बालिकामाथि बर्बरता

ढुँगाले हानेर घाइते बनाए, लखेटेर नियन्त्रणमा लिए र सामूहिक बलात्कार गरे

सुर्खेत: बालिकाहरूमाथि भइरहेका बर्बरता एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । हालै मात्रै दैलेखमा एक बालिका बर्बरतापूर्ण बलात्कारको सिकार भएकी छिन् । १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी हुन् ।

पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी १३ वर्षीया नाबालिकालाई दुईजना स्थानीय युवाले बलात्कार गरेका छन् । बलात्कार आफैमा जघन्य अपराध हो । त्यसमाथि नाबालिकामाथिको बलात्कारको घटना अझ बर्बरतापूर्ण छ ।

घटना साउन २२ गते बिहीवारको हो । प्रहरीले दिएको जानकारीअनुसार बिहीवार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाँचिरहेका थिए । स्थानीय १३ वर्षीया बालिका पनि साथीहरूसँग नाँच हेर्न पुगेकी थिइन् ।

राति निकै ढिलोसम्म नाँच चलेको थियो । निन्द्रा लागेपछि अन्य चारजना साथीहरूसँगै राति करिब १ बजेतिर उनी पनि सुत्न भनेर घरतिर लागिन् । बाटोमा दुईजना युवकले उनीहरूलाई जिस्काउँदै हातपात गर्न खोजे । उनीहरू थिए, सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी ।

गोविन्द र खगेन्द्र जबरजस्ती आइलागेपछि बालिकासहित उनका साथीहरू भागे । अन्यले अँध्यारोमा दौडिँदै भागेर ज्यान जोगाउन सफल भए तर १३ वर्षीय ती बालिकापछि परिन् । प्रहरीका अनुसार दुईजना युवाले लखेटी–लखेटी पछाडिबाट ढुङ्गाले हाने । उनीहरूले हानेको ढुङ्गा बालिकाको दाहिने पाखुरामा लाग्यो । ढुँगोको चोटले उनी दौडिन सकिनन् । त्यसपछि उनी लखेट्दै आएका गोविन्द र खगेन्द्रको नियन्त्रणमा परिन् । ‘उनलाई निकै चोट लागेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘उनी पीडाले ढलिन् ।’

चोटले घाइते भएकी एक्ली बालिकालाई दुईजना युवक मिलेर जबरजस्ती एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीहरूले ती बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले निरिक्षक सुनारले जानकारी दिए ।

भागेर घर पुगेका उनका साथीहरूले खबर गरेपछि मात्रै घटनाबारे थाहा भयो । त्यसपछि बालिकाका आफन्त र स्थानीयवासी राति नै बालिकाको खोजीमा निस्किए । उनीहरू घटनास्थल नजिक पुगेको थाहा पाएपछि बलात्कार गर्ने युवाहरू त्यहाँबाट भागेका थिए । बालिका बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक सुनारले जनाए । स्थानीयका अनुसार उनको हात मर्केको थियो भने शरीरबाट रगत बगिरहेको थियो । हतारहतार बोलेरो गाडीमा राखेर उनलाई दैलेख अस्पताल पु¥याइएको थियो । उनको अस्पचालमा उपचार भइरहेको छ ।

शुक्रवार पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दैलेखले तत्कालै दुवै आरोपितलाई पक्राउ गरेको प्रहरी निरीक्षक लालबादुर सुनारले जानकारी दिए । ‘दुवैलाई हिरासतमा राखेर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ,’ उनले भने ।

बालिकाको दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार भइरहेको छ । उनको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको छ । पीडित बालिकाका आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा छन् । आफन्तहरूका अनुसार उनी दैलेखमा घरको रेखदेख गर्दै विद्यालयमा पढ्ने गरेकी थिइन् ।

कर्णालीका बालिकाहरू लगातार बलात्कार र जबरजस्तीकरणीजस्ता जघन्य अपराधको सिकार बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्याङ्कअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ ।

प्रकाशित मितिः   २६ श्रावण २०८२, सोमबार १२:१४