यु–१६ राष्ट्रिय क्रिकेटः कर्णालीको कमजोर प्रदर्शन
सुर्खेतः १६ वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले अर्को कमजोर प्रदर्शन गरेको छ । टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौँ दिन शुक्रवार घरेलु टोली कर्णाली लुम्विनीसँग आठ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले एक सय रन पनि कटाउन सकेन । कर्णालीले ३१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९२ रन मात्रै बनाउन सक्यो । जसमा रोशन शाहीले सर्वाधिक ३३ रनको योगदान दिए । कस्तुप खड्काले १७ र विजय शाहीले १३ रन बनाए । लुम्विनीका शुभम् खनालले चार तथा प्रिन्स पल र लक्ष्मण कुमालले समान एक÷एक विकेट लिए ।
९३ रनको सामान्य लक्ष्य लुम्विनीले सहजै भेट्टायो । उसका लागि आरिफ खानले नटआउट ३६ रन जोडे भने ओपनरद्धय समिर अली मुसलमानले २७ तथा केशव विष्टले नटआउट २८ रन जोड्दै टिमका लागि जीत निश्चत गरेका थिए । यो हारसँगै कर्णालीले प्रतियोगितामा चार खेल खेलिसक्दा एक जित र तीन हारको नतिजा निकालेको छ ।
यसैगरी शुक्रवार नै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव १ ओभरमा ८६ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरका सुशील रावलले सात ओभर बलिंग गर्दा एक मेडनओभरसहित २९ डट खेल्दै मधेशका पाँच विकेट लिए । ८७ रनको लक्ष्य पछ्याएको सुदूरका लागि ओपनरद्धय विक्रम बोहोरोले ४३ र आयुष चन्दले ३४ रन जोडे ।
पाँचौ दिनको खेल सकिंदासम्म तीन खेल खेलेर दुईमा जीत र एकमा हार व्यहोर्दै चार अंक जोडेको लुम्बिनी अंकतालिकाको पहिलो स्थानमा छ । सोही अवस्थाको मधेश दोश्रो तथा कोशी तेश्रो स्थानमा रहेका छन् । चार खेलमा जम्मा एक खेल मात्र जितेको घरेलु टोली कर्णाली भने चौथो स्थानमा रहँदा पाँचौँमा बागमती, छैठौँमा सुदूरपश्चिम र सातौंमा गण्डकी रहेका छन् ।
प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार १३:३७
साझा बिसौनी ।