तुइन विस्थापित गर्दै झोलुङ्गे पुल

सुर्खेत: कर्णाली प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइन मुक्त बनाउने नीति अनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

सडक यातायातले नजोडिएका हिमाली जिल्लाका केही पालिकाहरूमा अहिले पनि तुइन चढ्नुपर्ने बाध्यता छ । अब भने प्रदेश सरकारले तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने नीति अबलम्वन गर्न लागेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइनको विवरण माग गरेको छ । दशवटै जिल्लाहरूबाट विवरण माग गरिएको मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले बताए । उनका अनुसार असार १० गतेभित्र विवरण पठाउनुपर्ने छ । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालय वा मन्त्रालयको इमेलमा समेत विवरण पठाउन माग गरिएको हो । मन्त्रालयले तुइन विस्थापन अभियान सञ्चालन गर्ने र कहीँकतै तुइन सञ्चालन भएको जानकारी भए जानकारी गराउन जेठ २६ गते सूचना जारी गरेको छ ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई यसलाई समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘पर्यटकीय महŒव भएका स्थान र दुरी घटाउन झोलुङ्गे पुल निर्माण गर्नुका साथै आधा घण्टाको हिँडाइ र फेरोभित्र पहुँच पुर्‍याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र कर्णालीबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ ।’ माग गरिएको विवरणमा तुइन रहेको नदी र खोलाको नाम, तुइन रहेको स्थान (जिल्ला) को नाम, दुरी तथा उक्त तुइन प्रयोग गर्ने जनसंख्या समावेश गर्नुपर्ने छ ।

कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन् । आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइन मुक्त गर्नेगरी योजना बनाइएको छ । उसो त २०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइन मुक्त देश घोषणा गरेका थिए । तर कर्णाली कतिपय स्थानमा अझै पनि नागरिकहरू तुइनकै भरमा यात्रा गर्न बाध्य छन् । अब भने तुइनमुक्त बनाउने गरी प्रदेश सरकारले पनि काम अघि बढाएको छ ।

जिल्लाहरूबाट आएको विवरण अनुरूप तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेछ । अहिले तुइनको विवरण माग भइरहेको र आगामी वर्षमा सोहीअनुसार झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयले जनाएको छ । हिमाली जिल्ला हुम्लामा मात्र कर्णाली नदीमाथि आधा दर्जन तुइन रहेको जनाइएको छ । हिमाली जिल्लाका अन्य पालिकाहरूको समेत अवस्था दयनिय छ ।

 

यो वर्ष ९० वटा झोलुङ्गे पुल

चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा पुल निर्माणका लागि प्रदेश सरकारले २० करोड ५० लाख बजेट विनियोजन गरेको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको भौतिक मन्त्रालयले जनाएको छ । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको छ । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्न लागिएको मन्त्रालयका सचिव मरहट्टाले बताए । प्रदेश सरकारले खास गरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।

यस्तै, सरकारले कार्यान्वयन भइरहेका सडकहरूमा मोटरेवल पुल निर्माण गरिरहेको छ । कार्यान्वयन भइरहेका प्रदेशस्तरीय सडकहरूमा आवश्यकता अनुसार सडक पुल निर्माण गर्न लागिएको जनाइएको छ । पुल निर्माणका लागि यो वर्ष ६८ करोड ९८ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । आवश्यकताका आधारमा मोटरेवल पुल निर्माण गरिनेछ । कतिपय सडक बनिसकेपनि पुल निर्माण नहुँदा आउँजाउँ गर्न समस्या हुने गरेको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०८२, शुक्रबार १२:३३