलिदानले पनि त्यसलाई पूरा गर्न गाह्रो हुनेछ भन्ने तथ्य हामी सबैले हेक्का राख्नु जरुरी छ । माक्र्सले भनेझैं, ‘इतिहासमा कुनै पनि घटना सुरुमा त्रासदीपूर्ण र दोस्रोपटक नाटकीयरूपमा घट्ने गर्दछ ।’ ठीक यसैगरी राजावादी पुुनरुत्थानवादी तत्वहरू नाटकीयरूपमै भएपनि नेपाली जनताको स्वतन्त्रतामाथि धावा बोल्ने दुस्साहस गर्न सक्ने सम्भावना छदैछ । हामीले त्यतिबेला पनि उनीहरूको दाउपेचलाई परास्त गर्दै जनताको स्वतन्त्रताको प्रत्याभूति दिलाउने आन्दोलनको नेतृत्व गर्नुपर्ने हुन्छ ।
नेपाली राजनीतिमा केपी ओली एवम् एमालेको सरकारले जुनसुकै बेला पनि प्रतिगामी तत्वहरूसँग साँठगाँठ गरेर यहाँको सम्पूर्ण उपलब्धिलाई राजाको पाऊमा चढाउने रणनीति अपनाउने गरेको तथ्य कसैबाट छिपेको छैन । चाहे आम निर्वाचनमा पूर्वपञ्च वा राजावादी तत्वहरूसँग चुनावी गठबन्धन गरेको विषयमा होस् या दुई–दुईपटक संसद् विघटन गरेर प्रतिगामीहरूलाई चलखेल गर्नका लागि मार्ग प्रसस्त गरेर होस्, उनले जहिल्यै राजावादीको पक्षमा परिस्थिति निर्माण गर्ने उद्योग गरिरहेका छन् । यसपटकको आन्दोलनमा चरम ज्यादति गरेर गोली वर्षाउने नीति लिएर फेरि पनि प्रतिगामी तत्वहरूलाई सघाउन सफल भएका छन् । नेपाली सेनाले सत्ता हातमा लिएको अवस्थामा अबको रणनीति के हुनुपर्छ त ? यसबारेमा पनि विचार विमर्श हुनु जरुरी भइसकेको छ । नेपाली सेनाले यदि वातावरण शान्त र सहज भएपछि नेपाली जनतालाई नै सत्ता हस्तान्तरण गरेको खण्डमा निर्वाचनद्वारा चुनिएका प्रतिनिधिहरूले संविधान पुनर्लेखन गरेर शासकीय स्वरूपमा केही परिवर्तन गर्न सक्लान् तर यसरी गर्दा लामो समय गुज्रिनेछ र त्यसको फाइदा दरवारिया प्रतिगामी तत्वहरूले फाइदा उठाउन सक्नेछन् । आन्दोलनको राप, ताप र ऊर्जा सेलाउनु र प्रतिगामीहरू मौलाउँदै जानुले फेरि खतरा अगाडि नआउला भन्न सकिन्न । यसकारण यो सम्पूर्ण उपलब्धिलाई रक्षा गर्नका लागि सम्पूर्ण आन्दोलनकारी जेनजी पुस्ताका युवाहरूलाई म हृदयदेखि आह्वान गर्दछु । हामी यतातिर पनि सचेत हुनु जरुरी छ । एमाले, कांग्रेसलगायतका पार्टीमा लागेका इमानदार र देशप्रति जिम्मेवार व्यक्तिहरूले पनि आफ्ना नेताहरूको बहकाउमा नलागी सम्पूर्ण सत्ता नेपाली जनताको हुनुपर्छ भन्ने नारालाई उठाउनुपर्ने हुन्छ । पार्टीको नेता खराब हुनुको दुष्परिणाम आज कति भयावह अवस्थामा देश पुगेको छ भन्ने कुरामा एमाले, कांग्रेसलगायत पार्टीका सचेत, इमानदार तथा लोकतन्त्रप्रति वफादार नेता–कार्यकर्ताहरूले बेलैमा बुझ्नुपर्छ तर ढिला धेरै भइसकेको छ तैपनि समय अझै छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।
जेनजी पुस्ताले उठाएका मागहरू जायज छन् । उनीहरूको आवाजलाई दबाउने कसैले कोशिस नगरोस् । उनीहरू अब सचेत र जिम्मेवार नेताका रूपमा आफूलाई प्रस्तुत गर्नु पर्दछ । इतिहासमा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, अमेरिकी स्वतन्त्रताका प्रतीक जर्ज वासिङ्टन, जेफरसन सबै तपाईंहरूकै उमेरमा क्रान्तिको नेतृत्व सम्हालेका व्यक्तित्वहरू हुन् । गंगालाल श्रेष्ठ केवल सत्र वर्षको हुँदा हाँसीहाँसी शहीद भएका थिए भन्ने कुरालाई हामीले सम्झिनु जरुरी छ । अहिलेका नेताहरू जतिसुकै पाको भए पनि उनीहरूले देशलाई बुझेको भए यस्तो अवस्था कदापि आउने थिएन । तसर्थ आजको जेन–जी पुस्ता अत्यन्तै ऊर्जावान र विवेकशील हुनुपर्छ र तपाईंहरूको योगदानमा हामीले विगतमा हारिसकेको युद्ध पनि जित्दैछौँ । अबको हाम्रो जिम्मेवारी भनेको प्राप्त उपलब्धिको रक्षा र संरक्षण गर्दै अधिकतमभन्दा अधिकतम उपलब्धिका लागि संघर्ष केन्द्रित गर्नु पर्दछ भन्ने नै हो ।
आज देशभरिका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रममा प्रहरी धरपकड र ज्यादती भइरहेको छ, त्यसको प्रतिकार विचारका आधारमा गर्नु पर्दछ । सुधार, परिवर्तन र आमूल क्रान्ति भन्ने कुरा सजिलै प्राप्त हुने विषय हैनन्, यसका लागि तपाईंहरूका साथीहरूले रगतको वलिदानबाट प्रमाणित गरिसकेका छन् । अब कसैले पनि यस आन्दोलनलाई कम नठाने हुन्छ, इतिहासमा यस्ता विरलै घटनाहरू देखा पर्छन् ती फेरि सहजै प्राप्त हुँदैनन् अपितु संयोग जस्तो लागे पनि त्यसले इतिहासको लामो चक्र पार गरेर हाम्रालागि उपलब्ध भएको हुन्छ । राजधानी काठमाडौंलगायत देशभर सबैतिर प्रतिगामी, यथास्थितिवादी, भ्रष्टाचारी र आततायीहरूको भागाभाग सुरु भएको छ । यस्तो हुनुपर्ने अवस्थाको प्रमुख जिम्मेवार स्वयम् यिनीहरू आफै हुन् भन्ने कुरामा दुई मत छैन । हामीले अग्रगामी विचारका आधारमा मात्रै समाजका वास्तविक समस्याको निरूपण गर्न सफल हुन्छौँ र त्यसका लागि हामीले सम्पूर्णरूपमा आफ्नो शक्ति अग्रगामी परिवर्तनका लागि केन्द्रित हुनुपर्छ । आजको मुख्य माग पनि यहीँ हो । हरेक क्रान्तिकारी आन्दोलनका पछाडिबाट उत्तिकै ठूलठूला प्रतिक्रान्तिकारी एवम् पुनरुत्थानवादी षड्यन्त्रहरू भइरहेका हुन्छन् हामीले त्यसको समयमै पहिचान गर्नु पर्दछ । अन्यथा सारा लडाइँको उपलब्धि माटोमा मिल्न पनि बेर लाग्दैन । विगतमा हामीले थुप्रैपटक धोका खाइसकेका वियोगान्त इतिहासहरू छन् । त्यसबाट पाठ सिक्दै नयाँ र समुन्नत शासन प्रणाली स्थापनाका लागि अहिले चलिरहेको आन्दोलनमा हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।
शहीदहरूले जसरी आजको आन्दोलनमा आफ्नो सुरुवाती चरणमै वलिदानको कीर्तिमानी कायम गरे, त्यसलाई हामीले सदैव उच्च आदर गरेर उनीहरूले स्थापना गरेको मूल्य–मान्यतालाई बोकेर अगाडि बढ्नु पर्दछ । व्यक्तिगत लाभ–हानीले विकृत बनाएको हाम्रो समाजको फोहोरलाई हामीले नै सफा गर्नु पर्दछ । हामीले नयाँ पुस्तालाई सदैव आशाको नजरले हेरिरहेका छौँ र माओले भनेझैं, ‘यो समाज हामीहरूको पनि हो, तिमीहरूको (युवा वर्ग) पनि हो तर मुख्यतः तिमीहरूकै हो !’ ठीक यहीँ कुरालाई मनन गर्दै नेपाली समाजमा व्याप्त राजनीतिक भ्रष्टाचार र विकृति, विसङ्गतिलाई सदाका लागि हामीले फाल्ने अभियानमा सक्रिय रहनुपर्छ, आजको मूल राजनीतिक दायित्व यहीँ नै हो ।
-बलभद्र भारती
प्रकाशित मितिः २६ भाद्र २०८२, बिहीबार १०:०५

बलभद्र भारती ।