अस्पतालको सेवा सुधारमा जोड

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको सेवा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । सोमवार अस्पतालबाट भइरहेको सेवा प्रवाह, देखिएका समस्या तथा सुधारका विषयमा अस्पताल व्यस्थापनसँग छलफल गर्दै मुख्यमन्त्री कँडेलले देखिएका समस्या समाधान गर्दै सेवामा सुधार ल्याउनुपर्ने बताए ।

अस्पतालले दिने सेवाप्रति आम नागरिक विश्वस्त हुने वातावरण बनाउनुपर्ने कँडेलको भनाइ थियो । अहिले नागरिकबाट अनेक गुनासा आइरहेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताए । ‘नागरिकका धेरै गुनासा आइरहेका छन्’ उनले भने, ‘त्यस्ता गुनासो न्यूनीकरण गर्ने गरी सेवा प्रवाहका लागि अस्पताललाई सक्षम बनाउनु पर्दछ ।’

अहिले भएकै जनशक्ति भरपुर प्रयोग गरेर स्वास्थ्य सेवामा सुधार ल्याउन सकिने जिकिर मुख्यमन्त्री कँडेलले गरे । ‘अस्पताल आएको कुनै पनि विरामी सेवा सुबिधाबाट वञ्चित हुनु हुँदैन’ उनको भनाइ थियो ।

विगतमा अस्पतालमा व्यवस्थापन केही समस्या भएपनि अहिले अस्पतालका निर्देशक नियुक्त भइसकेको अवस्थामा झन् प्रभावकारी सेवा दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए । छलफलका क्रममा जनशक्तिको सिमितता र बढ्दो बिरामीको चापबीच सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालय, अस्पताल व्यवस्थापन तथा विभागिय प्रमुखहरूबाट प्रतिवद्वता व्यक्त गरेका छन् । केही समय प्रमुखविहीन बनेको प्रदेश अस्पतालमा सरकारले हालैमात्र डा. गणेश थापालाई अस्पताल निर्देशकमा नियुक्त गरेको छ ।

प्रकाशित मितिः   १० भाद्र २०८२, मंगलवार ०५:०१