एकै ठाउँबाट यातायातसम्बन्धी सेवा प्रवाह

 

सुर्खेत: यातायातसम्बन्धी सबै सेवा अब यातायात व्यवस्था कार्यालय सुर्खेतबाटै उपलब्ध गराउने तयारी थालिएको छ । सेवाप्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन एकल बिन्दु सेवा प्रवाह प्रणाली लागू गर्ने योजना बनाएको छ ।
बुधवार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको

बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयलाई एकल बिन्दु सेवा प्रवाह प्रणाली लागू गर्न छनोट गर्ने निर्णय गरेको हो । एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि एउटै स्थानबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा प्रवाह हुनेछ ।

हालसम्म सवारी साधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास, सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता छ । यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ ।

यद्यपि, अहिले छलफलको सुरुवात मात्रै भएको छ । कहिलेदेखि कार्यान्वयन हुने भन्ने टुँगो छैन । कार्यक्रम कार्यान्वयनको योजनाबारे छलफल चलिरहेको यातायात व्यवस्था कार्यालय सुर्खेतले जनाएको छ । कार्यक्रम कस्तो ढाँचाबाट कार्यान्वयन गर्ने भन्नेबारे योजना निर्माण भइनसकेको कार्यालयका प्रमुख मुकुन्द्रनाथ योगीले बताए ।

मुख्यमन्त्री कँडेलले नागरिकलाई सहज सेवाका लागि यस्तो निर्णय गरिएको बताए । एकल विन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकै स्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मितिः   १९ भाद्र २०८२, बिहीबार ०५:०४