नेटवर्किङमार्फत ठगी गर्नेविरुद्ध मुद्दा

सुर्खेत: नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा सुर्खेतस्थित स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धानपछि करिब ६४ लाख रूपैयाँ विगो मागसहित आठ जनाविरुद्ध जिल्ला अदालतमा ठगी कसुरमा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार रोजगारी दिने प्रलोभन देखाएर स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि. र ग्लोबल ओरियन्स नेपाल प्रा.लि. मार्फत एक सयभन्दा बढी युवाबाट ५० हजारदेखि दुई लाखसम्म असुल गरिएको थियो । गत साउन ५ गते प्रहरीले वीरेन्द्रनगर–३, मूलपानी चोकस्थित कार्यालयमा छापा मारेर ठगीमा संलग्नहरूलाई पक्राउ गरेको थियो ।

‘प्रारम्भिक चरणमा पक्राउ परेकामाथि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेस गरिएको छ,’ शाहीले भने, ‘यसमा थप पीडितहरू सम्पर्कमा आइरहेका छन् ।’ उनका अनुसार यसअघि पनि वीरेन्द्रनगरलगायत विभिन्न शहरमा रोजगारीको प्रलोभनमा पिरामिड शैलीमा ठगी हुने घटना बढ्दो क्रममा रहेको छ ।

सर्वोच्च अदालतले १४ वर्षअघि नै नेटवर्किङ व्यवसायलाई गैरकानुनी ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । तर पछिल्ला वर्षमा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ का आधारमा घुमाउरो तरिकाले इजाजतपत्र वितरण भएपछि यस्ता कम्पनी फेरि सक्रिय भएका छन् ।

सुर्खेतमा पक्राउ परेका स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालकहरूले ग्लोबल ओरियन्स नेपाल प्रा.लि. मा रोजगारी लगाइदिने भन्दै बेरोजगार युवालाई रकम असुल गरेको प्रहरीले जनाएको छ । हालसम्म देशभर विभिन्न नाममा दर्ता भएका करिब दर्जन कम्पनीले कार्यालय स्थापना गरी सामाजिक सञ्जालमार्फत पिरामिड शैलीको सञ्जाल विस्तार गरिरहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ ।

कानुनले वस्तु वा सेवामा आधारित नभइ केवल सदस्यता, शुल्क वा प्रलोभनमा आधारित सञ्जाल विस्तारलाई गैरकानुनी माने पनि यस्ता गतिविधि खुलेआम भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले यसबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः   १ भाद्र २०८२, आईतवार १०:५३