डा. केसीको ‘स्वस्पर्श’ लोकार्पण

सुर्खेत: डा. नवराज केसीको पुस्तक ‘स्वस्पर्श’को गृह लोकार्पण गरिएको छ । फाइनप्रिन्टद्वारा प्रकाशित स्वस्पर्श केसीको दोस्रो कृति हो ।

यसअघि उनको पहिलो पुस्तक ‘शून्यको मूल्य’ प्रकाशित छ । उक्त पुस्तकमा सास, साहस र स्नेहको कथा लेखेका केसीले दोस्रो कृति स्वस्पर्शमा आशा, प्रेरणा र खुसीका कथा लेखेका छन् ।

पुस्तकबारे टिप्पणी गर्दै लेखक सुविन भट्टराईले यो पुस्तक सबैले पढ्नुपर्ने बताए । पुस्तकमा समावेश कथाहरूले सबैको मन छुने र प्रेरणा दिने समेत उनले जनाए । प्रकाशन संस्था फाइनप्रिन्टका अजित बरालले उत्कृष्ट पुस्तक प्रकाशन गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

लेखक केसीले पुस्तक लेखनका क्रममा धेरै मान्छेहरूको कथा सुनेर त्यसमध्ये केहीका कथा लेखेको बताए । ‘मैले धेरै मान्छेहरूका कथा सुनेँ, उनीहरूसँग संवाद पनि गरेँ’ उनले भने, ‘तर ति कथाहरू मात्रै लेख्न सकेँ जसमा म त्यो मान्छे बनेँ ।’

प्रकाशित मितिः   १ भाद्र २०८२, आईतवार १०:५६