दैलेखमा प्राकृतिक ग्यास: परीक्षण उत्पादनको प्रक्रिया थालिने
दैलेख: दैलेखमा फेला परेको प्राकृतिक ग्यासको परीक्षण उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो चरणको अन्वेषण गरेको चिनियाँ कम्पनीबाटै दोस्रो चरणको काम गराउन नेपाल सरकारकाले आवश्यक प्रक्रिया थालेको हो । त्यसका लागि नेपालले चीन सरकारलाई आग्रहसमेत गरिसकेको छ ।
पहिले सम्झौता गरेकै कम्पनीबाट उत्पादन चरणको परीक्षणसहितको कामका लागि चीन सरकारलाई अनुरोध गरेर पत्र पठाइसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । ‘पहिलो चरणमा गर्नुपर्ने ड्रिलिङको काम सकिसकेको छ । दोस्रो चरणमा गर्नुपर्ने परीक्षण उत्पादनको काम हो’ उनले भने, ‘यसका लागि चीनलाई नेपाल सरकारले अनुरोध गरेको छ । दोस्रो चरणमा गर्नुपर्ने कामका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ परीक्षण उत्पादन भएपछि कुन ढाँचामा सञ्चालन गर्ने भन्ने सन्दर्भमा सरकारले छलफल भने अघि बढाएको छ ।
ग्यास उत्पादन परियोजना अहिले अध्ययनकै चरणमा छ । मिथेन ग्यास छ भन्ने पत्ता लागिसकेको छ । ग्यास भण्डारण मूल्यांकनको काम बाँकी नै छ । ग्यासको प्रकृति के–कस्तो छ भनेर सबै अध्ययन सकिएपछि मात्रै उत्पादनको चरणमा जानेछ ।
पहिलो चरणको अन्वेषणको विस्तृत प्रतिवेदन आगामी चार महिनाभित्र आउने भएको छ । नौ महिना लामो अध्ययन गरेर फर्किएको चिनियाँ प्राविधिक टोलीले आगामी पुस महिनाभित्रैमा विस्तृत प्रतिवेदन नेपाललाई बुझाउने तयारी गरेको हो ।
चाइना जियोलजिकल सर्भेले दिएको प्रारम्भिक रिपोर्टअनुसार भैरवी गाउँपालिका–१ जलजलेमा प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । उक्त रिपोर्टमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको उल्लेख छ । यो एउटा भण्डारको मात्रै हो । जलजले आसपासमा अन्य तीन वटा ग्यास भण्डार रहेको पनि प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । ग्यास उत्पादन सुरु भएमा यसले नेपाललाई ५० वर्ष पुग्ने बताइएको छ ।
यद्यपि, ग्यास उत्पादन नियमित गर्न भने समय लाग्नेछ । प्रारम्भिक रिपोर्टअनुसार काम थालेको तीन महिनामै परीक्षण उत्पादन गर्न सकिन्छ । तर व्यावसायिक उत्पादनमा जान धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । कुन मोडालिटीमा जाने ? के–के निकाल्ने ? सिधै ग्यास मात्र वितरण गर्ने हो भने भण्डारणको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उत्पादित ग्यासको प्रशोधन र पाइपलाइन विस्तारसहितका काम गर्नुपर्ने हुन्छ ।
सबै प्राविधिक काम गरेर मात्र व्यावसायिक उत्पादनमा जानुपर्ने भएकाले केही समय लाग्ने जनाइएको छ । व्यावसायिक उत्पादनमा जाने कुराबारे पनि अध्ययन भइरहेको छ । भदौको पहिलो साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आयल निगमका निर्देशक विनीतमणि उपाध्यायको संयोजकत्वमा बनेको अध्ययन समितिले पनि स्थलगत अध्ययन गरेको छ ।
यसरी गठित अध्ययन समितिले दैलेखमा पत्ता लागेको मिथेन ग्यास खाना पकाउनका लागि प्रयोग गर्ने कि हाइड्रोजन ग्यासबाट यातायात सञ्चालनमा प्रयोग गर्ने वा रासायनिक मल कारखाना खोल्न प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिवेदनका आधारमा सरकारले आगामी योजना बनाउने जनाइएको छ ।
प्रकाशित मितिः १९ भाद्र २०८२, बिहीबार ०५:०१
साझा बिसौनी ।