निर्माणाधीन सडक निरीक्षण

सुर्खेत: पूर्वाधार विकासका आयोजना अनुगमन र निरीक्षणलाई प्राथमिकतामा राखेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंगलवार निर्माणाधीन लखरपाटा–खम्बागाडे–मुरमुरी–जामु–सुनकाँडा सडकको निरीक्षण गरेका छन् । सडकको अवस्था र निर्माण कार्यमा भएको प्रगतिको स्थलगत अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा उनले समयमै सडक निर्माण कार्य पूरा गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए । साथै सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।
सडक अनुगमनका साथसाथै मुख्यमन्त्री कँडेलले मंगलवार नै चौकुने गाउँपालिका वडा नं. ६ को नवनिर्मित भवनको उद्घाटनसमेत गरेका छन् । भवन उद्घाटन गर्दै उनले कुनै पनि विकास निर्माणका काम जनताले तिरेको करबाटै सञ्चालन हुने बताए । जनताले दिएको करलाई उपयोग गरेर सरकारले जनताकै लागि विकास आयोजनाहरूमा लगानी गर्ने कँडेलले जनाए ।
कुनै पनि विकास आयोजना सञ्चालन हुँदा त्यसको जस लिने होड चल्ने गरेकोतर्फ संकेत गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने बजेट जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने बताए । ‘संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, कसैको व्यक्तिगत सम्पत्ति होइन’ उनले भने, ‘मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन ।’
योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी आएकोतर्फ पनि मुख्यमन्त्री कँडेलको सचेत गराए । ‘सबै नागरिकले हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके त्यो आयोजना पनि दिगो हुन्छ’, उनले भने ।
प्रकाशित मितिः २८ श्रावण २०८२, बुधबार १४:२०
दिपेश दाहाल ।