वाम एकताः अर्को एक प्रहसन !
फ्रान्सको क्रान्तिमा राजा फाल्ने र धर्मनिरपेक्षता कायम गर्ने पक्षमा लागेका सांसद प्रायः बायाँ अर्थात दक्षिणतिर बस्ने गर्थे तसर्थ तिनलाई वामपन्थी भनिएको हो, भन्दछन् विषय विज्ञ तथा जानकारहरू । कालान्तरमा वामपन्थी शब्द कम्युनिष्टको पर्यायवाची बन्न पुग्यो । पछिल्लोपटक वाम एकताको नाममा फेरि छलफल र बहस हुन थालेको देखिन्छ । कम्युनिष्टको मुलथलो रुसमा कम्युनिष्ट शासन ढलेर साम्यवादको यात्रा असफल भइसकेपछि यसको औचित्य नै समाप्त भइसकेको छ । तर हाम्रो देशमा वामपन्थीहरूले साम्यवादको स्तुति गर्न छोडेका छैनन् । जुँगाको लडाइँबाट टुक्रिएर छरिछिट्यान भएका दरिद्र वामपन्थीहरू नाङ्लो थापेर बासी साम्यवाद बेच्न खोजिरहेका छन् । पसल चल्न छोडेपछि तिनीहरूलाई वाम एकताको भोकले असाध्यै सताउने गर्छ ।
नेपालमा स्थापित पुरानो वामपन्थी पार्टी र नयाँ क्रान्तिकारी वामपन्थी पार्टी एकीकृत हुँदैछन् भन्ने खबर सतहमा आयो । ती पार्टी आपसमा झगडिएर उधुम मचाएका थिए । पार्टीको आन्तरिक छलफल, निर्णय, नेता–कार्यकर्ताको कुनै विचार सल्लाह केही आवश्यकता परेन, ‘झट् मगनी फट् बिहा’ भने झैं रातारात पार्टी एकीकरण भयो । तर केन्द्रदेखि तल्लो इकाईसम्म कसरी मिलाउने भन्ने विषयमा कुनै गृहकार्य हुन सकेन । किनभने त्यहाँ कसैलाई देखाउन नहुने गहिरो स्वार्थ थियो । बिहानीले दिन देखाउँछ भने झैं सुरुमा एउटा मन्त्रालय फुटालेर बुहारीलाई मन्त्री बनाइयो यो नै अशुभको संकेत थियो किनकि पार्टीमा संघर्ष गरेका, कुनै बदनाम नखेपेका, योगदान दिएर उचाइ कायम गरेका नेताहरूलाई लत्याएर परिवारवादको खामो गाडिएको थियो । संसारमा सित्ती हेर्न सुन्न नपाइने अर्को तमासा के थियो भने एउटा संस्थामा दुई जना अध्यक्ष । पार्टी लथालिङ्ग छ तर अध्यक्ष नभइ भएको छैन । यो पनि अनिष्टको अर्को संकेत थियो । अध्यक्ष–अध्यक्ष बीच कामको बाँडफाँडमा कुरा मिलेन, भात भान्सामा चित्त बुझेन झगडा चर्किंदै गयो । झगडा चर्किएपछि बल्ल बाहिर आयो एउटा आन्तरिक गोप्य तमसुक । तमसुकमा लेखिएको थियो प्रधानमन्त्री पद दुई जना अध्यक्षले बराबर बाँडेर खाने । तमसुक सार्वजनिक भएपछि आपसमा हिलो छ्यापाछ्याप, सुन्न नसकिने कुकुर झगडा र पानी बाराबारको स्थिति जनताले हिजो देखेकै हुन् । स्वार्थ बाँझिएपछि जेठा अध्यक्षले संसद् विघटन गरेर कलंकको टीका लगाए । रन्थनिएपछि कान्छा अध्यक्ष परचक्री गुहार्न गए, लौन प्रभु हाम्रो औकातले पुगेन हजुर प्रधानमन्त्री पद खाइदिनुस हामी अभागीलाई त्राण दिनुस कम्फोर्टटेबल हुन्छ ।
ठूलो भाग समाउने अति महत्वकांक्षा र अस्थिर प्रवृतिले घर न घाट भएका कोही वामपन्थीहरू देश र जनताका लागि भन्दै आपसमा अंगालो हालेर एकढिक्का भएको भनी डंका पिटेका छन् । सत्ताशक्ति दुरूपयोग गरेर सरकारी जग्गा मासी खाएको आरोपमा डामिएका छन् । कतिलाई तस्करसँग कुम जोडेर सुन ओसारेको बात लागेको छ । यिनका कैफियत बदनाम कर्तुत र बदमासीका काण्डहरू गाउँ सहरमा गनाइ रहेका छन् । धाकभन्दा धक्कु ठुला हिँड्ने बेला खुट्टा लुला भने झैं मागेजस्तो वरियतामा राखेर हैसियत दिने हो भने यहाँ तुरुन्त समाजवाद लाइदिने रे । मानौं श्रीमतीले समाजवाद गरगहनासँग बाकसमा थन्काएकी छन् । यता जाउँ कि उता जाउँ, अब यो खाउँ कि त्यो खाउँ भएका ढुलमुले चरीत्र र प्रवृतिलाई समयले किनारा मा कोचिसकेको छ । आन्दोलनमा जेलनेल खाएको संघर्षमा कष्ट भोगेको भन्दै सदाकाल राज्यबाट ब्याज खान पल्किएका छन् वाम एकताका सुत्राधारहरू । देशको राजनीतिमा अग्रसर हुन खोज्ने वामपन्थीहरूले प्राय आफ्ना छोराछोरी अमेरिका र क्यानाडा जस्ता आर्थिक दृष्टिकोणले अति महँगा मुलुकहरूमा पढाएका छन् । त्यो कसरी सम्भव भयो भन्ने प्रश्नको जवाफ कसैले दिएका छैनन् । चित्तबुझ्दो जवाफ नपाउँदासम्म हिजो बैंक लुटेर, जनताका छातीमा बन्दुक तेर्साउँदै भनेजति चन्दा असुलेर थुपारेको नगद र सुनले त्यो व्यवस्थापन भएको हो भन्ने विश्वास राख्नै पर्नेहुन्छ । सत्तामा पुग्दा आफन्तलाई स्वकीय सचिव बनाएर कमिसन कुम्ल्याउने, सुन तस्करसँग चोचोमोचो मिलाउने, सत्ता फुत्किएपछि मात्रै ठुला कुरा हाँकेर समाजवाद र साम्यवाद ल्याउने । अनि जनताले पत्यादिन्छन् वामपन्थी घटकलाई ?
संसारका मजदुर एक हौँ । मान्छेको अन्तर्राष्ट्रिय जाति हुनेछ । सामुहिक नेतृत्व व्यक्तिगत जवाफदेही । यी सब भन्ने कुराहरू अर्थात् आडम्बर मात्र रहेछन् । मौका पाउँदा चौका हानेर देश लुटेको पैसा व्यवसायमा लगानी गरेको अनेक तथ्यहरू मिडिया र पुस्तकबाट आइरहेका छन् । नयाँ निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल र भ्युटावरहरूमा भ्रष्टाचार गनाएको छ । सरकार ढालेर आफ्नो बनाउनका लागि हिजो विदेशीसँग ठूलो रकम मागेको अडियो रेकर्ड सार्वजनिक हुन्छ, तर छानबिन हुँदैन । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलबाट कमिसन बुझेको खबर मिडियामा प्रशारण हुन्छ फेरि पनि छानबिन हुँदैन । उच्च र सम्मानित पदमा आसिन तिनै व्यक्ति नसाले मैमत्त भएर महिला कर्मचारीमाथि बलात्कार प्रयासमा आसक्त हुन्छन् तर सजायको कर्मकाण्ड मात्रै पु¥याएर मुक्त गरिन्छ, विद्युतीय चुरोट भेपमा सुन तस्कर गर्नेसँग सम्बन्ध देखियो त्यतिबेला पनि बिरामी भनि छोडियो । त्यस्ता पतित पात्रलाई न पार्टीले कारबाही गर्छ न त कानुनले । दण्डहीनताको पराकाष्ठा नाघेर पार्टीमै ढलिमली गरिरहेका छन्, अनि कम्युनिष्टप्रति जनतामा कसरी जाग्छ आस्था, कसरी पलाउँछ विश्वास ?
कम्युनिष्ट ब्रान्डका खुद्रा पसल प्रतिको वितृष्णा हो, जनताको हक र अधिकारका निम्ति स्थापना भएको संगठनप्रति कतै अनादर होइन । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी जस्ता निस्कलंक व्यक्तित्वहरूले सामाजिक समानताका लागि नै पसिना रोपेका हुन् । खोक्रो साम्यवादले जनविश्वास जोगाउन सक्दैन भन्ने बुझेर नै मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त प्रतिपादन गरेका हुन् । संसदीय व्यवस्थामा प्रतिस्पर्धाबाट बहुमत आएको खण्डमा जनतामा समानता ल्याउने भन्ने यो विचारले भण्डारीलाई चर्चाको उच्च शिखरमा पु¥याएको मात्र होइन विश्व राजनीतिमा पनि हलचल ल्यायो । यसै कारणले भण्डारीको हत्या भएको भनी बराबर टिप्पणी भए पनि हत्या होकि मृत्यु हो भन्ने बारे आधिकारिक पुष्टि भैसकेको छैन ।
देशको उन्नति, प्रगति र जनताका हकहितको प्रत्याभूत गर्ने भाष्यको लेपनमा आफ्ना परिवारको व्यवस्थापन र आफुले कुनै पद हत्याउने अभिष्टका साथ वाम एकतामा लाग्ने गर्छन खुद्रा पसलहरू । तिनले खडा गरेको नचल्ने पसलमा आफ्नै छोराछोरी नातागोता पदाधिकारी र सदस्य हुने गरेका छन् भने पसल धनी जीवनभर नेतृत्व छोड्न मान्दैनन् । खासमा भन्दा टुक्रिन–छुट्टिन जति सजिलो हुने गर्छ वामपन्थीलाई एकतामा जोडिन निकै सास्ती हुन्छ । किनकि त्यहाँ पद सिमित व्यवस्था हुन्छ र सबैलाई भाग पुग्दैन । भाग नपाएसम्म एकताको छातामा आउँदैनन् र जनताको हक अधिकारको प्रत्याभूत त्यहाँ हुने नदेखिएकाले विद्रोह गर्दै बाहिरिनु परेको भन्ने विङ्गा लगाउन समेत पछि पर्दैनन् । अहिले संकट छ, एकता गरौं नत्र सकिन्छौं भन्दै लागिरहेका छन् कोही वामपन्थी । राजनीतिक एकताको सान्दर्भिकता विगतले देखाइसकेको छ ।
थारु, मुस्लिम, जनजाति, पिछडावर्ग, निमुखाको मसिहा हौँ हामी सामुहिक नेतृत्वमा विश्वास गर्छौं र आन्तरिक लोकतन्त्र लाई मजबुत पार्छौं भनेर जतिसुकै गफ चुटेपनि व्यवहारले त्यस्तो देखाएको छैन । बरु अनेकन तिगडम तेर्साएर लाज पचाएर सर्वसत्तावादी हुने बाटो तय गरेको, छोरी–बुहारी, ज्वाईं–सम्धी र नातागोतालाई राजकीय पदमा हुलेको प्रष्ट देखिन्छ । यो संविधानका कारण कसैको बहुमत आउन नसक्ने र सरकार ले स्थिरता दिन नसक्ने भएकोले गठबन्धन गर्नुपर्ने भएको हो भनी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्रीले सार्वजनिक रूपमा खुलासा गरेका छन् । त्यसैलाई पुष्टि हुने गरि संविधान निर्माणका क्रममा जानाजान यस्तो अस्थिरता घुसाइएको हो भन्ने ढंगबाट बहालवाला प्रधानमन्त्रीले एउटा टेलिभिजनको अन्तर्वार्तामा बोलेका छन् । जनताको सुझाव र धारणा नसमेटेको भनी सुरुदेखि नै संविधान विवादमा परि रहेको छ । दिनप्रतिदिन जनविश्वास घट्दै गएकोले जसरी पनि सत्तामा झुण्डिन अस्थिरता घुसाइएको हो भनी बुझ्न कठिन छैन । भ्रष्टाचार, बेथिति बढिरहेको छ, प्रतिशोध र पूर्वाग्रहलाई सत्ताले महŒव दिएको छ, फरक धार विचारलाई पूर्णनिषेध गरिएको छ र सरकार अकर्मण्यतामा चलिरहेको छ । जनतामा यति निराशा चुलिएको छ की विश्वास जगाउन सक्ने आधार केही नदेखिंदा कसैको पार्टी एकता र विघटनले पनि आक्रोशको आगोमा घिउ थप्ने गरेको छ ।
-उमालला आचार्य
प्रकाशित मितिः १८ श्रावण २०८२, आईतवार ०५:०४

उमालाल आचार्य ।