बजेट कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता
सुर्खेत: कर्णाली प्रदेश सरकारले वार्षिक बजेट तथा योजना कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि दश बुँदे प्रतिबद्धता गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षासहित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम कार्यान्वयन तथा कार्ययोजनाका लागि भएको कार्यशालाबाट दश बुँदे प्रतिवद्धता गरिएको हो ।
प्रीतबद्धतामा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा संघीय समपूरक, विशेष र सशर्त अनुदान स्रोतबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने उल्लेख छ । त्यसैगरी मासिक कार्ययोजना बनाएर बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दै निर्धारित लक्ष्य हासिल गर्ने पनि जनाइएको छ ।
कर्णाली प्रदेश आर्थिक ऐन–२०८२ को कार्यान्वयन गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट तोकिएको लक्ष्य बमोजिम राजश्व संकलन गर्ने, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक नयाँ कार्यविधि, निर्देशिका तथा मापदण्डहरू तर्जुमा तथा विद्यमान कानुनमा संशोधन गर्नुपर्ने भए आउँदो भदौ मसान्तभित्र मस्यौदा तर्जुमा गरी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अबण्डाका रूपमा रहेको रकम पनि भदौ मसान्तभित्र बाँडफाँट गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी बहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फस्र्यौटको लागि भदौ मसान्तभित्र कार्ययोजना बनाएर बेरुजु असुल गर्ने, बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाई प्रभावकारी र नतिजामूलक अनुगमन गर्ने, उपलब्ध स्रोत र साधनको मितव्ययी, दक्षतापूर्ण र प्रभावकारी प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय, नतिजामूलक र नागरिकमैत्री बनाउनेदेखि आयोजना बैंक र आयोजना छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधिको कार्यान्वयन गरी समयबद्ध रूपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
प्रकाशित मितिः ३१ श्रावण २०८२, शनिबार ०८:०१
साझा बिसौनी ।