जेन–जीको नियन्त्रणमा देश

सुर्खेत: भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन थालेका जेन–जीहरूले देश नै आफ्नो नियन्त्रणमा लिएका छन् । आन्दोलनरत युवाहरूले मंगलवार राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिए ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेत नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेका उनीहरूले दुई दिनमा तख्तापलट नै गरिदिएका छन् । आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
पहिलो दिन सोमवार नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरूको आन्दोलनलाई सुरक्षा निकायले पनि नियन्त्रणमा राख्न सकेन । अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए ।
मंगलवारको आन्दोलन हिंसात्मक बन्न पुग्यो । युवाहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि संघीय संसद् भवन, सर्वोच्च अदालतसमेत थुप्रै कार्यालयहरूमा आगजनी गरे । नेताहरूका घर र निवास जलाए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत मुख्य राजनीतिक दलहरूका पार्टी कार्यालय पनि आगो लगाइएको छ ।
युवाहरू कतिसम्म रौद्र देखिए भने पूर्वप्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिसहितका नेताहरूलाई निवासमै पुगेर कुटपिट गरे, रक्ताम्मे बनाए । देउवा दम्पतीलाई कुटपिट र लछारपछार गरेर सेना र सशस्त्र प्रहरीको जिम्मा लगाएका छन् ।
मंगलवार मध्याह्न प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गरी आगजनी र तोडफोड गरेका थिए । उनीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछार पार्दै घरबाट निकालेर बाहिर आँगनमा ल्याए । त्यसपछि सुरक्षाका लागि तैनाथ सेना र सशस्त्र प्रहरीको जिम्मा लगाइदिए ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनपछि हिंसात्मक रूप लिएको थियो । दुई दिनको अवधिमा देशले इतिहासकै सबैभन्दा भयावह अवस्था देख्यो । काठमाडौंमा मात्रै होइन सोमवार देशभर नै युवाहरूले प्रदर्शन गरेका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा युवाहरू सडकमा उत्रिएर भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर पनि मंगलवार दिनभर तनावग्रस्त रह्यो । युवाहरूले राजनीतिक दलहरूको पार्टी कार्यालयदेखि सरकारी भवन र नेताहरूका निजी घरमा समेत तोडफोड र आगजनी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजानी गरेका हुन् ।
यसका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशसभा, मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवाससहित निजी निवास र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित घरमा पनि आगजनी गरिएको छ ।
त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सरकारी वकिलको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, नापी कार्यालय, वीरेन्द्रनगरको सिटीहल, वीरेन्द्रनगर नगरपालिका–६, वडा कार्यालयलगायतमा पनि तोडफोडका साथै आगजनी गरिएको छ ।
आन्दोलनले उग्र रूप लिएसँगै स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलवार बेलुका ४ः३० बजेदेखि लागू हुने गरी वीरेन्द्रनगर नगरपालिकाका केही क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जगदीशवर उपाध्यायद्वारा जारी आदेशअनुसार अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू हुनेछ । कफ्र्युको अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । शान्ति सुरक्षा कायम गर्न र सम्भावित प्रदर्शन तथा भेलालाई रोक्न यो आदेश जारी गरिएको जनाइएको छ भने तोकिएको सिमानाभित्र कसैलाई पनि आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
यसैबीच प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रूपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।
उनीहरूले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौँ । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौँ ।’
आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।
त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेन–जी पुस्तालाई अपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेन–जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् । विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन् ।
प्रकाशित मितिः २५ भाद्र २०८२, बुधबार ०९:३१
साझा बिसौनी ।