विद्युत विस्तारको विलम्ब

लामो समयदेखि अवरुद्ध रहेको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम आगामी असोज महिनाभित्र सम्पन्न गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले तीन महिना भित्रैमा निर्माणको सबै काम सकिने जानकारी दिएका छन् । प्राधिकरणले बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई अघि बढाउन पहल समेत गरेको छ । कर्णालीवासीले भोग्दै आएको विद्युत् समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । सो क्षेत्रमा तीन वटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ । बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१, गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । स्थानीयले भने कुनै पनि हालतमा बस्तीबाट विद्युत् विस्तार गर्न नहुने बताइरहेका छन् । गृह मन्त्रालयले सुरक्षा घेराबाट विद्युत् विस्तारको काम अघि बढाउन भनेपछि केही काम भएका छन् । निकुञ्ज क्षेत्रमा काम भइरहेको छ । पाँच वर्षदेखि रोकिएको काम अघि बढेको छ । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा संघीय सांसदसमेत त्यस क्षेत्रमा पुगिरहेका छन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पटक पटक आयोजनासँग सम्बन्धित व्यक्तिलाई भेटेर छलफल गरिरहेका छन् ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ९० प्रतिशत प्रगति हासिल भएको छ । अझै १० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएको मितिमा कामसमेत गर्न सकेको छैन । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपियाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन । कर्णाली प्रदेश विद्युत कटौतिको मारमा परिरहेको छ । अवरुद्ध अन्त्य भएर प्रसारण लाइन विस्तार कार्य सम्पन्न भएमा भने कर्णाली प्रदेशमा अहिले भइरहेको विद्युत समस्या समाधानमा ठूलो सघाउ पुग्नेछ । त्यसका लागि सम्बन्धित सरोकारवालाहरूले आयोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्नुपर्ने देखिन्छ । अहिले देखिएको विवाद समाधानमा ध्यान दिनुपर्ने हुन्छ । जसले आयोजनाको बाँकी काम समयमै अघि बढ्नेछ ।

प्रकाशित मितिः   १३ असार २०८२, शुक्रबार ०६:०३