भेरी पम्पिङ आयोजना: पाइपलाइन विस्तारको काम धमाधम

सुर्खेत: भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो ।

अहिले सात किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । पहिलो प्याकेजको काम धमाधम भइरहेको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताए । उनका अनुसार वडा नं. ११ को चनौटे क्षेत्रमा पाइपलाइन विस्तारको काम सकिएको छ । बुधवारदेखि वडा नं. १ को धारापानीमा पाइपलाइन विस्तारको काम सुरु गरिएको छ । वडा नं. ७ मा सुरु भइसकेको काम जग्गा विवादका कारण रोकिएको छ भने वडा नं. १० को घुस्रामा पाइपलाइन विस्तारको काम धमाधम भइरहेको छ ।

चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको आयोजना प्रमुख शाहले जानकारी दिए । पहिलो चरणमा पाइपलाइन विस्तारसँगसँगै आयोजना प्रभावित क्षेत्रमा रुख कटानको काम पनि अघि बढाइने उनले बताए । रूख कटानका लागि डिभिजन वन कार्यालय सुर्खेतसँग समन्वय भइरहेको छ । आयोजना निर्माणका लागि एक हजार चार सय रुख कटान गरिनेछ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र लेकवेशी नगरपालिका वडा नं. १० को सामुदायिक वन आयोजना क्षेत्रमा पर्दछन् । उक्त स्थानमा रुख कटानका लागि पहल भइरहेको प्रमुख शाहले जनाए । अबको एक हप्तामा रुख कटानको काम अघि बढाउने गरी पहल भइरहेको आयोजनाले जनाएको छ । रुख कटान गरेसँगै आयोजना निर्माणका अन्य काम पनि अघि बढ्नेछन् । आउँदो दसैँभन्दा अघि नै रुख कटानको काम सकेर आयोजना निर्माणका अन्य काम अघि बढाइने उनले जनाए ।

आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने भएको हो । भेरीको पानी सिधै अमृत डाँडामा खसालिनेछ । तिहारसम्ममा इन्टेक निर्माणको गरिनेछ ।

आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन । निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पाइपलाइन विस्तारको काम भइरहेको छ भने रुख कटानको काम केही दिनमा सुरु गरिनेछ । बाँकी पानी प्रशोधन केन्द्र निर्माण र इन्टेक निर्माणको काम चाँडै सुरु गर्ने तयारी छ ।

आयोजनाको काम अहिले धमाधम अघि बढिरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । पाइपलाइन विस्तार, ट्याङ्की निर्माणलगायतका काम धमाधम भइरहेको उनले जनाइन् । नगरपालिकाले चालु आर्थिक वर्षमा आयोजना निर्माणका लागि दश करोड बजेट विनियोजन गरेको छ । तीन तहकै सरकारको समन्वयनमा काम भइरहेको छ । आयोजना निर्माणका लागि समन्वय गरेर काम भइरहेको भण्डारीले बताइन् । समयमै आयोजना सम्पन्न गरेर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले समेत उक्त आयोजनालाई प्राथमिकतामा राखेको छ । सहलगानीमा सञ्चालनमा रहेका भेरी पम्पिङ आयोजना र सल्यानको शारदा नगरपालिकामा रहेको जर्खु लिफ्टिङ आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले २४ करोड बजेट विनियोजन गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष २०७९/०८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ आयोजना अघि बढाइएको हो ।

भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा पानी ल्याइनेछ । पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब दश मिटर गहिरो इन्टेक निर्माण गरिनेछ । जसमा दुईवटा इन्टेक रहने छन् । दुईमध्ये एकले कुनै कारण काम गर्न छाडे वा सरसफाइ गर्नुपरे सप्लाईमा कुनै बाधा नहुने जनाइएको छ । त्यसपश्चात् इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइप लाइन विस्तारसँगै अमृत डाडाँमा रिजर्भ ट्यांकी निर्माण हुनेछन् ।

यस्तै पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ ।

प्रकाशित मितिः   १९ भाद्र २०८२, बिहीबार १०:००