फोहोरमा मोहर खोज्दै महावीर
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का महावीर विकलाई यतिबेला भ्याइ–नभ्याइ छ । पहिला मिस्त्री काम गरेर घरधन्दा चलाउने गरेका उनी उक्त काम छोडेर फोहोरबाट मोहर बनाउन होमिएका छन् ।
वीरेन्द्रनगर बजारमा फालिएको प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै आठ सयभन्दा बढी उनले आम्दानी गर्ने गरेका छन् । उनी भन्छन्, ‘पहिले मिस्त्री काम गर्थें, काम नपाइने जस्ता समस्या थियो, अहिले भ्याइ–नभ्याइ छ ।’ महावीरलाई गरिबीका कारण अधिकांश दिन एकछाक भोकभोकै बस्नुपर्ने बाध्यता थियो । फोहरमा मोहर खोज्न थालेपछि त्यो समस्या हटेको छ । वीरेन्द्रनगरमा ए.के कवाड कलेक्सनमा उनले संकलन गरेका कवाडीका सामान बेच्ने गरेका छन् । यही सामान बेचेर पाँच जनाको परिवारको गुजरा चलाउँदै आएका छन् । बुधवार बिहान महावीर वीरेन्द्रनगरको आँखा अस्पताल चोकमा प्लाष्टिकको झोला, डब्बाहरू फोहरबाट टिप्दै बोरामा राख्दै गरेको अवस्थामा भेटिए । उनले भने, ‘पहिले हामीलाई दुई छाक हातमुख जोर्न कठिनाइ थियो । फोहोरबाट प्लाष्टिक उठाएकै कारण हामीलाई दुई छाक सजिलै खान पुगेको छ ।’
उनले फोहर प्लाष्टिक र डब्बाबाट दैनिक आठ सयदेखि एक हजारसम्म आम्दानी गर्दै आएको बताए । ‘कवाडीवालाले हामीसँग प्रतिकेजी २५ रूपैयाँको दरले प्लाष्टिक किन्ने गरेका छन् । अहिले दैनिक रूपमा सामान संकलन गरेर बेच्ने गरेको छु ।’ प्लाष्टिकको झोला, बोतललगायत प्लाष्टिक सामग्री टिप्दै जम्मा पार्ने समूहहरू जताततै भेटिने गरेको उनले सुनाए । उनले दैनिक १५ देखि ३० केजी प्लाष्टिक बटुलेर कवाडीमा बेच्ने र कवाडीबाट इन्डस्ट्रिजले प्रतिकेजी २५ रूपैयाँको दरले किन्दै आएको छ । महावीर तीन वर्षदेखि फोहोर संकलन गरेर बेच्ने काममा निरन्तर लागिरहेका छन् ।
सोही वडाकी लक्ष्मी नेपालीसमेत दुई वर्षदेखि फोहोरको डङ्गुरमा मोहर कमाउन व्यस्त छिन् । उनले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई पढाउन यो आम्दानीले सहज भएको बताइन् । ‘बाहिर काम सजिलै पाइँदैन, पाइहाले पनि हामी नपढेकाले महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रूपैयाँ कमाउन मुश्किल छ’, फोहोरमा कवाडी सामान खोजेर बेच्दा राम्रो आम्दानी हुने तर्क गर्दै उनी भन्छिन्, ‘मैले यहाँ (कवाड सामान संकलन) गरेर दिनमै एक हजार जम्मा गर्छु ।’ लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम् दैनिक एक हजारको कमाइ भनेको महिनामा ३० हजारको हो ।
लक्ष्मी र महावीरजस्ता व्यक्तिहरू वीरेन्द्रनगरको मुख्य–मुख्य चोकहरूमा पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरू बोरामा संकलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरूमा बेच्न पुग्छन् । दिनको पाँच सय रूपैयाँदेखि एक हजारसम्म कमाउन सकिने उनीहरूले बताएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यत्रतत्र प्रयोग भएका प्लाष्टिकका सामान फालिएका हुन्छन् । वीरेन्द्रनगरको मुख्य चोक, होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरू उनीहरूले टिपिरहेका हुन्छन् ।
कवाडबाटै करोडौंको मालिक
रोजगारी नपाएको भन्दै कर्णालीबाट सयाैँ युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कर्णालीका युवाहरूको पहिलो गन्तव्य भारत हो । परिवारको सामान्य गुजरा चलाउन उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ पसिरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत बेचेर उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
भारतका चन्दनकुमार जैसवाल विगत पाँच वर्षदेखि वीरेन्द्रनगर वडा नं. ४ मा कवाडी संकलनको व्यवसायमा व्यस्त छन् । ए.के कवाड कलेक्सन दर्ता गरेर कवाडीका सामान खरिद गरेर बुटवल नारायणगढलगायतका गाउँमा पठाउँने गरेको उनले बताए । जैसवालले महिनामा एक लाखभन्दा बढीको आम्दानी गर्ने गरेको सुनाए । महिनामा एक लाखभन्दा बढी कमाइ हुने बताउँदै जैसवालले भने, ‘वर्षमा ११ महिना यो व्यापार चल्छ, वीरेन्द्रनगरमा व्यवसाय सुरु गरेको पाँच वर्ष भयो, आम्दानी राम्रै छ ।’
यस्तै, सोही ठाउँमा कवाडी सामानको संकलन गर्दै आएका भारतका मोहबद एकवालले कवाडीको सामान संकलन गरेर नारायणगढमा पठाउर्ने गरेको बताए । राम्रो आम्दानी हुने भन्दै उनले सामान संकलनको काममा व्यस्त रहेको सुनाए । उनको पनि दैनिक पाँच हजारदेखि सात हजारसम्म आम्दानी हुने गरेको छ । चन्दनकुमार र मोहबद प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता कैयौ भारतीय कवाडी संकलक सञ्चालकले नेपालमै करोडांै कमाएका छन् । उनीहरू गाउँ–गाउँमा घुमेर कवाडीका सामान जम्मा गर्छन् । नेपालमा रोजगारी छैन भनेर विदेशीने नेपालीको संख्या बढ्दो क्रममा रहेका बेला भारतीयले भने नेपालमै राम्रो आम्दानी गरिरहेका छन् ।
प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १०:००










साझा बिसौनी ।