बजेटका प्राथमिकता

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, उद्योग र पर्यटन विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आइतवार मध्यरातमा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट पेस गरेका छन् । यो चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा पाँच प्रतिशतले बढी हो । बजेटको आकार बढ्दा सरकारले पुँजिगततर्फको रकम पनि वृद्धि गरेको छ । जसमा १९ अर्ब ९८ करोड २७ लाख विनियोजन गरिएको छ । यो कूल बजेटको ६०.५५ प्रतिशत हो भने चालु आर्थिक वर्षको तुलनामा ११.६३ प्रतिशतले बढी हो । यो वर्ष सरकारले पुँजिगततर्फ १८ अर्ब ७५ करोड आठ लाख विनियोजन गरेको थियो ।

आगामी वर्षका लागि चालु खर्चतर्फ सात अर्ब ७९ करोड ९१ लाख रूपैयाँ छुट्याइएको छ, जुन कूल बजेटका २३.६४ प्रतिशत हो । यो वर्ष सात अर्ब ५७ करोड ५५ लाख रूपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्षको चालु खर्चको अंक बढेपनि कूल बजेटको हिस्सा प्रतिशत हेर्दा चालु वर्षको भन्दा कम हो । पुँजिगत खर्चको हिस्सा प्रतिशत भने चालु वर्षको भन्दा बढी छ । सरकारले विगतका बजेटमा भेटिने टुक्रे योजनाहरूलाई कटौती गरेको छ भने ठूला आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ । विगतमा जस्तै आगामी बजेटले पनि भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले कूल बजेटका एक तिहाई हिस्सा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि छुट्याइएको छ । उक्त मन्त्रालयका लागि ११ अर्व एक करोड विनियोजन गरिएको हो । भौतिक पूर्वाधार सँगसँगै कृषिलाई पनि उच्च प्राथमिकतामा राखेको छ । कृषिसहितका योजना कार्यान्वयनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई दुई अर्ब ५७ करोड ११ लाख बजेट छुट्याइएको छ । जुन चालु आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो । यो वर्षको बजेटमा एक अर्ब ८६ करोड विनियोजन गरिएको थियो ।

यसैगरी उद्योग र पर्यटनतर्फको बजेटमा पनि वृद्धि भएको छ । पर्यटन प्रवद्र्धन र विकासका लागि मात्रै ४३ करोड छुट्याइएको छ भने समग्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि गरी दुई अर्ब ४२ करोड ७९ लाख विनियोजन गरिएको छ । टुक्रे योजना कटौती, ठूला आयोजनामा लगानी, कृषि, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई प्राथमिकता दिनु बजेटको सकारत्मक पक्ष हुन् । जसले कर्णालीको आर्थिक विकास र सुधारमा योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   ४ असार २०८२, बुधबार ०५:०३